२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ

डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ


कोखा भन्नाले मानवीय शरीरको करङभन्दा मुनितिरको भाग भन्ने बुझिन्छ । जुन पेटमा दायाँ र बायाँतर्फ रहेको हुन्छ । कहिलेकाहीँ विविध कारणवश व्यक्तिमा कोखा दुख्ने समस्या देखिन्छ ।

असहज महसुस गराउने यसको दुखाइ कम वा सहन सक्ने खालको हुन्छ । यद्यपि, प्रायजसोः व्यक्तिमा यसको दुखाइ बायाँ वा कि त, दायाँ भाग गरी एक भागमा मात्रै हुने गर्छ । यस्तो समस्यालाई बेवास्ता गर्दा यसले भविष्यमा व्यक्तिमा गम्भीर समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । आखिर किन दुख्छ त कोखा?

कारणहरुः

व्यक्तिमा कोखा दुख्नुका अन्य विविध कारणहरु रहेका हुन्छन् । अर्थात्, यो कुनै निश्चित एक पक्षसँग मात्र नभई धेरै कारणसँग सम्बन्धित रहेको छ । जुन निम्नअनुसार रहेका छन् ।

-आशन नमिल्नाले
धेरै लामो समयसम्म एकै पोजिशनमा बस्दा वा बसेर उठ्दा पोजिशन नमिलेमा लामो समयसम्म एकैनासले कम्प्युटरको प्रयोग गर्दा, सवारी चलाउनेजस्ता गतिविधिले पनि व्यक्तिमा एककिसिमको कोखा दुखाइको समस्या निम्त्याउँछ ।

-मांसपेशी तन्किनाले
हतारेर छिटो—छिटो ज¥याक–जुरुक उठ्ने, गह्रौ वा भारी सामाग्री बोक्नेजस्ता विभिन्न गतिविधिका कारण कोखाका मांसपेशीहरु तन्किने वा सर्किने हुन्छ । जसले पनि व्यक्तिमा कोखा दुख्ने समस्या पैदा गराउँछ ।

-मिर्गौला तथा पित्तथैलीको पत्थरी
मिर्गौलामा पत्थरी जम्ने प्रक्रियालाई ‘नेफ्रोलिथियासिस’ भनिन्छ । मिर्गौला कोखामा नै अवस्थित रहने भएकोले पनि यसमा भएको पत्थरीको दुखाइ कोखातर्फ सर्छ भने कहिलेकाहीँ यसैमा भएको सोही पत्थरी उछिट्टिएर तल युरिनरी ब्लाडर (मुत्रनली)मा पुग्ने सम्भावना उत्तिकै पनि रहन्छ ।

जसले पनि व्यक्तिमा कोखा दुखाइको महसुस गराउँछ । र, यस्तै व्यक्तिमा साझा रुपमा देखिने पित्तथैलीको पत्थरीले पनि कोखा दुखाइमा समान भूमिका निर्वाह गर्दछ ।

-पिसाब संक्रमण
प्रजनन क्षमता उमेर समूहका महिलामा साझा रुपमा पाइने समस्यामध्ये पिसाब संक्रमण पनि एक हो । पुरुषमा पनि देखिने भएतापनि यो समस्याले तुलनात्मक रुपमा महिलालाई बढी सताउने गर्छ । जसकाकारण पिसाब पोल्ने, छिनछिनमै पिसाब लाग्ने, पूरै पिसाब ननिस्किने, पिसाब गन्हाउने, पिसाब गर्न गाह्रो हुन, पिसाबमा रगत देखिने र सँगसँगै ज्वरो आउने र बान्ता हुनेजस्ता समस्याहरु देखा पर्छ । यिनै समस्यालाई समयमै नियन्त्रण नगर्दा फलस्वरुपः सो संक्रमण फैलिएर माथि मिर्गौलासम्म पुग्छ । यसले पनि कोखाको दुखाइलाई बढावा दिन्छ ।

-जन्मजात रुपमा देखिएका मिर्गौलाका समस्याहरु
केहि व्यक्तिहरु जन्मिदा नै मिर्गौला सम्बन्धि विविध समस्याहरु लिएर जन्मिएका हुन्छन् । जस्तोः जन्मजातै रुपमा मिर्गौलामा पानी फोका भएको व्यक्तिमा पनि कोखा दुख्ने समस्या देखिने सम्भावना उच्च रहन्छ ।

-असन्तुलित खानपिन
सामान्यतयाः गर्मीयाममा असन्तुलित खानपिनका कारण देखिने जन्डिस तथा हेपाटाइटिसजस्ता समस्याले पनि विशेषगरीः दायाँ भागको कोखा दुखाइ बढाउँछ ।

-मेरुदण्ड सम्बन्धिका समस्या
नशा च्यापिने तथा ‘डिस स्लीप’ हुनेजस्ता मेरुदण्ड सम्बन्धिका समस्याका कारण पनि व्यक्तिलाई कोखा दुख्ने समस्या देखिन सक्छ ।

रोकथाम तथा बच्ने उपाय

अंग्रेजी भाषामा एक प्रसिद्ध भनाइ रहेको छ, ‘प्रिभेन्सन इज बेटर देन क्योर’ अर्थात रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । तसर्थ, सकेसम्म हामीले यस्ता समस्याबाट बच्नका निम्ति यी भनाइलाई नै आत्मसात् गर्दै विशेष सर्तकता अपनाउनुपर्छ ।

जसले हामीलाई रोगबाट सजिलै रोग लाग्नबाट बचाउनुका साथै शरीरमा रोग देखिहालेमा पनि त्यसबाट देखिने नकरात्मक प्रभावलाई कम गराउनमा समेत विशेष भूमिका खेल्दछ । तसर्थ, यसका निम्ति हामीले निम्न उपायहरुमा विशेष ध्यान दिनुपर्दछ ।

  • बस्दा ढाडको भाग अडेस लगाएर वा सिधा बनाएर सहज आशनमा बस्ने । समय–समयमा आशन परिवर्तन गरिरहने र लामो समयसम्म उभिएर वा निहुरिएर गर्नुपर्ने काम नगर्ने ।
  • व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
  • झोलिलो खाना तथा पानीको सेवन प्रशस्त मात्रामा गर्ने
  • पिसाब रोकेर नबस्ने
  • अनावश्यक र चिकित्सकको सल्लाहबिना जथाभावी औषधिको प्रयोग नगर्ने
  • र, आवश्यक सर्तकता अपनाउदा पनि यसका लक्षणहरु देखिएमा यसलाई बेवास्ता नगरी तुरुन्त चिकित्सकको परामर्श लिने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ