२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारटोकियोमा चर्चा कमाएको नेपाली युवा चिकित्सक डा. विवेकको त्यो अनुसन्धान

टोकियोमा चर्चा कमाएको नेपाली युवा चिकित्सक डा. विवेकको त्यो अनुसन्धान


१९ मे २०२४ जापानको टोकियो इन्टरनेशनल फोरममा संसारभरका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरु भेला भएका थिए । त्यो जमघटको कारण थियो—द जापान डाइबिटिज सोसाइटीको वार्षिक सम्मेलन । संसारका सयौं चिकित्सकहरुको जमघटमा एक जना नेपाली युवा चिकित्सक फरक विषयमा प्रस्तुती दिइरहेका थिए—‘डाइबिटिजमा एचवीएवानसीले सही रिपोर्ट नदिएको केसमा फ्रुक्टोसमाईन गर्न उपयोगी छ ।’

१७, १८ र १९ मेमा टोकियोमा चलेको सो सम्मेलनको अन्तिम दिन नेपाली युवा कन्सल्ट्यान्ट बायोकेमिष्ट डा. विवेक पन्तको यो अनुसन्धानले त्यहाँ उपलब्ध सबैको ध्यान तान्यो । डाइबिटिज डाइग्नोसिस र उपचारमा एचबीएवानसी परीक्षणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकन डाइबिटिज एशोसिएसनले सिफारिस मात्रै गरेका छैनन्, यो संसारभर सबैभन्दा बढी चलनमा रहेको परीक्षण विधी पनि हो ।

त्यही परीक्षण विधीमा रहेको ‘ग्याप’ नेपाली युवा चिकित्सक डा. विवेक आफ्नो अनुसन्धानमार्फत औल्याइरहेका थिए । ‘एचबीएवानसी र फ्रुक्टोसमाईन एकदम को–रिलेट गर्छ, एउटाले देखाउन नसकेका कुरा अर्कोले देखाउँछ भनेर अनुसन्धानपत्र प्रस्तुत गरे,’ सम्यक डाइग्नोष्टिकका यी ३६ वर्षीय चिकित्सकले भने, ‘सबैले रुचिपूर्वक यो प्रस्तुती हेरे । कतिले त एचवीएवानसी नै राम्रो भन्दैं बहस पनि चलाए ।’ तर, नेपालको सेटिङमा अनुसन्धानका प्रमाण र कारणहरु प्रस्तुत गरिसकेपछि उनीहरु ‘कन्भिन्स’ भएको डा. विवेकले सुनाए ।

नेपाल भएको भए यसलाई सहजै बुझ्न गाह्रो पर्थ्यो । तर, संसारभरबाट जम्मा भएका विज्ञ चिकित्सक र वैज्ञानिकहरुले उनको अनुसन्धानका परिणामहरुलाई सहजै बुझे । किनभने, प्रस्तुतीपछि उठेका प्रश्न र त्यसको डा. विवेकले फर्काएको जवाफले त्यही संकेत गर्थ्यो । ‘यहाँ कतिपय केसहरुमा हामीले रिपोर्टमै यसमा एचबीएवानसी नगरेर फ्रुक्टोसमाईन गरिदिनुहोला भनेर डाक्टरलाई पठाउँछौं तर अर्को पटक परीक्षण गर्न पठाउँदा फेरि एचबीएवानसी नै गर्न भनेर पठाउनुहुन्छ,’ उनले सुनाए, ‘डाक्टरले कमेन्ट पनि नपढी दिने वा पढेपनि नबुझ्नुभएको हो कि ?’

डा. विवेककाअनुसार डाइबिटिजका ९० प्रतिशत केसहरुमा एचबीएवानसी गर्नैपर्छ । तर, १० प्रतिशत केसहरुमा विज्ञहरुले नगर्न सुझाव दिएमा त्यो गर्न नहुने धारणा उनको छ । ‘त्यो केसहरुमा बिरामीमा एचबीएवानसी गर्दा एक्युरेट नतिजा पनि दिदैंन् र खर्च पनि बढ्छ,’ उनले कारण खोले, ‘त्यो कुरा नेपालमा अझै बुझाउन जरुरी छ ।’ उनको अनुभवमा नेपालमा लगभग फ्रुक्टोसमाईन टेष्ट प्रचलनमा छैन भने औलामा गन्न सकिने केही चिकित्सकहरुले मात्रै यो परीक्षण गर्न प्रेस्क्राइब गर्ने गरेका छन् । केही चिकित्सकहरुले भने डाइबिटिजका बिरामीहरुमा औषधी चलाउँदा पनि एचबीएवानसीको रिपोर्टमा कुनै फरक नपरेपछि यो परीक्षणका लागि सुझावसमेत माग्ने गरेको उनले सुनाए ।

नेपालका प्रायःजसो सबै प्रयोगशालाको परीक्षण लिष्टमा फ्रुक्टोसमाईन भएपनि एकदमै कमले मात्रै यो परीक्षण गर्ने गरेका छन् । तर, सम्यकमा भने यस्ता केसहरुमा यो परीक्षण हुने गरेको छ । फ्रुक्टोसमाईन एचबीएवानसीजस्तो गर्न गाह्रो पनि नरहेको चिकित्सकहरु बताउँछन् ।

फ्रुक्टोसमाईन परीक्षणमा बिरामीका लागि के फाइदा छ ? डा. विवेककाअनुसार सबै बिरामीका लागि यो परीक्षणबाट फाइदा नभएपनि युनिक बिरामीका लागि यो निकै फाइदाजनक छ । एचबीएवानसीले विगत तीन महिनाको ग्लूकोजलाई समग्रमा देखाउँछ । ग्लूकोज र रातो रक्त कोषिकाको हेमोग्लोबिनसँग टाँसियो भने एचबीएवानसी बन्छ । ‘औसत रक्तकोषिकाको आयु तीन महिना हुने भएकाले एचबीएवानसीले विगत तीन महिनाको ग्लूकोजको समग्र स्टाटस देखाउने हो । ‘तर, जुन बिरामीमा रातो कोषिकाको रोग छ, जसकोमा नर्मल रातो कोषिका छैन, रातो कोषिका बन्दैन्, रातो कोषिकाको जन्मजात रोग, औषधी खाएर रातो कोषिका बिग्रिरहेको अथवा रातो कोषिका समयअगावै टुक्रिनेजस्ता समस्या भएको अवस्थामा एचबीएवानसी गरेर काम भएन्,’ उनी भन्छन्, ‘त्यस्तो बिरामीमा यो फ्रुक्टोसमाईन एकदमै प्रभावकारी छ ।’

झण्डै ७—८ महिनाअघि डा. विवेकलाई जापानमै भएको क्लिनिकल ल्याबरोटोरी साइन्सको सम्मेलनमा भाग लिने अवसर जुरेको थिए । फ्रुक्टोसमाईनबारे आफूले गरेको अनुसन्धानबारे त्यहाँ सहभागीहरुलाई उनले बुझाएका थिए । उनको अनुसन्धानलाई त्यो फोरममा पनि निकै रुचाइएको थियो । ‘डाइबिटिजको प्रिभेलेन्स नेपालमा ८.८ प्रतिशत र जापान ६ प्रतिशत छ । जापानले पनि डाइबिटिजमा निकै काम गरिरहेको छ,’ उनले सम्मेलन सहभागिताबारे भने, ‘त्यही कारण साथीहरुले मलाई द जापान डाइबिटिज सोसाइटीको वार्षिक सम्मेलनमा अनुसन्धान प्रस्तुत गर्नका लागि रेफर गरिदिनुभएको थियो ।’ संसारभरका विज्ञ चिकित्सकहरु र वैज्ञानिकहरु सहभागी हुने सम्मेलनमा डा. विवेकको अनुसन्धान छनोट मात्रै भएन त्यसले चर्चा समेत कमायो ।

डोटीमा जन्मिएका डा. विवेकको स्थायी बसोवास भने धनगढीमा हो । नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट बायोकेमेष्ट्रीमा विशेषज्ञता हासिल गरेका हुन् । दुई वर्षअघि उनले नर्वेबाट भर्खरै जन्मेका बच्चाहरुको रोगहरु स्क्रीनिङ गर्ने, ड्रगहरु हेर्न प्रयोग गरिने उपकरण एल.सी.एम.एस. सम्बन्धी तालिम लिएका छन् ।

कसरी गरियो अनुसन्धान ?

डाइबिटिजलाई डाइग्नोसिस गर्न अथवा औषधी चलाएपछि एचबीएवानसी टेष्ट गरिन्छ । यो विश्व स्वास्थ्य संगठन, अमेरिकन डाइबटिज एशोसिएसनले सिफारिस गरेको टेष्ट हो । विश्वभरी नै यो परीक्षण हुने गर्छ । तर, डा. विवेक र सम्यक डाइग्नोष्टिक प्रा.लि.को टिमले धेरै त्यस्ता केसहरु भेटायो, जहाँ फास्टिङ ग्लूकोज र एचबीएवानसी म्याच नहुने समस्या थिए ।

ग्लूकोज हाइ आएको केसमा एचबीएवानसी कम आउने अथवा ग्लूकोज कम आएको केसमा एचबीएवानसी बढी आउने ठ्याक्कै सिफारिस गरेअनुसार म्याच नहुने समस्या देखियो । त्यसपछि डा. विवेक पन्तसहितको सम्यक टिमले यसमा अनुसन्धान गर्दै गयो । त्यसमा धेरै केसहरुलाई उनीहरुले मिहिन रुपमा अध्ययन÷अनुसन्धान गरे । आइरनको कमी, हेमोग्लोबीनोप्याथी, क्रोनिक किड्नी डिजिज र औषधी प्रयोग गर्नेलगायतका धेरै कारण एचबीएवानसी निश्चित नआउने कारकका रुपमा देखिए ।

त्यसपछि एचबीएवानसीले काम नगरेका केसहरुमा विकल्पका रुपमा फ्रुक्टोसमाईन टेष्टलाई अप्लाई गरेर हेर्न थालियो । त्यस्ता केसहरुमा फ्रुक्टोसमाईन उपयोगी हुने निष्कर्ष निस्क्यो । ‘यो टेष्ट एचवीएवानसीको विकल्प हो,’ उनले भने, ‘एचबीएवानसीले गर्न नसकेको काम यो परीक्षणले गर्छ ।’ एचबीएवानसी डाइबिटिज परीक्षणका लागि सबैभन्दा उपयुक्त भएपनि यो निश्चित नआउने केसहरुमा वा ठ्याक्कै सोचेअनुसार परिणाम आइरहेको छैन भने फ्रुक्टोसमाईन टेष्ट गर्नुपर्ने अनुसन्धानको निष्कर्ष आयो ।

डा. विवेकका उनले रेजिडेन्सी गर्दा होस् वा सम्यकमा पछिल्ला पाँच वर्षमा ग्लूकोज सम्बन्धी जाँच  गर्ने धेरै बिरामीलाई नजिकबाट हेरिरहेका थिए । ‘सम्यकको राम्रो पक्ष बिरामीले हामीलाई भेटेर आफ्नो ल्याब रिपोर्ट लिनुअघि र पछि परामर्श गर्न पाउनुहुन्छ,’ उनले भने, ‘ग्लूकोज परीक्षणकै बारेमा परामर्श गर्दाखेरी कति केसमा फास्टिङभन्दा पीपी कम आउने, खाना खाएपछि भन्दा खाना नखाएको बेलाको सुगर बढी आउनेजस्ता केसहरु आउँदा अनौठो लाग्थ्यो,’ उनले डाइबिटिज माथिको यो अनुसन्धानको कारण खोल्दै भने, ‘खाना खाएपछि पनि सुगर कम आउँथ्यो ।’

यसका कारणबारे बिरामीलाई बुझाउँदैं गर्दा डा. विवेकले यसमाथि सहकर्मीसँग मिलेर अनुसन्धानमूलक लेखहरु पनि लेखे । डाइबिटिज एण्ड इन्डोक्राइन एशोसिएसन, नेपाल (डिन)मा गएर पनि प्रस्तुती दिए । बिरामीकै समस्यामाथि केन्द्रीत भएकाले आफ्नो रुचि डाइबिटिजको अनुसन्धानमा बढेको उल्लेख गर्दै उनले त्यही रुचिले आफूलाई टोकियोको त्यो फोरममा पुर्‍याएको बताए ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #अमेरिकन डाइबिटिज एशोसिएसन, #डा. विवेक पन्त, #द जापान डाइबिटिज सोसाइटी, #विश्व स्वास्थ्य संगठन, #सम्यक डाइग्नोष्टिक, #सम्यक डाइग्नोष्टिक प्रा.लि.


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ