२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘अमेरिकामा नर्सले बिरामीलाई विस्तृत रुपमा जाँचेर सेवा प्रदान गर्छन्’

‘अमेरिकामा नर्सले बिरामीलाई विस्तृत रुपमा जाँचेर सेवा प्रदान गर्छन्’


सुजना खतिवडा

६ महिनाअघिको कुरा हो । मैले अमेरिकामा काम गर्न आउनका लागि त्रिवि शिक्षण अस्पतालबाट राजीनामा दिएको । त्रिवि शिक्षण अस्पतालजस्तो मुलुकको प्रतिष्ठित अस्पतालको जागिर छाड्नका लागि पनि मैले धेरै सोच्नु परेन । किनभने, नेपालमा नर्सका रुपमा काम गर्दाका धेरै फ्रस्टेसनले गर्दा नै अमेरिकामा आउने निर्णय गरेकी थिए । त्यसबाहेक देशको दुरावस्था, राजनीति नेतृत्वको चरम अकर्मण्यता, न्यून पारिश्रमिकजस्ता कुराहरुले स्वदेशमै केही गर्न खोज्नेहरु मजस्ता युवालाई अन्ततः फ्रस्टेसन नै दिएर विदेश धकेलिदिन्छ ।

अमेरिका आउने योजना बनाउँदैं गर्दा अनेकौ सपना र महत्वकांक्षाहरु थिए । तयारी थाले र योजनाहरु बनाए । अमेरिका रजिष्टर्ड नर्सका रुपमा आउने खुडकिलो पार गरे । त्यसपछि म अमेरिका आए । म अझै सम्झन्छु, अमेरिका आएर काम गर्दा पहिलो दिन । मैले काम गर्ने अस्पताल अमेरिकाको प्रतिष्ठित अस्पतालमा पर्छ । नेपालको प्रतिष्ठित शिक्षण अस्पतालमा ४ वर्ष काम गरेर अमेरिकाको प्रतिष्ठित अस्पतालमा काम गर्न आएकी थिए । त्यसले एउटा कन्फिडेन्ट त थियो । तर, पनि अमेरिकी अस्पतालमा सुरुवाती दिनहरुमा मानवीय स्वभाव नै भन्नुपर्छ म नर्भस थिए । तर, यहाँको व्यवस्थापनले सुरुकै दिनदेखि मलाई धेरै आत्मविश्वासी बनायो ।

यहाँको सिष्टममा जुन युनिटमा काम गर्ने हो, त्यसको लागि पूर्णतः तयारी गराइदो रहेछ । मैले काम गर्ने युनिट जनरल न्यूरोलोजी थियो । त्यसैले मलाई न्यूरोलोजिकल डिसअर्डरको सबै असाइनमेन्ट सुरुमा गराइएको थियो ।

त्यसपछि एक जना प्रिसेप्टर मसँगै राखेर दुई महिना तालिम दिदैं बिरामी हेर्न लगाइयो । इलेक्ट्रोनिक्स चार्टिङको लागि पनि छुट्टै तालिमको व्यवस्थापन गरिएको थियो । जब मेरो नर्स म्यानेजरलाई मैले काम गर्न सक्छु भन्ने विश्वास भयो तब मात्रै मलाई इन्डीपेन्डेन्ट (स्वतन्त्र रुपमा) बिरामी असाइन गरियो । समग्रमा अमेरिकामा बिरामीको सुरक्षा (प्यासेन्ट सेफ्टी)लाई धेरै महत्व दिएको अनुभव मैले केही दिनमै गरे ।

अमेरिकामा नर्सिङमा पढेको धेरैजसो कुराहरु अप्लाई गरेर नै बिरामीलाई केयर गरिन्छ । मैले भन्नैपर्छ, नेपालमा फित्तलो व्यवस्थापनले गर्दा नर्सिङको ज्ञान ५० प्रतिशत पनि बिरामीमा लागु हुँदैन् । यहाँ ‘इन्फेक्सन प्रिभेन्सन’मा नर्सहरुले खेलेको भूमिका अहम छ । यतिसम्मकी सर्जरी गरेपछि पोष्ट अपरेशन पिरियडमा बिरामीहरुलाई रेगुलर बेसिसमा एन्टीबायोटिक्स प्रयोग नै गरिदैंन् । तर, पनि बिरामीमा इन्फेक्सन भएको मैले देखिनँ ।

अमेरिकी हेल्थकेयरमा नर्सिङको सबैभन्दा उत्कृष्ट पक्ष त यहाँ नर्सिङ स्टाफहरुबीचको उत्कृष्ट एकता, मित्रता र हार्दिकता हो । नर्स म्यानेजर, नर्सिङ सुपरभाइजर र रजिष्टर्ड नर्सको सम्बन्ध धेरै हार्दिक र मित्रवत हुन्छ । मिल्नेका गल्ती लुकाउने र नमिल्नेको प्रतिभालाई दबाउने संस्कार यहाँ छैन । नर्सिङ म्यानेजर र सुपरभाइजरहरु मित्रवत हुँदाहुँदैं पनि रजिष्टर्ड नर्सहरुको कामलाई निष्पक्षतापूर्वक मुल्यांकन गरी नै रहेका हुन्छन् । त्यही फ्रेण्डली सम्बन्धले गर्दा काम गर्ने वातावरण सहजसँगै नतिजा प्रभावकारी पनि देखिन्छ ।

त्यसैगरी, कुनै एक प्रोफेसरको मात्रै नभई डाक्टर, नर्स, फिजियोथेरापिष्ट र फर्मासिष्टको संयुक्त प्रयासबाट मात्रै बिरामी निको हुन्छ भन्ने कुरामा टिम लिडरहरु जानकार देखिन्छन् । टिममा एक—अर्कालाई गर्ने सम्मान र पोजिटभ व्यवहारले काम गर्ने वातावरण सहज देखिन्छ ।
नेपालमा नर्सहरुको व्यक्तिगत विकासलाई पनि हामीले त्यति ध्यान दिइरहेका छैनौं । साँझ, विहान, दिउँसो र राति ड्युटी गर्ने, बिरामी सेवामै रमाएर अधिकांश नेपाली नर्सहरुको जीवन बित्छ । तर, अमेरिकामा नर्सहरुको व्यक्तित्व विकासका लागि धेरै अवसरहरु उपलब्ध रहेछन् । अमेरिकामा नर्सिङका धेरै डाइनामिक्सहरु देख्न सकिन्छ ।

यहाँ नर्स प्रयाक्टिसनरहरुले फिजिसियनले जस्तै बिरामी जाँच्ने प्रावधान छ । त्यसैगरी, नर्सहरुले हस्पिटलहरुमा फरक—फरक अनुसन्धान गर्दै नर्स साइन्टिष्ट भएर पनि काम गरिरहेका हुन्छन् । एमबीएस हेल्थकेयर म्यानेजमेन्टमा गरेर नर्सहरु प्रमुख कार्यकारी अधिकृत (सिईओ) पनि भएका छन् । त्यतिमात्रै नभएर नर्सहरुले आफ्नो ‘हेल्थ इन्फर्माटिक्स’ भएर काम गरेका हुन्छन्, जसमा हेल्थ डाटालाई प्रयोग गरेर प्यासेन्ट केयर आउटकम एनालाइसिस गर्छन् र नर्सिङ स्टाफलाई न्यू प्यासेन्ट केयर टेक्नोलोजीमा ट्रेन गर्छन् ।

अमेरिकामा नर्सिङ सेवा अत्यन्तै गुणस्तरीय छ । जनरल युनिटमा पनि नर्सलाई ४—५ वटाभन्दा बढी बिरामी असाइन हुँदैंन । त्यसैले नर्सले बिरामीलाई विस्तृत रुपमा जाँचेर सेवा प्रदान गर्छन् । अमेरिकामा बसेर हेर्दा मलाई नेपालको नर्सिङ प्रायक्टिस अपरिपक्व लाग्यो । नर्सहरुलाई दिइनुपर्ने जति तालिम र प्रशिक्षण नदिनु, कामको मुल्यांकन र प्रशंशा नगर्नु, नयाँ जागिरेहरुलाई उपयुक्त गाइडेन्स बिना नै काममा लगाउनु र समग्रमा देशको स्वास्थ्य प्रणाली निकै नै नाजुक र फित्तलो हुनुले नेपालको नर्सिङ सेवा कमजोर छ । जसका कारण जनमानसको स्वास्थ्यमा समेत उपयुक्त सेवा प्रदान गर्न नसकेको अनुभूति अहिले मलाई हुन्छ ।

(खतिवडा अमेरिकी रजिष्टर्ड नर्स हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ