२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुधा शाहीको सल्लाहः वर्षायामपछि देखिने स्वास्थ्य समस्याबाट यसरी बच्न सकिन्छ

डा. सुधा शाहीको सल्लाहः वर्षायामपछि देखिने स्वास्थ्य समस्याबाट यसरी बच्न सकिन्छ


हाल कोरोना महामारीले विश्वभर नै संकटको अवस्था सिर्जना गरिरहेको छ । कोभिड-१९ कहरका कारण अन्य स्वास्थ्य समस्याहरु भने ओझेलमा पर्छन् कि भन्ने चिन्ताले हामी सबैलाई सताएको छ । वर्षायाम र आउँदैं गरेको शिशिरयाममा विविध स्वास्थ्य समस्याहरु देखा पर्छन् । हेर्दा र सुन्दा सामान्यजस्तो लागे पनि उचित उपचारको अभावमा त्यस्ता समस्याले अन्य जटिल समस्यासमेत निम्त्याउने सम्भावना रहन्छ । तसर्थ, कोभिड—१९ सँगै यस्ता समस्याबाट बच्नका लागि पनि विशेष सर्तकता र सावधानी अपनाउनुपर्छ ।

यसैपनि कोरोना संक्रमण उल्लेख्य वृद्धि भइरहेको छ । यद्यपि, अहिलेसम्म कोरोना भाइरस विरुद्धक खोप बनिसकेको छैन । यस अवस्थामा हामीजस्ता फ्रन्टलाइनमा अहोरात्र खटिने चिकित्सकहरु सकेसम्म व्यक्ति बिरामी नै नहोस् र भएपनि सामान्य समस्याका लागि नै उनीहरु अस्पतालसम्म धाउने वातावरण नबनोस् भन्ने चाहन्छौं । त्यसकारण सामान्य स्वास्थ्य समस्याहरु नदेखिउन भन्नका लागि व्यक्तिले सावधानी त अपनाउनुपर्छ । अहिलेको समयमा देखिने मुख्य समस्याहरु के–के हुन् ? त्यसबारे पनि जानकार हुनुपर्दछ ।

  • दूषित पानीबाट सर्ने रोगहरुः
    झाडापखाला, हेपाटाइटिस, ज्वरो, टाइफाइड
  • लामखुट्टेजन्य रोगहहरुः
    डेंगु, मलेरिया, लेप्टोस्पाइरोसिस ।
  • श्वासप्रश्वास सम्बन्धि समस्याः
    रुघाखोकी, ज्वरो, एलर्जी तथा वृद्धहरुमा दम ।

कारणहरु
अहिलेको समयमा व्यक्तिमा प्रायजसोः देखिने रोग भनेको पानीबाट सर्ने रोगहरु हो । यो बेला हामीले पिउने तथा प्रयोग गर्ने पानीहरु सजिलै दूषित हुने भएकाले पनि यस याममा व्यक्तिमा सबैभन्दा बढी पानीबाट सर्ने रोगहरु देखा पर्दछ ।

यससँगै वर्षापछि हाम्रा वरपरका ठाउँ एवं वातावरण ओसिलो हुने भएकाले पनि यस समयमा लामखुट्टेहरु बढी देखिन्छन् । जसकारण हामीलाई प्रायजसोः लामखुट्टेजन्य रोगहरुले सताउँछ । वर्षायामपछि विस्तारै चिसो मौसम पनि भित्रिने भएकाले अधिकांश व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि समस्याहरु देखिन थाल्छन् ।

समाधान र बच्ने उपाय
सर्वप्रथम त हामीले यस्ता कुनै पनि स्वास्थ्य समस्या आफूमा नदेखियोस् भन्नका लागि आवश्यक रुपमा सावधानी एवं सर्तकता अपनाउनु पर्दछ । यसका लागि सरसफाइमा विशेष ध्यान दिदैं नियमितरुपमा साबुनपानीले राम्ररी हात धुने र उमालेको प्रशोधित पानी मात्रै पिउने गर्नुपर्छ ।

यस्तै, फोहोर जम्मा भएको पानीका कारण लामखुट्टे आउने भएकाले आफ्नो वरपरको वातावरण एवं पानी सफा राख्ने, पानी छोपेर राख्ने, आफ्ना वरपर भएका खाल्डाखुल्डी पुरिदिने र लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग समेत गर्नुपर्छ ।

यसैगरी, यो समयमा व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि देखिने अधिकांश स्वास्थ्य समस्याका लक्षणहरु कोभिड—१९ सँग मिल्दोजुल्दो देखिन्छ । तसर्थ, यस्तो अवस्था आउन नदिन र यसबाट बच्नका लागि व्यक्तिले कोभिड—१९ बाट जोगिनका लागि स्वास्थ्य संस्था, स्वास्थ्य मन्त्रालय एवं विश्व स्वास्थ्य संगठनले दिएका मापदण्डहरु पूर्ण रुपमा अनुशरण गर्नुपर्छ । यसका साथै आफूमा यस्ता समस्या नदेखियोस् भन्नका लागि पनि व्यक्तिले पानी वा झोलिलो र पोषिलो खानाको सेवन प्रशस्त मात्रामा गर्नुपर्छ ।

तर, यसो गर्दागर्दै पनि आफूमा कुनै पनि स्वास्थ्य समस्या देखिएमा सुरक्षाका मापदण्डहरु पालना गर्दै नजिकैको स्वास्थ्य संस्थामा गएर सम्बन्धित चिकित्सकको परामर्श समेत लिन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ