काठमाडौं—डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउन दुई दिने गोष्ठी सम्पन्न भएको छ । विभिन्न देशका विज्ञहरु सम्मिलित उक्त गोष्ठी मंगलबार सम्पन्न भएको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपालस्थित अमेरिकी राजदूतावास, संयुक्त राज्य अमेरिकाको कृषि विभागअन्तर्गत कृषि अनुसन्धान सेवा र सेन्टर फर मलिकुलर डाइनामिक्स नेपालको संयुक्त आयोजनामा उक्त गोष्ठी भएको हो । सोमबार र मंगलबार भएको दुई दिने गोष्ठीमा विभिन्न देशबाट विज्ञहरु राजधानीको मल्ल होटलमा भेला भएर आफ्नो विज्ञता र अनुभव प्रस्तुत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गोकर्ण दाहाललगायतले डेंगी नियन्त्रणलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम र विगतका अनुभवहरु सुनाएका हुन् ।
स्वास्थ्य सचिव डा. पोखरेलले स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रणका लागि सरकारले गरिरहेको कामहरूको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले डेंगी नियन्त्रणका लागि सरकारले चालेको कदम र त्यसको प्रभावकारिताको विषयमा चर्चा गरेका हुन् । सचिव डा. पोखरेलले डेंगी नियन्त्रणका लागि सरकारले खेलेको भूमिका र भावि कार्ययोजनासमेत सुनाए । नेपाल सरकार डेंगी नियन्त्रणका लागि निरन्तर सक्रिय रहँदै आएको उनको भनाइ छ ।
कार्यशाला उद्घाटनका प्रमुख अतिथी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले डेंगी नियन्त्रणका लागि स्थानीय सरकारले खेलेको भूमिकाको चर्चा गरे । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्षसमेत रहेका महर्जनले कोभिड—१९ र डेंगी नियन्त्रणमा स्थानीय सरकारले भोग्नु परेको समस्यासमेत सुनाए । उपत्यकाका स्थानीय तहले डेंगी नियन्त्रणका लागि चालेको कदम र आगामी दिनमा गर्नुपर्ने कामको समेत उनले चर्चा गरेका हुन् ।
डेंगी नियन्त्रणका लागि गरिएका कामहरु र त्यसलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको विषयमा स्वास्थ्यका प्रस्तुती दिएका थिए । गोष्ठीमा भाग लिन बंगलादेशबाट आएका डा. राजीव चौधरी र सेनाका सहायक रथी इम्रुअल क्वेस चौधरीले डेंगी नियन्त्रणमा बंगलादेशले चालेको कदमको चर्चा गरेका थिए ।
अमेरिकी कृषि विभागका प्रतिनिधि डा. ली कोहन्सटेडले डेंगी नियन्त्रणको विषयमा धारणा राखे।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. युवानिधि बसौला, सुनिलराज शर्मालगायतले डेंगी नियन्त्रणका विषयमा प्रस्तुती दिए ।
प्रा. डा. कृष्णदास मानन्धर, डा. रेश्मा तुलाधर, अजितकुमार कर्ण, दिवेश गोस, डा. मेघनाथ धिमाल, डा. दिवेश कर्मचार्य, डा. शशी कँडेल, डा. समिरमणि दिक्षितलगायतका विज्ञहरुले डेंगी नियन्त्रणका विषयमा धारणा राखेका हुन् ।