२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारअब पञ्चपुरी नगरबासीले उपचार अभावमा मर्नु पर्दैन

अब पञ्चपुरी नगरबासीले उपचार अभावमा मर्नु पर्दैन


सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख हुन्–उपेन्द्रबहादुर थापा । सुर्खेतको पश्चिम क्षेत्रमा अवस्थित यो नगरपालिका साविकका पाँच गाविस (बावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी) मिलेर बनेको छ । थापा नगरप्रमुखमा निर्वाचित भएयता यहाँका सबै वडामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । नगरभित्र स्वास्थ्य क्षेत्रमा भैरहेको काम र स्वास्थ्य योजना लगायतका विषयवस्तूमा केन्द्रीत रहेर नगर प्रमुख थापासँग हेल्थ आवाजकर्मी चन्द्रा कँडेलले गरेको कुराकानीः

नगरवासीमा स्वास्थ्य चेतना स्तर कस्तो छ ?

अहिले कोरोना माहामारीले गर्दा जनतामा स्वाथ्य चेतना स्तर बढेको पाएको छु । पहिले भन्दा अहिले व्यक्तिगत तथा घरायसी सरसफाई, सामाजिक दुरीको पालना जस्ता कुरामा जनता सचेत छन् । पहिले बिरामी पर्दा घरमै बसेर औषधि गर्ने नागरिकहरु अहिले नजिकैको स्वाथ्य केन्द्रबाट सेवा लिइरहेका छन् । हरेक नागरिकमा आफु स्वस्थ्य हुनुपर्छ र स्वस्थ्य कसरी हुने भन्नेबारे चेतना स्तर बढेको छ । विशेष गरी कोरोना माहामारीसँगै स्वास्थ्य सचेतना बढेको पाएको छु ।

स्वास्थ्य संस्थामा जनशक्ति र स्वास्थ्य सेवा प्रवाहको अवस्था कस्तो छ ?

स्थानीय सरकार आउनुभन्दा पहिला पञ्चपुरी नगरपालिकाका केहि वडामा स्वास्थ्य इकाई थिएनन् । ती वडामा हाल स्वास्थ्य इकाई स्थापना गरेका छौं । पञ्चपुरी नगरपालिकामा स्थानीयवासीलाई स्वास्थ्यको पहुँचमा पुग्न एक घण्टाभन्दा बढी समय नलागोस भनेर स्वास्थ्य इकाई थप गरिएको हो । सबै स्वास्थ्य इकाईमा आवश्यक जनशक्ति छन् । साविक छाप्रे गाविस भौगोलिक विकट क्षेत्र हो । जहाँ तीन वटा बस्ती थिए । दुर्गमताका कारण यहाँका नागरिक उपचारका लागि ३ देखि ४ घण्टा हिड्नु पर्ने बाध्यता थियो । छाप्रेमा दुईवटा स्वास्थ्य इकाई थप गरेपछि हाल सहज भएको छ ।

यसका साथै विद्यापुरको दह सान्नेमा एउटा, तातापानीमा एउटा र लाटीकाँडामा एउटा गरी पाँच वटा स्वास्थ्य इकाई थप गरेका छौ । नगरपालिकाको स्वास्थ्य इकाई नभएका वडामा गत सालदेखि स्वास्थ्यका भवन निर्माण कार्य सुरु गरेका छौं । प्रत्येक वडामा एउटा स्वास्थ्य इकाई स्थापना गर्ने हाम्रो लक्ष्य छ । यसको साथै पञ्चपुरी नगरपालिकामा एउटा एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स र कोभिडको लागि पनि छुट्टै अस्पतालको व्यबस्था गर्ने तयारीमा छौं । त्यसैले अब पञ्चपुरी नगरबासीले उपचार अभावमा मर्नुपर्दैन

तपाईं नगर प्रमुख भएपछि स्वास्थ्यका क्षेत्रमा के–के उपलब्धि भए ?

हामी निर्वाचित भएपछि स्वास्थ्यमा धेरै सुधार भएका छन् । गर्भवती तथा सुत्केरी आमालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रमहरु ल्याएका छौं । आमा र बच्चाको स्वास्थ्य र पोषणमा सहयोग पुगोस् भनेर दुई हजार रुपैयाँ सुत्केरी प्रोत्साहन भत्ता पालिका मार्फत व्यवस्थापन गरेका छौं । हाल नगरपालिकामा ९४ प्रतिशत महिलाहरुले स्वास्थ्य केन्द्रमा प्रसुती सेवा लिने गरेका छन् ।

बाँकी ६ प्रतिशतलाई एक दुई वर्षभित्र स्वास्थ्यको पहुँचमा ल्याउने योजना छ । यसका साथै सबै वडामा स्वास्थ्य जनचेतना अभियान संञ्चालन गरेका छौं । जसमा हात धोएर खाना खाने, सुरक्षित पानी पिउने, आफुलाई रोगको संक्रमण भएको संकेत पाउनु साथै स्वास्थ्य संस्था जाने, बच्चाको तौल लिने लगाएतका जनचेतनामुलक कार्यक्रम गरिरहेका छौं ।

उसो भए सबै नागरिकले आधारभुत स्वास्थ्य सेवा वडामै सहज रुपमा पाएका छन् त ?

ठुलो स्वाथ्य सेवा दिन त हामीले सकेका छैनौ । तर प्राथमिक उपचारसम्म हामीले सहज रुपमै वडामा दिएका छौं । पश्चिम क्षेत्रको बराहताल, पञ्चपुरी, चौकुनेमा कुनै षोष्ट मार्टमका केस भए भने वीरेन्द्रनगर लैजान पर्ने बाध्यता छ । बिहान, बेलुका छाक टार्न मुस्किल हुने परिवारले धेरै खर्च गरेर त्यहाँसम्म शव लैजान नसक्ने भएपछि हामीले पोष्टमार्टमका लागि बाँबियाचौरमै व्यवस्था गर्ने तयारी गरेका छौं । जसका लागि आवश्यक भवन निर्माण गरेका छौं । काम गर्ने जनशक्तिको पनि माग गरेका छौं । अब पोष्टमार्टमका लागि वीरेन्द्रनगर धाउनुपर्ने छैन ।

नगरबासीलाई कोरोना भाईरस संक्रमण हुनबाट बचाउन पालिकाले के कस्ता प्रयास ग¥यो ?

सबैभन्दा पहिले त हामी तीन तहकै सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्छ । हामी सबै सरकारले आफ्ना नागरिकलाई स्वस्थ बनाउनुपर्छ । तबमात्रै राज्यका लागि दक्ष जनशक्ति उत्पादन हुन्छ । त्यसैले सोही अनुसार कोरोना माहामारी सुरु भएपछि हामीले काम गरेका छौं ।

पञ्चपुरी नगरपालिकामा करिब तीन हजार ६ सय नागरिक स्वदेश तथा बिदेशबाट गाउँ फर्किए । उनीहरुको व्यवस्थापनको लागि १८ ठाउँमा क्वारेन्टाइन र दुई ठाउँमा आसोलेसनको व्यवस्था गरेका थियौं । नेपाल सरकालको मापदण्ड अनुसार कुनै कसर बाँकी नराखेर नागरिकको स्वास्थ्य सुरक्षामा लागि परेका छौं । हरेक नागरिकलाई कोरोना संक्रमणबाट बचाउन आवश्यक पहल जारी नै छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ