२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशडायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल

डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल


चरिकोट—दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी जुटेको छ । अस्पताल नजिकै नयाँ भवन निर्माण कार्य सम्पन्न भएकाले छिट्टै नै डायलाइसिस सेवा सुरु गर्न लागिएको हो ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले एक वर्षअघि खरिद गरेर पठाइदिएको डायलाइसिस मेसिनको सेटअप गर्ने कार्य मन्त्रालयकै सहयोगमा यस अस्पतालमा सुरु गर्न लागेको पशुपति चौलागाई स्मृति अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष भरत नारायण प्रधानले बताए ।

मिर्गाैला पीडितको डायलाइसिस गर्दा मेसिन सञ्चालन गर्न आवश्यक पर्ने प्लान्ट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । अस्पतालका तीन जना स्वास्थ्यकर्मीले बागमती प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमार्फत निक साइमन परियोजनाबाट यसको तालिम लिएर फर्किसकेका छन् ।

हाल चार वटा मेसिन जडान भइसकेको र स्वास्थ्य मन्त्रालयबाट थप एक वटा आइसकेपछि पाँच वटा मेसिनको जडान र २० हजार लिटर ट्याङ्की निर्माण गरेसँगै यो कार्य पूरा हुनेछ । त्यसका लागि अस्पताललाई केही बजेट अभाव भएकाले समयमै यस कार्यलाई अगाडि बढाउन नसकेको अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष प्रधानले बताए ।

‘बजेट व्यवस्थाका लागि माथिल्लो निकायहरुलाई आग्रह गरिरहेका छौं,’ उनले भने, ‘अब बढीमा एक महिनाभित्र यो सेवा प्रारम्भ गर्ने कोसिस छ ।’ यो सेवा सुरु भएपछि दोलखालगायत छिमेकी जिल्लाका मिर्गौला पीडितले चरिकोटमै सहज रुपमा डाइलाइसिस सेवा पाउने विश्वास अस्पतालले लिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ