×
२०७७ कात्तिक ३, सोमबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठजनस्वास्थ्यसघन उपचार कक्षमा कोरोना बिरामीको उचित स्याहार र हेरविचार

सघन उपचार कक्षमा कोरोना बिरामीको उचित स्याहार र हेरविचार


सामान्यतयाः कुनै पनि गम्भीर र सरुवा रोगका बिरामीलाई आईसीयुभित्र पनि छुट्टै आइसोलेसन कक्षमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तीमध्ये हालको परिस्थितिमा प्रायजसोः अस्पतालहरुमा कोभिड भनेर छुट्टै आईसीयु स्थापना गरिएको हुन्छ ।

अन्य आईसीयुभन्दा यो आईसीयुमा के फरक हुन्छ भने कोभिड आईसीयुमा माइक्रो क्लाइमेटमा ध्यान दिइएको हुन्छ । जसअन्तर्गत तापमान र नेगेटिभ प्रेसर च्याम्बरमा बढी जोड दिइन्छ । जसले त्यहाँ काम गर्ने वातावरणलाई सहज बनाउँदैं अधिकांश समय एसी चलिरहेको कक्षमा संक्रमित हावा (एरोजेल) लाई बाहिर फाल्न मद्दत गर्दछ ।

कोभिड आईसीयुमा विशेषगरी श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीलाई प्रायजसोः ३ समूहमा विभाजित गरिएको हुन्छ ।

पहिलो समूह
यस समूहलाई अक्सिजनको आवश्यकता पर्दछ । तर, फेस मास्क वा नजल क्यानुलाबाट अक्सिजन दिँदा नै पर्याप्त हुन्छ ।

दोस्रो समूह
यस समूह अन्तर्गत ती बिरामी पर्छन्, जो तुलनात्मक रुपमा पहिलो समूहभन्दा अलि सिकिस्त रहेका हुन्छन् । र, शरीरमा अक्सिजन पुर्‍याउन र कार्वनडाइअक्साइड फाल्नका निम्ति विशेष मेसिनहरुको आवश्यकता पर्छ ।

यद्यपि, यस्ता बिरामीलाई भने बेहोस नपारीकन नै एनआईभी सपोर्टमा राखिन्छ ।

तेस्रो समूह
यसअन्तर्गत भने जटिल रोग भएका बिरामीहरु पर्दछन् । जसलाई बेहोस पारी भेन्टिलेटरमा (श्वास—प्रश्वास नलीमा पाइप राखी) राख्नुपर्ने हुन्छ । अन्यथाः तुरुन्तै ज्यान सक्ने सम्भावना समेत रहन्छ ।

कोभिडका कारण फोक्सोमा जटिलता बढ्दैं गए एआरडिएस (एक्यु रेस्पेरेटरी डिस्ट्रेस सिन्ड्रोम)को लक्षण हुनसक्छ । यस्तो भएमा पनि बिरामीको ज्यान बचाउन गाह्रो पनि हुनसक्छ ।

कोभिड—१९ का बिरामीलाई प्रदान गरिने सेवा, पद्धति र कठिनाइहरु

कुनै पनि सेवा प्रदान गर्दा दक्ष र पर्याप्त जनशक्तिको आवश्यकता पर्दछ । त्यसमा पनि कोभिड आईसीयुमा पीपीई (पर्सनल प्रोटेक्शन इक्वीपमेन्ट) लगाएर लगातार धेरै घन्टा काम गर्न सम्भव हुँदैन । एक त धेरै स्वास्थ जनशक्तिको आवश्यकता पर्छ भने अर्को त ती जनशक्तिका लागि पर्याप्त गुणस्तरीय उपकरण र पिपिईहरु पनि ।

जटिल अवस्थामा रहेका बिरामीहरुको प्रायः श्वासप्रश्वास प्रणालीबाहेक अन्य अंगहरुको पनि समस्याहरु हुनसक्छ । जस्तोः ती बिरामीमध्ये कसैमा मुटु सम्बन्धि त कसैमा मिर्गौला वा कलेजो आदि सम्बन्धि समस्या रहेको हुन्छ । ती बिरामीलाई एक्स–रे, भिडियो एक्स–रे, डायलासिस इत्यादिको आवश्यक परेमा बाहिर लैजान मिल्दैन् । यसका लागि भित्रै सुविधा भएको खण्डमा धेरै सजिलो हुन्छ ।

हालसम्म विश्वमा कोभिड—१९ विरुद्धको कुनै पनि औषधि पत्ता लागेको छैन । सबै ‘सिम्टोमेटिक ट्रिटमेन्ट’ मात्र गर्ने हो । यसका लागि जे जस्तो लक्षण र समस्याहरु देखिन्छ । त्यसलाई सपोर्ट गर्ने उपचार मात्रै गरिन्छ । यद्यपि, हाल कोरोनाको निम्ति लड्न सहज होस्, भन्नका लागि भेन्टिलेटर र आईसीयुमा बस्ने अवधि कम गर्न प्लाज्मा थेरापी र एन्टीभाइरल ड्रग्स (जस्तोः रेम्डिसिभिर) को प्रयोग गरिन्छ ।

एकातिर आईसीयुको उपचार एकदम महँगो हुन्छ भने अर्कातिर माथि उल्लेख गरिएका बिरामीलाई सपोर्ट गर्ने दुवै उपचार सहजै उपलब्ध हुँदैनन् । र, यो सबैको पहुँचमा समेत रहेको हुँदैन । त्यस्तै, कोभिड आईसीयुमा चाहिने प्रयोगशाला, रगत, र्‍याल, खकार, पिसाब आदि लाने र रिपोर्ट ल्याउने छुट्टै व्यवस्थाको पनि आवश्यकता पर्दछ ।

बिरामीहरुको मानसिक स्थितिमा पनि धेरै असर परिरहेको हुन्छ । उनीहरुमा एकातर्फ डर, आफन्त भेट्न नपाउँदाको पीडा, हलचल नगरी चौबिसैं घन्टा बेडमा बस्नुपर्छ भने अर्कातर्फ खर्चको समस्या पनि रहेको हुन्छ । यसका लागि हामीले बिरामीको मानसिक स्वास्थ्यलाई पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ ।

यस्तै, लामो समयसम्म एउटै आशन (पोजिशन)मा बस्दा बिरामीहरुलाई गाह्रो हुने र छालामा घाउसमेत हुने सम्भावना रहन्छ । जसकारण यसो नहोस् भन्नका लागि भेन्टिलेटरमा राखेका व्यक्तिलाई समय–समयमा ओल्टाई पल्टाई गरिराख्नु पर्छ । त्यस्तै, एआरडिएसका बिरामीलाई ‘प्रोन–पोजिसन’ (घोप्टो) पारेर राख्नुपर्ने हुन्छ । त्यसले फोक्सोमा हावा र रगतको मात्रा बढाइ शरीरमा धेरै अक्सिजन पुर्‍याउन मद्दत गर्दछ ।

तर, कोहि बिरामी चालिस केजीका हुन्छन् भने कोहि १ सय केजीभन्दा माथिका पनि हुन्छन् । त्यस्ता बिरामीलाई पनि १६ घन्टा ‘प्रोन–पोजिसन’मा र ८ घन्टा उत्तानो पारेर राख्नुपर्छ । यसका लागि कम्तिमा पनि ७ जना स्वास्थ्यकर्मीको आवश्यकता पर्छ ।

त्यो भनेको एउटा बिरामीलाई एकपटक ‘प्रोन–पोजिसन’मा राख्नका लागि ७ वटा र बिरामीलाई उत्तानो पार्नको लागि अर्काे ७ वटा पीपीई सेटको आवश्यकता पर्दछ । यस कोभिड—१९ महामारीको समयमा पनि यो नेपालको केहि नगन्य अस्पतालमा मात्र गर्ने चलन छ ।

प्रतिरोध क्षमता वृद्धि गर्ने खाना

कोभिड—१९ का बिरामीलाई दिइने खाना बिरामीको अवस्थाअनुरुप फरक–फरक हुन्छ । कोभिड—१९ आईसीयुका बिरामीमध्ये खान नसक्ने बिरामीलाई स्लाइन वा नाकबाट पाइपको माध्यमद्वारा खाना सप्लाई गरिन्छ ।

यस्तै, श्वासप्रश्वास सम्बन्धि मात्रै समस्या देखिएको बिरामीलाई सामान्य रुपमा नै खाना प्रदान गरिन्छ । यसरी सामान्य वा गम्भीर दुवै प्रकृतिका बिरामीलाई खाना दिदा हामीले शरीरमा प्रतिरोध क्षमताको वृद्धि गराउने र शरीरलाई आवश्यक प्रोटिन, क्यालोरी, कार्बोहाइड्रेट, फ्याट र पानीको मात्रा कति हुनुपर्छ भन्ने मात्रालाई अड्कलेर प्रदान गर्छौ ।


क्याटेगोरी : जनस्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ