२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यफोक्सो रोग विशेषज्ञ डा. नवीन मिश्रको सल्लाह : फोक्सोलाई यसरी स्वस्थ राखौं

फोक्सो रोग विशेषज्ञ डा. नवीन मिश्रको सल्लाह : फोक्सोलाई यसरी स्वस्थ राखौं


फोक्सोको प्रमुख काम भनेको शरीरमा भएका कोषिकालाई अक्सिजन प्रदान गर्नु हो । यसमा देखिएको केही गडबडी तथा असन्तुलनले मात्रै पनि व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि समस्या देखा पर्दछ ।

हामी प्रत्येकको शरीरमा प्राकृतिक रक्षा प्रणाली रहेको हुन्छ । जसले फोक्सो बचाउको काम समेत गर्ने गर्छ । अधिकांश समय यसले बाह्य फोहोरलाई फिल्टर गरी किटाणुहरु विरुद्ध लड्ने काम गर्दछ । यद्यपि, त्यस्ता किटाणु तथा हानिकारक पदार्थले व्यक्तिको श्वासनलीमा क्षति पु¥याएमा प्रतिफल स्वरुप यसले फोक्सोको नियमित कार्यप्रणाली र क्षमतामा समेत हानी पु¥याउँछ । जसले कालान्तारमा फोक्सोको रोगसमेत निम्त्याउने सम्भावना उच्च रहन्छ । त्यसकारण हामीले फोक्सोको स्वास्थ्यमा उचित ध्यान दिनुपर्दछ ।

सामान्यतयाः हामीमध्ये अधिकांशको बानी के छ भने कम्तिमा श्वास फेर्न गाह्रो नभएसम्म हामी फोक्सोको स्वास्थ्य तथा महत्वलाई त्यत्ति ध्यान दिदैनौं । फोक्सोको स्वास्थ्यको विषयमा त्यत्ति धेरै सोच्दैनौं । यद्यपि, सबैजना स्वस्थ जीवनशैली बिताउन फिट रहन भने चाहन्छन् ।

वर्तमान समयमा संसारभर फैलिएको कोभिड—१९ ले विश्व नै आक्रान्त बनाएको अवस्था छ । कोरोना भाइरसले दीर्घ रोग तथा प्रतिरोध क्षमता कम भएका व्यक्तिलाई तुलनात्मक रुपमा बढी असर गर्छ भन्ने तथ्य विश्व स्वास्थ्य संगठनले समेत बताउँदैं आएको छ । सार्स–कोभ–२ भाइरसका कारण हुने यस संक्रमणले सर्वप्रथम व्यक्तिको फोक्सोमा असर पु¥याउँछ । जसकारण अधिकांश संक्रमित व्यक्तिमा श्वास–प्रश्वास सम्बन्धि समस्या देखा पर्नुका साथै कसै—कसैमा भने यसले दीर्घ फोक्सो–समस्यालाई समेत निम्त्याउँछ ।

यस संक्रमणबाट बच्न तथा आफूमा कोरोना संक्रमण देखिएमा यसले फोक्सोमा धेरै असर नगरोस् भन्नका लागि पनि आफ्नो फोक्सोलाई स्वस्थ राख्नु आवश्यक छ । यसका लागि हामीले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः

  • धुम्रपान तथा धुम्रपान गर्ने वातावरणबाट समेत टाढा रहने
  • धुलो–धुवाँजन्य वातावरणमा सकेसम्म नजाने वा जानैपर्ने अवस्था आए अनिवार्य मास्कको प्रयोग गर्ने
  • शारीरिक रुपमा सक्रिय रहने र नियमित व्यायाम गर्ने
  • व्यायाम गर्दा लामो–लामो सास फेर्ने
  • एरोबिकजस्ता कसरत गर्ने
  • उचित पौष्टिक आहारको सेवन गर्ने
  • नियमित स्वास्थ्य जाँच गराउने
  • बाहिर निस्कँदा धेरै हुलमुल हुने समयमा ननिस्किने । जस्तोः बिहान ९/१० बजेतिर अफिस समय हुने भएकोले अधिकांश यस समयमा बाहिर निस्कन्छन् । तसर्थ यस्तो अवस्थामा आफू उक्त समयभन्दा अघिपछि निस्किने
  • र, आफ्नो घर वरपर बोटविरुवाहरु रोप्ने ।

यसबाहेक विशेषगरीः कोभिड—१९ को संक्रमणबाट बच्नका लागि हामीले ‘एमडिएच’ फर्मुला अपनाउनु पर्दछ । ‘एम’ भन्नाले मास्क, ‘डि’ भन्नाले डिस्ट्यान्स (सामाजिक दूरी) र ‘एच’ भन्नाले ह्यान्ड स्यानिटाइजिङ (हात स्वच्छ राख्ने) भन्ने बुझिन्छ ।

यसैगरी कोरोनाका अधिकांश केशहरु लक्षणविहिन देखिएकोले यो जो कोहीमा जुनसुकै स्वरुपमा पनि देखिन सक्छ । कसैमा पखाला लागेको हुनसक्छ भने कसैमा सुगन्धको शक्तिमा कमी आएको हुनसक्छ । यस्ता पक्षलाई प्रत्येक व्यक्तिले खासै ख्याल गरेको हुँदैन । त्यसकारण यस्तो पक्षमा विशेष सर्तकता अपनाउनुपर्छ ।

यस्तै कुनै पनि संक्रमणले व्यक्ति विशेष नहेर्ने भएकोले यो तपाई, हामी र हाम्रो चिनजान तथा आफन्त जो–कोहीमा पनि देखिन सक्छ । त्यसैले यस्तो समयमा सकेसम्म भोज–भतेरमा नजाने, सामूहिक भेटघाट नगर्ने, टेलिफोनको माध्यमबाटै एकअर्काको सम्पर्कमा जोडिने, भिडभाडबाट टाढै रहने, जथाभावी नछुने र विभिन्न स्वास्थ्य संस्था, मन्त्रालय एवं विश्व स्वास्थ्य संगठनले कोभिड—१९ बाट बच्न दिएको मापदण्डहरुलाई उचित रुपमा अनुशरण गर्नुपर्छ । यस्ता गतिविधिले कोभिड—१९ को संक्रमणको जोखिमलाई कम गर्नुका साथै फोक्सोलाई क्षतिबाट समेत बचाउँछ ।

अन्त्यमा, हामीमध्ये कसैले पनि कोरोनालाई हल्का रुपमा लिने गल्ती गर्नुहुँदैन । कोरोना संक्रमितले भने आफूमा ढृढ सकरात्मक सोच राख्दै यस रोगविरुद्ध लड्नुपर्छ । र, १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आएको व्यक्तिले चिकित्सकको सल्लाहमा कोरोना परीक्षण गराउनु उचित रहन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ