२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘सुत्केरीलाई सुविधा नै सुविधा’

‘सुत्केरीलाई सुविधा नै सुविधा’


गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्छन् र अस्पतालमै सुत्केरी हुन्छन् । सरकारले दिने यातायात खर्चमा गाउँपालिकाले केही थपिदिन्छ । सुत्केरी हुने समयमा १५ दिन अघि र १५ दिनपछि अस्पतालमै खाने बस्ने सुविधा छ भने अस्पताल पुग्दा र फर्किंदा सवारीको चिन्ता गर्नुपर्दैन । आमा र बच्चाको राम्रो स्वास्थ्यका लागि सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । यसमा महिला  स्वयमसेविकाले मद्दत गरेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिकाले ‘दुवै हात लड्डु’ नेपाली उखान चरितार्थ पार्दै सुत्केरी हुने महिलालाई लाभै लाभ दिने योजना सार्वजनिक गरेको छ । चालु आवको मातृ तथा नव शिशु कार्यक्रमअन्तर्गत कार्यविधि बनाइ अघि सारिएको योजनामा ३० देखि ४० जना सुत्केरीले लाभ लिने अनुमान छ । आमा र बच्चाको स्वास्थ्यमा विशेष चनाखो भएर काम भएको छ । गाउँपालिका पूर्ण खोपयुक्त भइसकेको छ ।

तनहुँका साविक छाङ, जामुने र मनपाङ गाविस समायोजन गरी बनेको म्याग्दे गाउँपालिकामा अहिले ७ वटा वडा छन् । ३ वटा वडामा स्वास्थ्य चौकी छन् भने ४ वटा वडामा स्वास्थ्य इकाइ स्थापना गरिएको छ । वडा नं. १ को को स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न भएको छैन । केही उद्घाटनको तयारीमा छन् । गाउँपालिकामा ३ वटा बर्थिङ सेन्टर छन् ।

संघीय सरकारको अनुदानअन्तर्गत ५० लाख रुपैयाँको मातृ तथा नव शिशु कार्यक्रम कार्यान्वयनको चरणमै छ । जामुनेमा स्थापना भएको कोभिड अस्पतालले विशेषज्ञसहितको सेवा दिइरहेको छ । गाउँपालिकाको स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई शिशु पोषणका लागि ८ हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ ।

अस्पतालमै सुत्केरी हुनेले अध्यक्षसँग सुत्केरी कार्यक्रमअन्तर्गत थप ३ हजार प्रोत्साहन भत्ता प्राप्त गर्छन । ३ माना घ्यू नै भए पनि सुत्केरीलाई राम्रै होला नि भन्ने ठानेर यसो गरिएको हो । यो निकै लोकप्रिय पनि बन्यो । कतै पछि खर्च पु¥याउन गाह्रो हुने त हैन जस्तो लागेको छ ।

सुत्केरी हुन पछिल्लो समयमा दैनिक ३-४ जनासम्म आउने गरेका स्वास्थ्य संस्थाले जानकारी दिइरहेका छन् । लक्षित वर्गअन्तर्गत सुत्केरी महिलाका लागि गाउँपालिकाले विशेष सुविधा उपलब्ध गराएको छ । राजमार्गमै पर्ने भएकाले पनि गाउँपालिकामा स्वास्थ्य सुविधा छ । यहाँका जनता बाध्यताले पोखरा काठमाडौं जानुपर्ने अवस्था छँदै छैन भने पनि हुन्छ ।

जनशक्ति अभाव हुन नदिन गाउँपालिकाले अहेब अनमी करारमा नियुक्त गरिसकेको छ । विशेष विरामी सहयोगका लागि गाउँपालिकाले १० लाख छुट्याएको छ, रोगको प्रकृति हेरेर सहयोग गरिरहेका छौं । यतिमात्र नभई सम्बन्धित अस्पतालमा आवश्यक सिफारिससमेत गाउँपालिकाले गर्ने गरेको छ । महिलाहरुचाहिँ ओछ्यान नपरी डाक्टरकोमा नजाने अवस्था हाम्रो देशमा धेरै छ, मैले टोल टोलमा शिविर डुलाएर ५०-६० जना क्यान्सर पीडित महिला पत्ता लगाएँ । तर देख्दा उनीहरु ठिकै देखिन्छन् । विभिन्न संस्थाबाट सहयोग पनि प्राप्त भइरहेको छ । गाउँपालिकाभित्र रहेका मानसिक सन्तुलन गुमाएका बेबारिसे ३ जना पुरुषको दमौली मानव आश्रमकी गोमाले बहिनीले उद्धार गरेकी छिन् । पछि गएर आश्रममा भेट्दा फरक भइसकेको पाएँ ।

१ वटा एम्बुलेन्स टेन्डर भइसकेको छ, करिब २ महिनामा आउँछ होला, १ एम्बुलेन्स सूर्य नेपालले उपलब्ध गराउने भनेको छ । यसपछि गाउँपालिकामा २ वटा एम्बुलेन्सले सेवा दिनेछन् ।

म्याग्देमा १० शैय्याको अस्पताल बनाउने टेन्डरको तयारीमा छ ।  अस्पताल निर्माण सम्पन्न गर्ने गरी १० करोडको टेन्डर हुने तयारीमा छ । डाक्टरसहितको दरबन्दी सिर्जना गर्ने र वडा नं. ३ मा १५ शैय्याको अस्पताल बनाउने सिफारिस भएको छ । दलित, गरिबका लागि नव शिशु पोषण कार्यक्रम थप गर्दै जाने योजना छ । गाउँपालिकामा सुत्केरी हुन समस्या भए पोखरा, काठमाडौं पठाउँदाको खर्च गाउँपालिकाले व्यहोर्ने छ । संघीय अनुदानअन्तर्गत सञ्चालित ५० लाखको योजना यो आर्थिक वर्षमा नै सकिन्छ । असारसम्म काम हुन्छ । अर्काे आर्थिक वर्षमा अर्काे योजना आउला भन्ने विश्वास छ ।

(म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना आलेसँग गरिएको कुराकानीमा आधारित)


क्याटेगोरी : गण्डकी प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ