२०८२ चैत्र १२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यरोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ

रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ


काठमाडौं— रोबोटिक सर्जरी क्यान्सर उपचारमा नयाँ विकल्प भएको विज्ञहरुले बताएका छन् । बिहीबार काठमाडौंमा ‘रोबटिक इन सर्जिकल अंकोलोजी’ विषयक सिएमई कार्यक्रममा विज्ञहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा दक्षिण एसियाका प्रख्यात रोबोटिक क्यान्सर सर्जन मणिपाल अस्पताल, द्वारका, नयाँ दिल्लीका सर्जिकल अंकोलोजी विभागका अध्यक्ष डा. सुरेन्द्रकुमार दबास र सोही विभागका हेड एण्ड नेक रोबटिक सर्जन सर्जन डा. विकास गुरुङले रोबटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प भएको बताए ।

डा. दबासले रोबोटिक सर्जरीले क्यान्सर उपचार परिणाम सुधार्नुका साथै बिरामीको रिकभरी समय छोट्याउने बताए। ‘रोबोटिक सर्जरीले क्यान्सर पूर्ण रूपमा हटाउने क्षमता बढाउँछ र बिरामी छिटो निको हुन्छन्। त्यसैले सर्जरीपछि दिइने किमोथेरापी वा रेडिएसन समयमै सुरु गर्न सकिन्छ,’ उनले भने । उनले सर्जरीपछि १०० दिनभित्र किमो वा रेडिएसनसहित उपचार सम्पन्न भए रोग निको हुने सम्भावना उच्च रहने बताए। ढिलो भएमा क्यान्सर पुनः देखिने जोखिम बढ्ने उनले स्पष्ट पारे।

डा. दबासकाअनुसार चिरफार वा ल्याप्रोस्कोपिक विधिबाट कठिन हुने घाँटी, थाइराइड तथा पेटको पछाडिको भाग (रेट्रोपेरिटोनियल क्षेत्र) का सर्जरीमा रोबोटिक प्रविधि प्रभावकारी देखिएको छ। विशेषगरी, थाइराइड क्यान्सरमा रोबोटिक सर्जरी गर्दा घाँटीमा दाग नबस्ने भएकाले सौन्दर्य र मानसिक दुवै पक्षमा फाइदा पुग्ने उनले जानकारी दिए। उनले रोबोटिक सर्जरीपछि बिरामीको खाना खाने, बोल्ने तथा दैनिक जीवनमा फर्किने क्षमता छिटो सुधार हुने पनि बताए।

विश्वभर रोबोटिक सर्जरीको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै उनले अमेरिकामा करिब ८० प्रतिशत सर्जरी रोबोटबाट हुने गरेको र भारतमा १० देखि १५ प्रतिशत सर्जरी रोबोटिक विधिबाट भइरहेको जानकारी दिए। नेपालमा भने अझै यसको प्रयोग सीमित रहेको भन्दै भविष्यमा विस्तार आवश्यक रहेको बताए।

डा. विकास गुरुङले रोबोटिक सर्जरी आधुनिक चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले उपचारको नतिजा सुधार गरेको बताए। उनका अनुसार रोबोटिक प्रविधिबाट सर्जनको नियन्त्रण अत्यन्त सटीक हुने भएकाले रक्तस्राव कम हुने, संक्रमणको जोखिम घट्ने र बिरामी छिटो निको हुने गर्छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ