२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्लाष्टिक सर्जरी -एक परिचय

प्लाष्टिक सर्जरी -एक परिचय


सामान्यतया: हामी यथार्थभन्दा हावा गफमा अलि धेरै मक्ख पर्दछौं । चाहिने कुराभन्दा नचाहिने कुरामा समय खर्चिने हाम्रो बानी हुन्छ । सायद यहि कारण पनि होला हामी नेपालीको सोचमा प्लाष्टिक सर्जरी भनेको कुनै प्रकारको प्लाष्टिक प्रयोग गरेर दागरहित पद्दति नै त होला भन्ने अनुमानलाई नै साँचो मानेर बसेका हुन्छौं। आंशिक रुपमा यो सोच साँचो भएतापनि प्लाष्टिक सर्जरी भनेको के हो भनेर कौतुहलता नबढेको र आम मानिसहरुले खोजीनीति पनि नगर्नाले यो भ्रम हाम्रो समाजमा विद्यमान नै छ । वास्तविक रुपमा प्लाष्टिक सर्जरी के हो भनेर सबैले बुझ्नु अति आवश्यक छ।

सर्जरी भनेको शल्यक्रिया हो भने प्लाष्टिक भन्नाले अंग्रेजी शब्द प्लाष्टिकको हुबहु नेपालीमा रुपान्तरण गरेको शब्द हो र अंग्रेजी शब्दकोशमा पनि यो आगन्तुक शब्दको रुपमा प्रयोग भएको छ । जुन ग्रीक शब्द “प्लाष्टिकोष” बाट उत्पति भएको मानिन्छ । जसको अर्थ ‘कुनै पनि चिजलाई आफ्नो प्रतिकूल मोड्नु वा ढाँचा परिवर्तन गर्नु’ भन्ने हुन्छ । अर्थात शरीरको कुनै पनि भागलाई आफूले चाहेको अनुरुपमा फेरबदल गर्नु भन्ने बुझ्न सकिन्छ।

प्लाष्टिक सर्जरी भन्ने बित्तिकै यसको दुई वटा विधा हुन्छ भनेर बुझ्नु अत्यन्त जरुरी छ । किनभने यी दुई वटा विधाले समस्यालाइ नियालेर हेर्ने र समाधान गर्ने तरिकाहरु पूर्ण रुपमा छुटै हुन्छन् । कस्मेटिक सर्जरी त्यस्तो विधा हो जसले शरीरको कुनै पनि भाग यदि नमिलेको वा मन नपरेको छ भने आफ्नो इच्छा अनुरुप त्यसलाई मिलाउन वा बनाउन कोशिस गर्दछ । रिकन्सट्रकटिभ (reconstructive ) अर्को विधा हो । जसले सामान्य तरिकाले निको पार्न नसकिने घाउलाई अलग धारबाट त्यसलाई निको बनाउने साथ-साथै पु:न चलाउन सक्ने शरीरको भागलाई चलाउन मद्दत पुर्याउने कोशिस गर्दछ।

यसको साथसाथै आगोले वा कुनै प्रकारको जलनको कारण उत्पन्न जुनसुकै समस्याको उपचार पनि गर्ने विधा हो भनेर बुझ्न सकिन्छ । आंशिक रूपमा अर्थात् लेजरको प्रयोग वा कुनै औषधीको प्रयोग गरेर कयौं कस्मेटिक समस्याहरु ठिक पार्न सक्ने भएता पनि मुख्य रुपमा प्लाष्टिक सर्जरी सामान्य शल्यक्रिया अनुरुप नै शरीरमा घाउ बनाएर नै गर्ने शल्यक्रिया हो भनेर बुझ्नु जरुरी छ । सामान्य शल्यक्रियामा घाउ निको भइसके पश्चात देखिने दाग वा घाउको खतलाइ वास्ता गरिदैंन भने प्लाष्टिक सर्जरीमा यसको विशेष ख्याल राखिन्छ ।

तसर्थ, पूर्ण रुपमा दाग नै नहुने पद्दतिको रुपमा भ्रम लिएर बसेको आम-सर्वसाधारणले यो बुझ्नु जरुरी छ कि यो उपचार पद्दतिबाट पनि दाग बस्छ तर त्यस्तो दाग मिलेसम्म बाहिरबाट देख्ने भागमा नहुने वा बाहिरी देख्ने भागमा भएतापनि नजिकबाट नियालेर हेर्दा मात्र छुट्याउन सक्ने किसिमका हुन्छन् । शल्यक्रिया पश्चात बसेको दागलाई सकेसम्म लुकाउने कोशिस कस्मेटिक सर्जरीको बिशेषता हो भने रिकन्सट्रकटिभ (reconstructive) सर्जरीको प्राथमिकतामा सबैभन्दा छिटो -छरितो तरिकाले कम जोखिम अपनाएर कुनै पनि घाउलाई कसरी निको पार्न सकिन्छ जसले भविष्यमा सकेसम्म कुनै पनि समस्या उत्पन्न नहोस् भन्ने हुन्छ।

जसरी हरेक शल्यक्रियाको आफ्नै जोखिमहरू हुन्छन्, त्यसै प्रकार प्लाष्टिक सर्जरीको पनि आ-आफ्नै जोखिमहरू छन् भने भवितव्य भई नकारात्मक असरहरु देखा पर्न सक्दछ । प्लाष्टिक सर्जरी कुनै अंग बिशेष नभइकन सिद्दान्त विशेष भएको र टाउकोदेखि खुट्टाको औलाको टुप्पासम्म असिमित भएको कारण भवितव्य भई पर्न जान सक्ने जटिलताहरु शरीरको बनावट र घाउलाई वा शरीरमा भएको परिवर्तनलाई झेल्न तथा निको पार्न सक्ने क्षमता तथा प्रतिरक्षात्मक शक्तिमा भर पर्ने कुरालाई नकार्न सकिदैन् । तसर्थ यस पद्दति अपनाउँदा शरीरको प्रतिरक्षात्मक शक्ति कस्तो छ त्यस अनुरुप नतिजा आउन सक्ने कारण एउटै मानव शरीरमा पनि उही पद्दति अपनाउँदा पनि भिन्न-भिन्नै नतिजा आउन सक्दछ ।

कुनै पनि फिल्ममा देखाएको जस्तै एक्लै मान्छेले दश जनालाई कुनै चोट पटक नखाइकन कुटेको एउटा मिथ्या मात्र हो भनेर बुझेको अनुसार प्लाष्टिक सर्जरी गरेर राम्रो मात्र हुन्छ भनेर सोचेर बस्नु भ्रम हो भनेर बुझ्नु अति आवश्यक छ । तसर्थ एकजना प्लाष्टिक सर्जनसँग सम्पर्क गरेर आफूले गर्न खोजेको र उक्त कार्य गर्दा आउन सक्ने जटिलताहरु पूर्ण रुपमा बुझिसके पश्चात मात्र अगाडि बढ्नु उचित हुन्छ। कुनै पनि उपचार पद्दतिमा कसैलाई ग्यारेन्टी दिन सकिन्न। ग्यारेन्टी शब्द त शब्दकोशमा मात्र सिमित छ । यदि तपाई संसारिक परिवेशमा खोज्नु हुन्छ भने प्लाष्टिक सर्जरी मात्र होइन कुनै पनि क्रियाकलापमा भाग नलिनु भए उचित हुन्छ। अलिकति जोखिम मोलेर गर्ने हो भने धेरै जसो समयमा तपाइको हातमा राम्रो नतिजा नै पर्दछ र यदि नराम्रो हुने सम्भावना छ भने तपाईंलाई परामर्श दिने र उपचार गर्ने चिकित्सक नै पछाडि हट्न खोज्नु हुन्छ ।

समग्रमा भन्नु पर्दा प्लाष्टिक सर्जरी एक प्रकारको सर्जरी नै हो । जुन रोगीको मात्र उपचार गर्ने होइन निरोगीको पनि समस्याको समाधान गर्ने पद्दति हो । तपाईंको सोच अनुरुप कुनै प्रकारको प्लाष्टिकको प्रयोग गरेर दागरहित भन्दा पनि दाग कम देखिने तरिकाले गर्ने शल्यक्रिया हो भनेर बुझ्नु पर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ