२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोयाममा फोक्सोलाई कसरी स्वस्थ राख्ने ?

जाडोयाममा फोक्सोलाई कसरी स्वस्थ राख्ने ?


चिसोका कारण धेरैजसो व्यक्तिमा रुघाखोकी एवम् श्वासप्रश्वास सम्बन्धि समस्या देखिन्छन् । यो याममा छाती घ्यार–घ्यार हुने, चिसोमा सुख्खापनकै कारण दमका बिरामीलाई सास फेर्न गाह्रो हुने जस्ता समस्या अझ बढी देखिन्छ ।

दिर्घरोगीका निम्ति चुनौती बोकेर आउने जाडोयामसँगै कोरोना भाइरस (कोभिड–१९) ले अर्काे समस्या सिर्जना भएको छ । कोरोना र चिसो दुवैले फोक्सोमा छिटो आक्रमण गर्ने भएकाले चिसो मौसममा दिर्घरोगीहरु उच्च जोखिममा हुन्छन् । त्यसैले यस्तो अवस्थामा सकेसम्म फोक्सोलाई सुरक्षित राख्नुपर्छ ।

फोक्सो सम्बन्धी समस्याका लक्षण

  • खोकी लाग्ने
  • सास फेर्न गाह्रो हुन
  • स्वाँ–स्वाँ आउने
  • छाती घ्यार–घ्यार र भारी हुने
  • ज्वरो आउने
  • पहेँलो अथवा सेतो खकार आउने ।

फोक्सोलाई सुरक्षिते राख्ने उपाय

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने

यतिबेला नेपालमा कोरोना महामारी फैलिरहेकाले यस्तो अवस्थाबाट जोगिनका लागि स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ । यस्तो बेलामा अनावश्यक रुपमा बाहिर ननिस्कने, तर, यदि यद्यपि निस्कनै पर्ने अवस्था आएमा अनिवार्य रुपमा सुरक्षित मास्कको प्रयोग गरी भिडभडमा जाँदा सामाजिक दूरी कायम गर्ने, नियमित साबुनपानीले हात धुने गर्नुपर्छ ।

यस्तै, अन्य व्यक्तिलाई भेट्दा हात मिलाउने वा अंकमाल गर्नेजस्ता गतिविधिबाट टाढै रहि नमस्ते गर्ने बानीको विकास गर्नुपर्छ भने, अनावश्यक रुपमा आफ्नो हातले बारम्बार नाक, मुख तथा आँखा वरपर लैजाने बानीलाई हटाउनु पर्छ ।

दुषित वातावरणबाट टाढा रहने

विशेषतः जाडोयाममा शरीरलाई तातो बनाउने नाममा हामी आगो वा हिटर ताप्ने र झ्याल ढोका बन्द गरेर एउटै कोठामा सिमित भई गुम्म परेर बस्छौं । यस्ता क्रियाकलापले शरीर न्यानो भएता पनि यसले शरीरलाई अर्काेतर्फ गर्ने असरबारे भने हामीले खासै सोचेका हुँदैनौ । अर्थात्, व्यक्तिका यी नै क्रियाकलापका कारण जाडोयाममा तुलनात्मक रुपमा घरभित्र र बाह्य दुवै क्षेत्रमा वायुप्रदूषण बढि हुन पुग्छ । र, यसै कारण पनि दमका बिरामीहरु जाडोयाममा बढी देखिन्छन् ।

यसरी हुने वायुप्रदूषण विशेषगरी साँझपख र बिहानको चिसो हावामा बढी हुने भएकाले सकेसम्म यो समयमा घरबाहिर निस्कनु हँुदैन । र, यस्ता बिरामी विशेषगरी धुम्रपान सेवनबाट पनि टाढै रहनुपर्छ । यस्तै, पहिलेदेखि नै दम रोगबाट ग्रसित औषधि प्रयोग गर्ने व्यक्तिका लागि भने यो औषधि घटाउनका लागि उपयुक्त समय होइन । तसर्थ त्यस्ता बिरामीले चिकित्सकको निगरानीमा रही औषधि सेवनलाई निरन्तरता दिनुपर्छ ।

भ्याक्सिन लिने

नेपालजस्तो देशमा कमन फ्लुको संक्रमणको जोखिम उच्च रहने समय भनेकै पुष माघ हो । यो समयमा जाडोबाट बच्नका लागि यस्ता हामीले फ्लु सट(फ्लु विरुद्धको खोप) र निमोकोक्कल (कडा खालको निमोनिया विरुद्धको खोप) गरी दुई थरीका भ्यासिनहरु लिन सकिन्छ । यी खोपले ५० देखि ६० प्रतिशत छातीमा हुन सक्ने संक्रमणलाई कम गर्न सक्छ । यी खोपको मात्रा कति र कस्ता व्यक्तिले लिने भन्ने सन्दर्भमा विश्व स्वास्थ्य संगठनको सुझावलाई हेर्ने हो भने, फ्लु सटको डोज ६ महिनाभन्दा माथिका प्रत्येक व्यक्तिले वार्षिक रुपमा लिनुपर्छ । निमोकोक्कल खोपको डोज भने, हरेक ५ वर्षको अन्तरालमा श्वासप्रश्वास, मिर्गाैला र फोक्सो सम्बन्धि समस्या वा सुगर, प्रेसरजस्ता दिर्घरोग भएका ५० वर्षभन्दा माथिका समूहले ६५ वर्षको उमेरसम्म लिन सकिन्छ ।

६५ वर्ष कटेका समूहको हकमा भने १ पटक लगाए पुग्छ । यी भ्याक्सिनको अर्काे फाइदा के छ भने, भ्याक्सिनको डोज लिएको व्यक्ति इन्फ्लुएन्जा संक्रमणको सिकार भएता पनि सो व्यक्तिमा अक्सिजनको कमी भएर आईसियुमा भर्ना गर्नु पर्ने सम्भावना एकदमै न्युन रहन्छ ।

प्रस्तुतिः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ