काठमाडौं—सरकारले २२ चैतमा सरकारी कार्यालयहरुमा दुई दिन विदा निर्णय गरेपछि अहिले सबैजसो सरकारी अस्पतालहरुमा हप्तामा दुई दिन ओपीडीलगायतका सेवा बन्द रहने गरेका छन् । सरकारको सरकारी कार्यालयमा शनिबार र आइतबार विदा दिने निर्णयपछि २७ चैतमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिरामी चापलाई मध्यनजर गर्दै सरकारी अस्पतालमा सट्टा विदाको व्यवस्था गरेर आइतबार ओपीडी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयको उक्त निर्णयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तीब्र विरोध गरे । स्वास्थ्यकर्मीहरुको विरोध खेप्न नसकेपछि ३ बैशाखमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय उक्त निर्णयबाट ब्याक भएर सरकारी अस्पतालहरुमा पनि शनिबार र आइतबार दुई दिन नै सार्वजनिक विदा दिने निर्णय गर्यो । जसका कारण अहिले सबैजसो सरकारी अस्पतालहरुमा शनिबार र आइतबार इमर्जेन्सीबाहेकका सेवा बन्द रहने गरेका छन् ।
तर, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीहरुले भने बिरामी सेवालाई पहिलो प्राथमिकतामा राखेर आइतबार पनि ओपीडीलगायतका सबै सेवाहरु प्रवाह जारी राखेका छन् ।
‘हामीले आन्तरिक रुपमा सल्लाह गरेरै बिरामीलाई आइतबार पनि ओपीडीलगायतका सबै सेवाहरु प्रवाह गरिरहेका छौं,’ अस्पतालको कर्मचारी प्रशासन प्रमुख विमला अर्यालले भन्छिन्, ‘ओपीडी, शल्यक्रिया, लेखा, प्रशासन सबै सेवाहरु ६ दिन नै प्रवाह गर्छौ ।’ अर्यालले मुटु रोगको सेवा दिने गंगालालमा बिरामी सेवालाई ध्यान दिएर सट्टा विदाको व्यवस्था गरेर आइतबार सार्वजनिक विदाका दिन पनि सेवा नियमित गरिएको जानकारी दिइन् ।
जसका कारण गंगालालमा बिरामीहरुले अन्य सरकारी अस्पतालमा जस्तो आइतबार ओपीडी सेवा नपाएर फर्किनु पर्दैन् । हाल गंगालालमा दैनिक ७०० देखि ७५० जना बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।