२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव

कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव


पापा,
अहिले पनि विश्वास लाग्दैन, हजुरले २०७५ साल चैत्र ९ गते साँझ ६ बजेर पाँच मिनेट जाँदा पठाएको ‘म भोलि आउँछु’ भन्ने म्यासेज तर त्यो भोलि कहिल्यै आएन । ती दिन म सधैं सधैं सम्झिरहन्छु ।

१० गतेको मेरो जीवनमा संयोग धेरै छन् । तीमध्ये १० गते मेरो पहिलो जागिर (लोक सेवा उत्तीर्ण भएको दिन), १० गते नै हजुरले छोडेर जानुभएको दिन, यो कोरोना विशेष अस्थायी अस्पतालमा प्रमुख भएर आएको एक महिना पुगेको पनि अस्ति १० गते, त्यसैले यो १० गतेले मेरो जीवनमा अहम् भूमिका राख्दछ ।

स्वर्गीय डा. धिरेन्द्र नेपाल

पापा,
आज हजुरको धेरै नै याद आइरहेको छ, चारैतिर अन्धकारमय भएको छ, आँखा रसाएको छ, मन भक्कानिएको छ । शरीरमा काँडा उम्रेजस्तो भान भएको छ । आजै हामी एक अर्कासँग समर्पित भएको पनि १० वर्ष पुगेछ । धेरै ठाउँमा हजुरको र मेरो पृष्ठभूमी मिल्दैन थियो । किनकी म मध्यम वर्गीय परिवारमा हुर्किएको र हजुर चाहिँ जमिन्दारी खानदान परिवारमा हुर्केकोले होला कतिपय कुरामा हाम्रो सोच मिल्दैनथ्यो ।

म एक चिकित्सक भएतापनि घरमै कति भेदभाव मैले महसुस गरेको थिएँ, जागिरको शिलशिलामा महिला भएकै कारण भोगेका विभिन्न खाले भेदभावका साथै पारिवारिक द्वन्द्व हिंसा चाहिँ मैले चुपचाप सहेरै बसें । यस्ता भेदभाव हुर्किदै गर्दा सार्वजनिक स्थान र जागिर कै शिलशिलामा नभोगेका महिला सायदै होलान् । यस कार्यालयमा पनि महिला भएर नै मलाई काम गर्न असहज बनाइएको हो कि भन्ने आज मनमा आइरहेको छ । हजुर गएपछि मलाई हेर्ने र मलाई गरिने व्यवहार सँगसँगै काम गरेका तिनै मान्छेबाट धेरै फरक पाएँ ।

पहिलाको कार्यालयमा हुँदा हजुर गएपछि म आवासमा बस्न नसकेर धेरैजसो समय मेरो आफ्नै कार्यस्थल अप्रेशन थिएटरमा बिताउन थाले । कसैले पनि अकालमै ज्यान गुमाउँदा उसको परिवारमा कस्तो वज्रपात हँदो रहेछ भन्ने आपैmले भोगेर पनि अब अप्रेशन कक्षको सुधार गर्नुपर्छ भन्ने मैले मनैबाट संकल्प गरें । तर, यस क्रममा मैले कति अप्ठ्याराहरू भोग्नप¥यो ती मेरै मनमा छन् । बच्चा जन्मनेबित्तिकै नाबालकलाई भिटामिन के को सुइ लगाउनुपर्ने, अप्रेसन गर्दैगर्दा र गरिसकेपछिको संक्रमण न्यूनीकरण गर्नका लागि अप्रेसन कक्ष सरसफाइ fumigation), ओ.टी ड्रेस, ओ.टी कक्ष भित्रै बिरामीलाई असर पर्ने गरी खाना पकाउने कार्य, आमा सँगसँगै बच्चा निकाल्ने कार्यजस्तो सामान्य कुरा सुधार गर्न खोज्दा पनि मलाई पटक—पटक आक्रमणका साथै सधैं विवादित पारियो । मेरै सहकर्मीबाट असहयोग भयो । सायद अझै पनि त्यो सुई दिने प्रचलन त्यहाँ सुरु गरिएको छैन ।

त्यति मात्र नभएर टाढाबाट व्यथा लागेर आउने गर्भवती महिलालाई बेडको अभावमा रिफर गरिने र आफ्नो क्लिनिकमा आएकाले तुरुन्तै सेवा पाउने प्रवृत्तिको पनि मैले खुलेरै विरोध गरें । दिनमा १२ घण्टाभन्दा पनि धेरै अप्रेशन कक्षकै काम गर्दा म सरहका सबैले पाउँदै आएको सुविधा न पहिला खाईपाई आएका सहकर्मी साथी सरहको पाएँ न म सँगै लोकसेवा पास गरेर आएका साथी सरह पाए । हजुर नभएर म माथि यो अन्याय गरिएको हो कि मैले सुधार गर्न खोजेर मलाई सजाय दिइएको हो मलाई अझै थाहा छैन । जेहोस् यस्तै तीता अनुभव समेट्दै मेरो यस कार्यालयमा समायोजन भएपछि पनि मैले हजुरको वार्षिकीको काम सकेर मात्रै यहाँ आउने विचार गरेकी थिएँ । तर, मलाई कार्यालयले आजै जानुपर्छ भनेर बारम्बार ताकेता गरेपछि म त्यहाँबाट निस्कें । छोरी मान्छेलाई श्रीमान् बितेपछि आफ्नो घर पनि घर नहुने रहेछ भन्ने पनि त्यही बेला अनुभव गरें । २०७६ पुस २१ मा दोस्रोपटक त्यहीँको सामाजिक विकास मन्त्रालयमा निवेदन दर्ता गरेर यहाँ आएकी हुँ । त्यहाँबाट मलाई यो नियमले पाउने सुविधा तपाईंले पाउनुहुन्छ भन्ने सान्त्वना दिइएपनि मैले आजसम्म पाएकी छैन । तपाईं आज मसँग भएको भए यो अवस्था मेरो पक्कै हुने थिएन ।

सुख दुःखमा साथ दिने अंकलसँग डा. शान्ति

आफ्नो जन्म दिने बाबुआमा, जन्मेको घर अनि परिवार सबै छोडेर खुशी—खुशी भक्कानिँदै, मीठो भविष्यको सपना लिएर आउने हामी नारीको कदर कहिले पनि हुँदैन । त्यसैले पनि होला चेलीका माइती सधैं आफन्ती र घर पराइ नै हुन्छ । जन्मघर नै छोडेर थरगोत्र नै परिवर्तन गरेर जाँदा पनि त्यही नयाँ घरमा पहिलो दिनदेखि नै नारीलाई चियोचर्चा गर्न सुरु गरिन्छ । सायद यही संस्कार सबैको मनमा रहेर होला कार्यालयमा पनि महिला भनेपछि नकारात्मक भावना आइहाल्ने सबैको मनमा, यस्तो महामारी चल्दाको अवस्थामा पनि तिनै प्रशासक भनाउदाहरुले नर्सिङ स्टाफहरुको कतै रमाना हुलाकद्वारा पोष्ट गर्ने त कतै हाजिरी नै काटिदिने गरी विचल्लीमा पारेको घटना पनि हाम्रै सामु भैरहेको छ ।

पापा, कोरोनाको उपचारको फ्रन्टलाइन भनेको के हो ? उपचार गर्ने हो कि मिडियामा बोल्ने हो ? सधैं पीपीई लगाएर खट्ने चिकित्सक, नर्सिङ स्टाफ, प्रयोगशालाका कर्मचारी, कार्यालय सहयोगी, फोहर व्यवस्थापनका कर्मचारीलगायत चौविसै घण्टा खटिने सुरक्षाकर्मी साथीहरुको पत्रिकामा देखिने फोटोहरूमा कहाँ हुन्छन् ? वास्तवममा कोरोना संक्रमित बिरामी छुने र नजिकै गएर उनीहरूको स्याहार गर्ने यिनीहरूले हो । यी नदेखिएका पात्रहरू अधिकांश महिला छन् तर यसको कदर न सरकारले गर्छ न माथिल्लो तहमा बसेका नीति निर्माण गर्नेले, न त यो समाजले । हाम्रै अस्पतालमा हेर्नुहोस् । पापा, कार्यालय सहयोगीदेखि सेक्युरिटी गार्डसम्म महिला छन् । उनीहरूको आवाजको सम्वोधन कहाँ भाको छ ? समाज र सरकारले उनीहरूको सही मूल्याङ्कन गरेका छन् त?

भरतपुर कोरोना अस्पतालका फ्रन्टलाइनर

विश्वजस्तै नेपाल पनि अहिले कोरोना महामारीको चपेटामा छ । वैशाख महिनामा उदयपुरमा एकैचोटी कोरोनाका धेरै संक्रमित देखिए । सबैलाई उपचारको लागि कोशी अस्पताल ल्याइयो । पहिलोपटक धेरै बिरामीको उपचार गर्नुपरेकोले अस्पताललाई अनुभवको अभावले धेरै गा¥हो भयो होला । तर, त्यस अस्पतालको नेतृत्वमा महिला चिकित्सक नै हुनुहुन्छ र त्यहाँको काम सह्रानीय देखिन्छ । विभिन्न अस्पतालका कोरोना इन्चार्जलाई फोन गर्दै सोधें— यो महामारीमा हामी सम्पूर्ण महिला स्वास्थ्यकर्मी बढी पेलिएको तर अगाडि नदेखिएको त होइन भनेर । एकजना दिदीको जवाफले मन छोयो । हामी नारी जन्मेदेखि नै पुरुषभन्दा धेरै नै अनुशासित हुन्छौं । समाजले नै हामीलाई यो गर्न हुन्न, यो लगाउन हुन्न, यति बेला आउने हैन भन्ने धेरै सिकाएर हो कि ? हाल आएर सुरुवातमा भएजस्तो जोश जागर आफ्नै सहकर्मी साथीहरुको असहयोगले गर्दा नभएको समेत बताउनुभयो ।

मेरा बाबाले सधै अनुशासनमा रेस्प्याक्ट, रेस्पोन्स र रेस्पोन्सबिलिटी पर्छ भनेको याद आयो । कलियुगमा जन्माएर सत्य युगको जस्तो संस्कार सिकाउने मेरा वावाआमा र मेरा अंकलहरुले सिकाएको पाठै गलत लाग्यो । मैले फेरि सोधे— दिदी ड्युटी कसरी मिलाउनुहुन्छ ? त्यहाँ दिउँसोमा नर्सिङ स्टाफ हुन्छन् भने रातिमा पुरुष स्वास्थ्यकर्मी । यो महिला स्वास्थ्यकर्मीको सुरक्षाको कुरा उठेको पनि महिला प्रमुख भएर नै होला । मैले फेरि सम्झें कतिपय अस्पतालमा महिला र पुरुष स्वास्थ्यकर्मीलाई एउटै ड्युटी रुम दिइएका जस्ता अमानवीय र असंवेदनशील कुरा ।

कोरोना अस्पतालमा देखिएको सर्प । अनेक अप्ठयारोबीच स्वास्थ्यकर्मी काम गरिरहेका छन् ।

यति मात्र नभएर कयौं कोरोना अस्पतालमा ड्युटी रुममा नै सर्प आएर आफ्ना समस्या भन्न जाँदा, प्वालहरू बन्द गर्न आग्रह गर्दा उल्टै प्रशासनबाट गाली गर्ने, प्रशासन प्रमुखले नै तिनै अस्पतालका वेथिती लुकाउनलाई दैनिक ज्यालादारीमा काम गरेर पनि राजीनामा (कोही स्वास्थ्यका कारण, कोही आफ्नो व्यक्तिगत कारण) दिएर बसेका स्वाथ्यकर्मी साथीहरुलाई आक्रमण गरेर लोकसेवा स्थायी कर्मचारी सरह कार्वाही गरी समाचार प्रकाशित गरेर कागले कान लग्यो भन्दैमा कान नसमाती दौडिने हाम्रो संस्कृति पनि गजबकै छ । यसरी दिनरात खटिने कर्मचारीलाई नै आक्रमण गर्दै र विना सूचना एउटा जिम्मेवारीबाट अर्कोमा सार्दै जाने हो भने विश्वब्यापी रुपमा विकसित देशहरुबाट विकासोन्मुख देशतिर फैलिरहेको कोरोना भाइरस रोगको संक्रमण, रोगथाम नियन्त्रण र ब्यवस्थापन गर्न सकिदैन् ।

हुन पनि सरसर्ती हेर्दा जर्मनी, फिनल्याण्ड, न्युजिल्याण्ड, आइसल्याण्ड, नर्वे, डेनमार्कजस्ता विकसित पश्चिमी मुलुकमा यो कोरोनाको महामारी अलि नियन्त्रित देखिन्छ र यसको व्यवस्थापन पनि राम्रोसँग गरिएको देखिएको छ । यी सबैमा मिल्दाजुल्दा कुरा के छ भन्दा महिला नेतृत्व भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् । महिलालाई जिम्मेवारी दिएमा राम्ररी वहन गर्न सक्ने कुरा यिनै देशले देखाए । महिलामा पुरुषमा हुने बौद्धिक दिमागका साथसाथै भावनात्मक रूपमा पनि सोच्न सक्ने खुबी भएकाले उनीहरूको निर्णय क्षमता उत्कृष्ट हुने होला ।

नेपालकै एक कोरोना अस्पतालमा  संक्रमितमध्येकै एक नर्सिङ स्टाफ हुनुहुन्छ । आफै संक्रमित भएर पनि उहाँसँगै रहेका अरु बिरामीलाई जाँच्ने र औषधी दिने काम गरिरहनुभएको छ । उहाँमा यस्तो सेवाभाव र महान् काम गर्ने प्रेरणा नारी भएकै कारणले आएको हो । उहाँप्रति हामीहरुको उच्च सम्मान छ । र, सबैको हुनुपर्छ । उच्च मनोबलका साथ यस्तो सेवामा खटिने नारीको सम्मान कसले गर्ने ?

पापा, यहाँ यस्तै छ तर जस्तोसुकै परिस्थितिमा पनि बिरामीलाई सञ्चो बनाएर घर पठाउने हाम्रो अहिले एकमात्र इच्छा हो । भर्ना गरेपछि फेरि अर्कोपटक स्वाब जाँच गर्दा नेगेटिभ आओस् भनेर हामी दिनभरी प्रार्थना गर्छौं । पोजेटिभ नै आयो भने पनि त्यो खबर बिरामीलाई दिँदा अत्यन्तै निराशा लाग्छ । अब त बिस्तारै बिरामी पनि थपिँदै गएका छन् । सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने बाहेक धेरै के नै गर्न सकिन्छ र ?

पापा, कहिलेकाहीं त असाध्यै दिक्क लाग्छ जति नै सकारात्मक सोच राखेपनि आफूलाई सम्हाल्न गाह्रो हुन्छ । सही मान्छे सही ठाउँमा नभएर होकि, समायोजनमा पनि हामीजस्ता कर्मचारीलाई मात्र जानुपर्ने, राम्राभन्दा पनि प्रशासनमा हावी भएका हाम्रा मान्छेको कारणले अहिलेको महामारीले विकराल रुप लिन्छ कि भन्ने लाग्दैछ । यिनै तिनै समाजका प्रतिनिधि पात्रहरुले एक्लो भएकै कारण यस्तो महामारीमा पनि कतै २४ घन्टे क्वार्टर छाडने धक्की त कहिले दुःख दिनकै लागि आवास सुविधाबाट वञ्चित गराई रहेका छन् ।

पापा, हजुर हुँदा किनिएका सामानहरु, हजुरको दराजका प्रत्येक सामान जस्ताको तस्तै राखेकी छु । हजुरले यो संसार छाड्दाको दिनको टिसर्ट अझै मेरो सिरानीमा छ । १५/२० दिनसम्म त टिसर्टबाट पनि हजुरको गन्ध आउँथ्यो, बिस्तारै त्यो पनि हरायो । कहिलेकाहीँ त लाग्छ कतै आइहाल्नु त हुन्न । कतैबाट शान्ति भनी हाल्नुहुन्छ कि जस्तो पनि लाग्छ । समय कति बलवान् छ, सबै पीडाको औषधी समय नै हो । जे होस् दस वर्ष पुगेर एघार वर्ष लागेको हामी एक अर्काप्रति समर्पित भएको आजको यो दिनको हजुरलाई धेरै—धेरै शुभकामना ! हजुर जहाँ भएपनि मलाई आशीर्वाद र शक्ति दिनुहोस् कि अहिलेको यो पुरुषप्रधान समाजमा महिला र विशेष गरी एकल महिलाले भोग्नपर्ने चुनौतीको सामना गर्न सकुँ । तपाईं मेरो मनमस्तिष्कमा सधै रहिरहनुहुनेछ ।

(वाणगङ्गा—११ कपिलवस्तुकी डा. शान्ति हाल भरतपुरस्थित कोरोना विशेष अस्पतालकी  प्रमुखका रूपमा कार्यरत छन् ।)

(स्वर्गीय डा. धिरेन्द्र नेपाल रेडियोलोजिस्ट हुनुहुन्थ्यो । तौलिहवा, कपिलवस्तुमा आफ्नै सनसाइन स्कुलको मिटिङका लागि भनेर २०७५।१२।९ मा बुटवलबाट कपिलवस्तु जानुभएकोमा उहाँको त्यहीँ मृत्यु भएको थियो । उहाँकी धर्मपत्नी डा. शान्ति भुर्तेल नेपालले शवगृहमा मात्र उहाँलाई देख्न पाउनुभएको थियो । उहाँलाई भनिएअनुसार डा. धिरेन्द्र राती सुत्नुभयो तर बिहान उठ्नुभएन ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ