डा. सम्राट पराजुलीले नेपाल मेडिकल काउन्सिल (एनएमसी)लाई आधुनिक, पारदर्शी र डाक्टर–मैत्री संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने एजेण्डा अगाडि सार्दै आएका छन् । डिजिटल सेवा, निष्पक्ष नियमन, नैतिक स्वास्थ्य सेवा र प्रादेशिक पहुँचलाई आफ्नो प्रमुख प्राथमिकता अब काउन्सिलको हुनुपर्ने मान्यता राख्ने उनले मतदान हुने २० वटै बुथमा पुगेर मत मागेको विभिन्न एजेण्डाहरु अगाडि सारेका छन् ।
१. डाक्टर–मैत्री डिजिटल वन–स्टप सेवा र पारदर्शी परिषद्
हामी एउटा आधुनिक, सजिलो र पूर्ण रूपमा डिजिटलाइज्ड मेडिकल काउन्सिल बनाउने लक्ष्य राख्छौँ, जहाँ दर्ता, नवीकरण, प्रमाण–प्रमाणिकरणदेखि गुनासो समाधानसम्म सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुन्छन्। अब लामो लाइन, अनावश्यक कागजी प्रक्रिया वा ढिलाइको अन्त्य हुनेछ।
रियल–टाइम अपडेट, स्पष्ट समयसीमा र खुला संचारसहितको पारदर्शी प्रणालीले डाक्टरहरूलाई सहयोगी, सम्मानित र सुरक्षित सेवा अनुभव गराउनेछ।
२. न्यायपूर्ण र पक्षपातरहित पेशागत नियमन
पेशागत नियमन निष्पक्ष, स्पष्ट र सबैका लागि समान हुनुपर्छ। क्षेत्र, पृष्ठभूमि वा संस्थाका आधारमा फरक व्यवहार कहिल्यै हुनु हुँदैन।
यस्ता स्पष्ट मापदण्ड र समयमै निर्णयले डाक्टरहरूको पेशागत सम्मान जोगाउनेछ र जनविश्वासलाई अझ मजबुत बनाउनेछ।
३. नैतिक र उत्तरदायी स्वास्थ्य सेवा
उत्तम स्वास्थ्य प्रणाली नैतिकता, जिम्मेवारी र पारदर्शितामा आधारित हुन्छ। नैतिक उपचार केवल नियम होइन, सबैले अपनाउनुपर्ने संस्कृतिको रूपमा विकास गर्नुपर्छ।
समर्थनमूलक मार्गदर्शन, स्पष्ट प्रक्रिया र उत्तरदायित्वसहितको वातावरणले रोगी तथा चिकित्सक दुवैका अधिकार सुरक्षित गर्दै विश्वसनीय स्वास्थ्य सेवाको निर्माण गर्छ।
४. प्रादेशिक तहमा एनएमसी सेवा उपलब्धता
एनएमसी सेवाहरू केन्द्रमै सीमित राख्नु अन्यायपूर्ण मात्र होइन, व्यवहारिक पनि होइन। साधारण दर्ता, प्रमाणिकरण वा कागजको कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य आवश्यक छ।
प्रदेश–प्रदेशमा सेवा केन्द्र सञ्चालन गरेर एनएमसीलाई सबै डाक्टरको पहुँचमा पु¥याइनेछ, जसले समय, खर्च र झन्झट दुवै घटाएर सेवा समान रूपमा उपलब्ध गराउनेछ।