२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडेंगु नियन्त्रणको जिम्मेवारी लिने निकाय भएन

डेंगु नियन्त्रणको जिम्मेवारी लिने निकाय भएन


काठमाडौं—नेपालमा सन् २००६ मा पहिलो पटक डेंगु पत्ता लागेको थियो । त्यस यता हरेक वर्ष डेंगु संक्रमित फेला पर्दै आएका छन् । तर, पछिल्लो केही वर्ष यता डेंगु संक्रमणको समय अगाडि सर्दै आएको छ ।

वर्षा सकिएपछि मात्रै देखा पर्ने डेंगु अहिले वर्षा सुरु हुनुभन्दा निकै अगाडि देखिन थालेको छ । चिकित्सकहरुले यसलाई गम्भीर चिन्ताको विषय भएको बताएका छन् । पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीका अनुसार यसमा तीन तहको सरकारबीच समन्वयको अभाव देखिएको छ । ‘आधारभूत स्वास्थ्य तथा सरसफाइको जिम्मा स्थानीय सरकारको हो । तर, अहिलेसम्म स्थानीय सरकारले नियन्त्रणको कुनै भूमिका निभाएको देखिएको छैन्,’ उनले भने ।

विगतमा केन्द्रीय सरकारले महामारीको समयमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहभागितामा लामखुट्टे मार्ने काम गर्दै आएको थियो । ‘जसले गर्दा महामारीको रुप लिन पाएको थिएन अब त्यसरी कसले गर्छ ?,’ उनले थपे । स्थानीय सरकार र स्वयं जनता आफै नियन्त्रणको उपायमा नलाग्ने हो, भने यसले भयावह रुप लिने चिकित्सकहरु बताउँछन् ।

नियन्त्रणमा चासै भएन

देश संघीय संरचनामा गएसँगै सबै तहको जिम्मेवारी पनि बाँडफाँड भएको छ । स्वास्थ्यका सबैजसो अधिकार स्थानीय सरकार मातहत गएको छ । कर्मचारी प्रदेश सरकार मातहत रहेको छ । स्थानीय सरकारको जिम्मामा माहमारी नियन्त्रणको काम भएपनि उसले जिम्मेवारी निभाउन सकेको छैन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार रोग नियन्त्रणमा गएको पैसा अधिकांश स्थानीय तहले बाटो निमार्णमा लगाएका छन् । गत वैशाख ३० गते सुनसरीको धरानमा देखिएको डेंगु अझै नियन्त्रण बाहिर छ । समयमा डेंगु नियन्त्रण गर्न नसक्दा अहिले ४३ जिल्लामा फैलिएको छ ।

मानिस मर्न सक्छन्

डा.सेनेन्द्रराज उप्रेती
पूर्व स्वास्थ्य सचिव
डेंगुलाई साधारण रुपमा लिएको हुन सक्छ । स्थानीय तह र आम नागरिकको भूमिका डेंगु रोक्नमा हुनुपर्छ । छठ, टायर, खाल्डा, भाडाहरुमा जमेको पानी फाल्ने पहिलो काम हुुनुपर्छ । आधारभूत स्वास्थ्य र सरसफाइको जिम्मा स्थानीय सरकार मातहत भएकाले यसको उसले काम गर्नुपर्छ ।

विगतमा हामीले सेना, प्रहरी लगाएर पनि लामखुट्टे मार्नेकाम गरेका थियौं । अहिले त्यस्तो कुनै काम भएको देखिदैन् । प्राविधिक सहयोग केन्द्रले गर्ने हो । प्रदेशले जनशक्ति परिचालन गर्छ तर महामारीजन्य रोगको नियन्त्रण गर्ने भनेको स्थानीय सरकारले नै हो । अझ ठूलो महामारीको रुप देखा पर्न सक्छ । समयमा सचेत नभएको खण्डमा कयौ मानिसहरुको मृत्यु हुन सक्छ । अहिले पनि डेंगुले मानिस पक्कै मरेका छन् तर रिपोर्ट नभएको हुन सक्छ ।

अधिकार संघमा राख्नुपर्छ


डा. सुशीलनाथ प्याकुरेल
महानिर्देशक स्वास्थ्य सेवा विभाग

स्वास्थ्यका कार्यक्रमदेखि बजेटसम्म स्थानीय तहले पाएको छ । तर, काम गर्न सकेको देखिएन । पहिलो जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएको थियो ।

त्यसलाई पुरानै रुपमा फिर्ता त गरियो तर, धेरै ढिला भएकाले किटजन्य रोगको नियन्त्रणमा कर्मचारी खट्न पाएनन । महामारी जन्य रोगको बजेट संघमा राख्नुको विकल्प छैन । एक पट्टी जनशक्ति अर्कोपट्टटी बजेट राखेर रोग नियन्त्रण गर्न सकिदैन । अहिले देखिएको समस्या पनि त्यही हो ।

डेंगु नियन्त्रणको जिम्मेवारी लिने निकाय भएन


डा बासुदेव पाण्डे
निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अपताल, टेकु

सरकार डेंगु नियन्त्रणमा चुकेको मुख्य कारण भनेको जिम्मेवारी लिने निकाय नभएर हो । अहिले केन्द्रीय सरकारले हेर्न मिल्दैन् । बजेट स्थानीय तहमा गएको छ । केन्द्रसँग बजेट छैन, स्थानीय तहले स्वास्थ्यमा काम गर्न सकेन । प्रदेशले बजेट छैन भन्दै बसेको छ । विज्ञ कर्मचारी समायोजनसँगै अन्यत्र खटिएका छन् ।

भएका कर्मचारीलाई ज्ञान छैन । सरकारले स्वास्थ्यलाइ समयमा बुझ्न सकेन भने अझै बिकरनल रुप देखा पर्छ । संघीय संरचनामा देश गएसँगै सुरुवाती चरणमा स्वास्थ्य समस्या देखिन थालेको छ । प्रदेश, स्थानीय तह र केन्द्रीय सरकारबीच समन्वय नहुँदा डेंगुले प्रकोपको रुप लिएको छ । विगतमा केन्द्रीय सरकारले हेर्दा समयमै त्यसको नियन्त्रण भएको थियो । पहिलो पटक चार महिनामा पनि नियन्त्रण हुन सकेको छैन ।


क्याटेगोरी : जनस्वास्थ्य, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ