२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यश्वासप्रश्वास रोग विशेषज्ञ डा. रवि महत : वायु प्रदूषणका तत्कालीन र दीर्घकालीन असर

श्वासप्रश्वास रोग विशेषज्ञ डा. रवि महत : वायु प्रदूषणका तत्कालीन र दीर्घकालीन असर


अहिले काठमाडौंलगायतका देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा उच्च छ । हामी प्रत्येक पटक श्वास लिंदा आधा लिटरजति हावा तानिरहेका हुन्छौं। प्रदूषित हावामा धुलोको कणहरु मिसिएको हुन्छ । जुन हाम्रो फोक्सोमा पुग्ने गर्छ।

हावाभित्र फोक्सोमा पुग्दा प्रदूषण पनि भित्र जाने भयो । हावामा भएका ग्याँसहरु सबै फोक्सोमा जान्छ। यसले  विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याइरहेको हुन्छन् । वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् ।

तत्कालीन असर

१. आँखा पोल्ने
२. नाक चिलाउने
३. घाँटी खसखस गर्ने
४. खोकी लाग्ने जस्ता समस्या ।

यस्तै, यसले श्वासनलीमा असर गर्यो भने ज्वरो आउने पनि हुन्छ । अझ बढी समस्या भनेको यसले निमोनिया पनि गराउन सक्छ।

पहिलादेखि नै श्वासप्रश्वाससम्बन्धित रोग भएमा त्यसलाई पनि तत्काल असर गर्ने गर्छ।

दीर्घकालीन असर

हावामा रहेका प्रदूषणको कणको आकारअनुसार असर गर्ने गर्छ। जति सानो कण छ, त्यति फोक्सोमा भित्र छिर्छ। पीएम टु प्वाइन्ट फाइभ (२.५) सम्मको कण रगतको धमिनी नसाहरुमा समेत पुग्न सक्छ। जसले दीर्घकालीन स्वास्थ्य समस्या पनि निम्त्याउँछ ।

प्रदूषणबाट हुने दीर्घकालीन समस्या भनेको दम नै हो। यसले असर पार्ने भनेको फोक्सो नै हो। प्रदूषण, धुवाँधुलोले हाम्रो शरीरलाई कमजोर पार्दै जान्छ।

१. हृदयघात
२. उच्चरक्तचाप गराउने
३. मस्तिष्कघात हुने
४. मुटुको चालको सन्तुलन बिग्रिने आदि।

प्रदूषण बढी मात्रामा शरीरमा प्रवेश गर्दा फोक्सोको क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ। युवाहरुमा प्रदुषणले गर्दा कणमा केमिकलहरु दीर्घकालसम्ममा जाँदा घाँटीको क्यान्सर पनि हुने देखिन्छ।

बालबालिका र गर्भवतीका लागि बढी खतरा

अहिलेको प्रदूषण बालबालिका र गर्भवती महिलाहरुका लागि बढी खतरानाक छ । यसले उनीहरुलाई बढी असर गर्छ।

त्यसकारण वायु प्रदुषणबाट बच्नका लागि विशेष रुपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्दछ। शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने वायु प्रदुषणले गराउँछ।

यसबाट कसरी जोगिने ?

प्रदुषण बढ्ने विशेष समय भनेको विहान र साँझ हो। यो समय सकेसम्म घर बाहिर ननिक्लने । सकेसम्म प्रदुषण कम हुने समय दिउँसो निस्कने।

निक्सनै परेमा मास्कको प्रयोग गर्ने। सर्जिकल मास्क सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनु पर्छ। यसले ९५ प्रतिशत सुरक्षा दिने हुँदा यसले केही हदसम्म प्रदूषण कम गर्न सक्छ।

वायु प्रदूषण नियन्त्रण कसरी गर्ने ?

बढ्दो प्रदूषणलाई वर्तमान अवस्थामा नियन्त्रण गर्न अप्ठ्यारो परिस्थिति छ। तपाईं हामीले मात्र सक्दैनौं।

यसका लागि विभिन्न किसिमको धुँवा र विभिन्न शक्तिहरुको कारणले प्रदूषण बढेको हो। बायो शक्ति, कलकारखाना, मोटरहरुबाट नसिक्ने धुँवा, धुलो प्रमुख कारण हो।

यसका लागि सकेसम्म बिजुलीबाट चल्ने प्रविधि ल्याउनु आवश्यक छ। पेट्रोल डिजेलको खपत कम गराएर, बिजुलीको खपत बढाउन सकिन्छ। यसले बाहिरको प्रदूषण घटाउन भूमिका खेल्छन् ।

भित्रको प्रदूषण भनेको खाना पकाउँदा आउने धुँवा विशेष हो। यसले घरमा बस्ने बालबालिका र महिलाहरुलाई प्रत्यक्ष असर गर्छ। यसको लागि सरकारको नीति, समाज, समुदायसबै एक जुट नभई प्रदूषण नियन्त्रण गर्न कठिन छ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ