२०८३ जेठ १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटमा चार जनामा दादुरा पुष्टि

जाजरकोटमा चार जनामा दादुरा पुष्टि


वीरेन्द्रनगर -जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–११ स्थित जगतिपुर स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा छ जनामध्ये चार जनामा दादुरा पुष्टि भएको हो ।

स्वास्थ्य चौकीका प्रमुख सुनिल बुढाथोकीका अनुसार गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिबिरा देखिने, रुघाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उनका अनुसार १८/१८ वर्षका दुई पुरुष, एक महिला, १० महिनाकी बालिका, १७ वर्षका एक जना र २२ वर्षका एक जनाको दादुरा परीक्षण गरिएको थियो । तीमध्ये चार जनामा संक्रमण पुष्टि भएको हो ।

गाउँमा दादुराका बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । ज्वरो आउने, शरीरमा बिबिरा देखिने, रुघाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै, बिदाका दिनमा पनि स्वास्थ्य संस्था खुला रहने जनाइएको छ ।

दादुरा रोग श्वासप्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले मास्क प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुराको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ