×
२०७७ फागुन १९, बुधबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठजनस्वास्थ्यऋतुअनुसार कसरी गर्ने आहार सेवन ?

ऋतुअनुसार कसरी गर्ने आहार सेवन ?


सामान्यतयाः नेपालीहरु खानपिनको विषयमा खासै ध्यान दिदैनन् । अझ घुमघाम, चाडपर्व तथा अन्य समारोहमा हेर्ने हो भने प्रत्येकले आफ्नो स्वास्थ्य क्षमता भुलेरै खानपिन गरिरहेका हुन्छन् । जसले गर्दा शरीरमा विभिन्न समस्या उत्पन्न गर्ने सम्भावना उच्च रहन्छ । तसर्थ, हाम्रो खानपिनका कारण शरीरमा कुनैपनि समस्या नदेखियोस् भन्नका लागि आयुर्वेद चिकित्सा प्रणालीअनुसार प्रत्येक व्यक्तिले कुनैपनि आहार एवं विहारको पालना गर्नुपर्छ ।

आयुर्वेद आयु (जन्मदेखि मृत्युसम्मको प्रक्रिया)को वेद (विशेष विज्ञान आयुको कार्यरकारण सिद्धान्तको विज्ञान) हो । आयु स्थायी छैन, यो हरक्षण नाश भैरहन्छ । यद्यपि, आयुर्वेदले निश्चित नाश हुने आयुलाई कसरी गुणात्मक र क्रियात्मक बनाउन सकिन्छ भन्ने सिद्धान्तको प्रतिपादन गर्छ । आयुलाई गुणात्मक र क्रियात्मक बनाउन शरीरको कोषियस्तर (अभििगबिच भिखभ)िदेखि नै कार्य हुनुपर्छ र त्यसको लागि गुणात्मक आहार—विहारलाई आयुर्वेदमा यज्ञको दर्जा दिइएको छ ।

आयुर्वेदले भनेको तीन उपस्तम्भ आहार, निद्रा र ब्रम्हचर्या (बुद्धिपूर्वक – लोभ एवं मोहमुक्त वुद्धिद्वारा गरिने कार्य) मध्ये आहार प्रथम हो ।

नच आहार समं किन्चित भैषज्यमुपलभ्यते ।

शक्यतेप्यन्न मात्रेण नरः कर्तुमनिरामयम् ।। (का.सं)

अर्थात्, आहारको तुलना कुनै औषधिसँग गर्न सकिदैन् । आहार—हित (उचित गुणस्तर), मित (उचित मात्रा) र काल आहार उचित समयमा सेवन गरिएको जुन आहारले शरीरलाई शक्ति प्रदान गर्नुको साथै मनलाई आनन्दित तुल्याउँछ) को सेवनले मात्रै मानिस रोग मुक्त हुन सक्छन् । सुक्ष्म रुपमा आयुर्वेदअनुसार प्रत्येक व्यक्तिले आफ्नो प्रकृति र देशअनुसार फरक—फरक आहारको सेवन गर्नु उत्तम हुन्छ, भनी निर्देशन गरिएको छ । गुणात्मक आहार—विहारको लागि आयुर्वेदमा दिनचर्या र ऋतुचर्याको वर्णन गरिएको छ ।

दिनचर्याले सामान्य रुपमा विहान उठेदेखि राति सुतुन्जेलसम्म गरिने आहार—विहारको बारेमा निर्देशन गर्छ भने ऋतुचर्याले ६ वटा ऋतुअनुसार व्यक्तिको कस्तो आहार—विहार निर्धारित हुनुपर्छ ? कुरा बुझाउँछ । आयुर्वेद चिकित्सा पद्धतिअनुसार मानिसको स्वास्थ्य अवस्था, पित्त र कफको अवस्थाले निर्णय गर्छ । यी तीनैको सम अवस्था नै व्यक्तिको स्वस्थ अवस्था हो । तसर्थ, स्वस्थ हुन चाहना राख्नेहरुले वात (ऊर्जाको उपयोगको लागि जिम्मेवार अंग), पित्त (शरीरमा ऊर्जा उत्पादन गर्नेका निम्ति जिम्मेवार अंग) र कफ (शरीरको ऊर्जा सञ्चय गर्नका लागि जिम्मेवार रहने पक्ष)लाई सम अवस्था राख्न दिनचर्या र ऋतुचर्याको पालनाबाहेक अरु कुनै विकल्प रहँदैन भन्ने कुरा बुझ्नु जरुरी रहेको छ ।

हाल वर्षा ऋतु सकेर शरद ऋतुको मध्य अवस्था हो । शरद ऋतु असोज महिनादेखि सुरु भएर कार्तिक महिनाको अन्तसम्म रहन्छ । यस ऋतुमा पित्त प्रकोप हुन्छ । पाँच प्रकारको पित्तमध्ये प्रमुख रुपले पाचक पित्त यस ऋतुमा अन्य समयमा भन्दा बढी सक्रिय हुन जान्छ । जसले गर्दा यस ऋतुमा शरीरमा प्राकृतिक रुपमा पाचनसम्बन्धी इन्जाईम्स र हार्मोन्सको कार्य असन्तुलन एवं गडबढी हुनपुग्छ । र, यसले पित्तको कार्य सम्बन्धिका विभिन्न समस्याहरु निम्त्याउने सम्भावना उच्च रहन्छ । यसकारण पनि हामीले आफूमा यस्तो समस्या नदेखियोस् भन्नका लागि पर्व विशेषको रुपमा नभई शरीरलाई उपयोगी र फाइदा गर्ने गरी ऋतुचर्या रुपमा आहार सेवन गर्नुपर्छ ।

शरद ऋतुको याममा पित्तलाई नियमन गर्ने किसिमको आहार गर्नुपर्छ । अर्थात्, यस समयमा पित्तलाई सम अवस्थामा राख्न –गुलियो, तितो, कषाय (टर्रो) स्वाद भएका खानाहरु बढी सेवन गर्नुपर्छ । जसले पित्तप्रकोप हुने सम्भावनालाई न्युन गराउन मद्दत गर्दछ । अर्थात्, यसका लागि घिरौला, लौका, परवल, मुंगको दाल, पुरानो चामल, सख्खर, दूध, घ्यु, जौ, गहूँ, अमला, हर्रो आदिजस्ता खाद्यवस्तु सेवन गर्नुपर्छ ।

यस्ता खानाले हाम्रो पाचन प्रणालीलाई समेत चुस्त गराउन मद्दत गर्दछ । जसले गर्दा रोग प्रतिरोधात्मक शक्ति सम अवस्थामा रहन्छ । किनकि, रोग प्रतिरोधात्मक शक्ति हाम्रो पाचन शक्तिमा निर्भर रहन्छ ।

यसैगरी, हाल कारोनाको सेरोफेरोमा जतिपनि प्रतिरोध क्षमता प्रणालीको कुरा गरिन्छ, ती सम्पूर्ण पाचन प्रणालीसँग सम्बन्धित रहेको छ । कोभिड—१९ को सन्दर्भमा, विश्व स्वास्थ्य संगठनले पनि मांसाहारको कम सेवन गर्ने सल्लाह दिइएको छ । किनकी बढी मांसाहारले मानिसको पाचन प्रणाली असन्तुलन हुन्छ । र, पछि गएर पाचन प्रणालीलाई असर गर्दै विभिन्न संक्रमण हुने सम्भावना बढ्न जान्छ । कुनैपनि व्यक्तिले खाएको खाना समयमै पच्छ र सो व्यक्तिलाई समयमै भोक लाग्छ भने उक्त व्यक्तिको प्रतिरोध क्षमता चुस्त रहेको छ भन्ने कुरा बुझिन्छ । जसले व्यक्तिलाई बाहिरी जीवाणुहरुको संक्रमणबाट अर्थात्, व्याक्टेरिया वा भाइरल इन्फेक्सनबाट बच्न तथा बचाउन मद्दत गर्दछ ।

यसैगरी, शरदमा पर्ने चाडपर्वपछि तिहार, छठ र अन्य मुख्य चाडपर्वसँगै विवाह, भोज भतेरजस्ता समारोहहरु पनि लस्करै आउँछन् । तसर्थ, त्यो समयमा व्यक्तिहरुले अत्याधिक मसालेदार, चिल्लो, पिरो, नुनिलो, अमिलोयुक्त खाना र शरीरलाई आवश्यकभन्दा बढी खाना एवं जाडरक्सीको सेवन बढी गर्ने गर्छन् । जुन स्वास्थ्यको दृष्टिकोणले पूर्ण रुपमा वर्जित रहेको छ । यस्ता खानेकुराहरुले प्राकृतिक रुपले पित्त अझै प्रकुपित हुन गई हाम्रो स्वास्थ्यलाई धेरै नै हानी पु¥याइरहेको हुन्छ । व्यक्तिको यस्तो बानीले गर्दा एकातिर व्यक्तिको पाचन प्रणालीमा असर त गर्छ नै, यसका साथै अर्कातर्फ यसले पाचन प्रणाली सम्वन्धी रोगहरु, छालाको रोगहरु, जोर्नीरोगहरु, रुघाखोकी र अन्य विभिन्न शारीरिक समस्याहरु समेत निम्त्याउँछ । तसर्थ, हामीले यस्ता समस्या ननिम्तयोस्, भन्नका लागि के खाने ? र, के नखाने? भन्ने सँगसँगै कसरी खाने? भन्ने विषयमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको छ । जुन निम्नानुसार, रहेको छः

  • प्रत्येक दिन बिहान खाली पेटमा मनतातो पानी आधा गिलास सेवन गर्ने । र, खाना खाएको २ घन्टापछि मात्रै एकदेखि डेढ लिटर पानी पिउने ।
  • खाना खादा आवश्यकभन्दा बढी वा इच्छाअनुसार नभई शरीरको भोकभन्दा अलिक कमै अनुरुप खाने । जस्तोः कुनै व्यक्तिलाई १ सय ग्राम खान इच्छा भए सो व्यक्तिले ९० ग्राममात्रै खाना उपभोग गर्ने ।
  • चाडपर्वमा व्यक्तिको अरुको करमा अलिअलि मात्रै भएपनि खाना खाइरहने बानी हुन्छ । अझ माछा मासुको सेवन गरिरहने हुन्छ । तसर्थ सो खाना नपचेसम्म अर्को खाना नखाने ।
  • भोक नलागेसम्म नखाने ।
  • अल्कोहलको सेवनबाट टाढै रहने ।
  • कम पिरो, कम नुनिलो, कम चिल्लो र कम मसालेदार खानाको सेवन गर्ने ।
  • खाएको खाना शरीरले राम्ररी पचाओस् भन्नका लागि आफ्नो क्षमताअनुसार नियमित शारीरिक व्यायाम गर्ने ।
  • र, शरीरमा केहि समस्या देखिए चिकित्सकको परामर्श लिने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार