२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. प्रमोद क्षेत्रीको सल्लाहः मिर्गौला रोगका बिरामी कोरोनाबाट कसरी जोगिने

डा. प्रमोद क्षेत्रीको सल्लाहः मिर्गौला रोगका बिरामी कोरोनाबाट कसरी जोगिने


विश्वमा दिन प्रतिदिन कोरोना संक्रमित दर बढ्दो क्रममा छ । नेपालमा पनि यसको संक्रमण र मृत्युदरको संख्या दिनानुदिन उकालो लाग्दै गएको छ । कोरोनाको उच्च जोखिममा विशेषगरी दीर्घरोगका बिरामीहरु रहेका छन् । जसमध्ये मिर्गौला रोगका बिरामीहरु पनि एक हुन् ।

मिर्गौला सम्बन्धिको समस्याले व्यक्तिको रोग प्रतिरोध क्षमतालाई कम गराउने हुँदा त्यस्ता व्यक्तिलाई कोभिड मात्र नभई अन्य जुनसुकै रोग तथा संक्रमणले सजिलै हमला गरी व्यक्तिमा गम्भीर जोखिमलाई निम्त्याउँछ ।

अझ प्रस्ट रुपमा भन्ने हो भने यदि कुनै दुई कोरोना संक्रमितमध्ये एकजना सामान्य व्यक्ति र अर्काे दोस्रो व्यक्ति मिर्गौला रोगको बिरामी रहेको छ भने तुलनात्मक रुपमा उक्त संक्रमणका कारण मिर्गौलाका दीर्घ समस्या भएको व्यक्तिलाई यसले द्रुत गतिमा असर गर्ने, व्यक्तिको स्वास्थ्यलाई स्वस्थ व्यक्तिको तुलनामा बढी क्षति पु¥याउने वा ज्यानैसम्म जानसक्ने भयको सिर्जना गराउँछ । त्यसैले पनि व्यक्तिले आफूलाई यस्ता समस्याको शिकार हुन नदिन आफ्नो मिर्गौलालाई स्वस्थ बनाई राख्न जरुरी छ ।

सामान्य अवस्थाका व्यक्तिले निम्न गतिविधिबाट मिर्गौला स्वस्थ बनाउन सक्छन्ः

  • प्रशस्त मात्रामा पानी पिउने
  • माछामासुको कम खाने
  • धुम्रपान तथा सूर्तिजन्य सेवनबाट टाढै रहने
  • जथाभावी औषधिको प्रयोग नगर्ने
  • सन्तुलित आहारको सेवन गर्ने
  • नियमित व्यायाम गर्ने
  • र, नियमित स्वास्थ्य परीक्षण गराउने

यस्ता गतिविधिमा ध्यान पु¥याएमा कुनै पनि सामान्य व्यक्तिले आफ्नो किड्नीलाई स्वस्थ राख्न सक्छन् । तर, यसबाहेक केहि यस्ता समूहहरु पनि छन्, जो दीर्घ मिर्गौला रोगबाट पीडित भएका हुन्छन् ।

कोभिड—१९ संक्रमणले शरीरको प्रतिरोध क्षमतालाई कमजोर बनाउने हुँदा, यस्ता समूह अन्यको तुलनामा उच्च जोखिमको दायरामा पर्छन् । जसअन्तर्गत डायलाइसिस गराइरहेका, लामो समयसम्म मिर्गौला समस्याका कारण औषधि लिइरहेका वा मिर्गौला प्रत्यारोपण भएर औषधि सेवन गरिराखेका आदि समूहहरु पर्छन् ।

यस्ता समूहले कोरोना महामारीको यस समयमा जोखिमलाई कम गराउन ध्यान दिनुपर्ने मुख्य पक्षहरु निम्न छन् :

  • जोखिम कम गराउन विश्व स्वास्थ्य संगठन वा विभिन्न स्वास्थ्य संस्थाले दिएको सावधानीका मापदण्डलाई विशेष रुपमा अनुशरण गर्ने । जस्तोः मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, समय–समयमा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने आदि ।
  • डायलाइसिस गराउने बिरामीले आफ्नो डायलाइसिस उपचारलाई निरन्तरता दिने
  • चिकित्सकको सल्लाहअनुसार खाना खाने
  • घरभित्रै छत वा बगैंचामा ध्यान, योगा तथा १५/२० मिनेटसम्म मात्रै हल्का हिडेर शरीरलाई सक्रिय राख्ने
  • वैकल्पिक औषधिको प्रयोग नगर्ने
  • चिकित्सकको सुझावअनुरुप नियमित औषधिको सेवन गर्ने
  • डायलाइसिसका लागि स्वास्थ्य संस्था आवतजावत गर्दा सकेसम्म निजी वा एउटै साधनको प्रयोग गर्ने अथवा उच्च सर्तकता अपनाइएका सवारी साधनको मात्रै प्रयोग गर्ने र मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने
  • जथाभावी नछुने र भिडभाडमा नजाने
  • रुघाखोकी लागेका व्यक्ति, बिरामी, वृद्धवृद्धाको समूह तथा कोरोना शंकाको घेरामा भएका समूहबाट टाढै रहने
  • स्वास्थ्य सम्बन्धि आफूलाई केही समस्या परेमा सकेसम्म टेलिफोनकै माध्यमबाट चिकित्सकको सल्लाह लिने वा चिकित्सककै सल्लाहमा मात्रै अस्पताल जाने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ