२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ पेटमा ग्यास भरिने, डकार आउने र धेरै पाद जाने समस्या ? कसरी बच्ने ?

किन हुन्छ पेटमा ग्यास भरिने, डकार आउने र धेरै पाद जाने समस्या ? कसरी बच्ने ?


भुँडीमा ग्यास भरिने र अप्ठ्यारो नै पर्ने गर दिशा गर्ने ठाउँबाट ग्यास निस्किने (पाद जाने) समस्याले धेरै जना ग्रसित भएपनि हामी यसबारे खुलेर कुरा गर्न हिच्किचाउँछौं । हामी सबैको भुँडी र आन्द्रामा थोरै-धेरै मात्रामा ग्यास हुने नै गर्दछ ।

त्यस ग्यासले बिरामीलाई पेट फुल्लिएको जस्तो अनुभव हुन सक्छ, धेरै डकार आउन सक्छ, पेट दुख्न सक्छ वा पाद जान सक्छ । पेटमा ग्यास भरिएको अनुभव हुँदा, प्रायलाई डकार आएर वा पाद आइसकेपछि केही कमी भएको अनुभव हुन्छ । केही व्यक्तिहरुको भुँडी वा आन्द्रा अति संवेदनशील हुन्छ र त्यसैले थोरै ग्यास भरिदा पनि धेरै अप्ठ्यारो अनुभव गर्छन् ।

लक्षणहरु:

डकार (belching) आउनु एउटा सामान्य प्रक्रिया हो र हामीले निलेको हावा को मात्रा भुँडीमा अत्याधिक हुँदा डकार आउने गर्छ। हामीले निलेको हावा या त डकार गरेर बाहिर फालिन्छ या फेरी सानो आन्द्रा अनि ठूलो आन्द्राको बाटो हुँदै पाद (flatulence) बनेर बाहिर निस्किन्छ।

पेटमा ग्यास भरिदा बिरामीलाई अप्ठ्यारो अनुभव हुन्छ। केही बिरामीहरु  भुँडीमा थोरै ग्यास भरिदा पनि धेरै अप्ठ्यारो भएको (bloating) अनुभव सुनाउनु हुन्छ। दिशा गर्ने बाटोबाट निस्किने ग्यासको कारण या त हामीले निलेको ग्यास हुन्छ या हामीले खाएको खाना पच्दा त्यसबाट उत्पन्न ग्यास हुन्छ।

कारणहरु:

हामी सबैले खाना निल्ने बेलामा केही मात्रामा हावा पनि सँगसँगै निल्ने गर्छौ। केही व्यक्तिहरु जसले चुइगम वा चुसेर खानी क्यान्डी मिठाइहरु खाने गर्छन्, उनीहरु बढी मात्रा मा हावा पनि निल्ने गर्छन् । केही कार्बोनेटेड (carbonated) चिसो पेय पदार्थहरु, सोडा अनि बियरले पनि बढी मात्रामा ग्यास बनाउँछन् । केही मानसिक रोगजस्तै एन्जाइटी (anxiety) ले ग्रसित बिरामीहरु बढी मात्रामा हावा निल्ने गर्छन् ।

केही खाने कुराहरु हाम्रो सानो आन्द्राले पचाउन असमर्थ हुन्छ । यी खाने कुराहरु नपचीकन सानो आन्द्रा हुँदै ठूलो आन्द्रासम्म पुग्छन् र त्यहाँ भएका किटाणुहरुले यी खाने कुरालाई पचाउन कोसिस गर्दा हाइड्रोजन (hydrogen) र कार्बोनडाइअक्साइड (carbondioxide) ग्यास उत्पन्न हुन्छ । यस्ता खाने कुराहरुका केही उदाहरण हरु हुन् : बन्दागोवी, फूलगोवी, ब्रोकाउली, गेडागुडीहरु, चोकर आदि हुन् ।

केही बिरामीलाई दूध, आइसक्रिम र चिज (cheese) खाँदा ग्यास बन्ने ,पेट दुख्ने हुन्छ। यस्ता बिरामीको आन्द्रामा दूध पचाउने इञ्जाइम ल्याक्टोज (lactase) को कमी हुन्छ। ग्यास बन्नुको अर्को कारण सानो आन्द्रामा किटाणुहरुको संक्रमणले गर्दा हुन्छ, जसलाई ब्याक्टेरिअल ओभरग्रोथ (bacterial overgrowth)  भनिन्छ । अनि अन्तमा दिशा सारो हुने र टाइममा दिसा नहुनेलाई पनि पेट फुल्लिएको अनुभव हुन सक्छ।

कस्ता बिरामीहरुलाइ ग्यास बन्ने जोखिम हुन्छ?

१. माथि उल्लेखित खानेकुराहरु र पेय पदार्थ सेवन गर्ने व्यक्तिहरु
२. इरिटेबल बावेल सिन्ड्रोम (irritable bowel syndrome)  भएका बिरामीहरु
३. पेटको अप्रेसन गरेका बिरामीहरु

निदान

– ग्यास्ट्रिकको शंका लागेका व्यक्तिहरुलाई इन्डोस्कोपी गर्ने गरिन्छ ।
– ल्याक्टोज इन्टोलेरेन्स (lactose intolerance)को शंका लागेमा दूधले बनेका पदार्थ बन्द गरेर हेरिन्छ ।
-सानो आन्द्रामा कीटाणुको संक्रमण पत्ता लाउन हाइड्रोजन ब्रेथ टेस्ट (hydrogen breath test) गरिन्छ ।
-धेरै मात्रामा पाद जाने बिरामीहरुले  दिनभरिमा कति चोटि ग्यास जान्छ र कस्ता खाने  कुरा खादा धेरै ग्यास जान्छ भनेर ख्याल राख्नु पर्छ ।
-दिनभरमा २० चोटीसम्म ग्यास जानुलाई नर्मल मानिन्छ ।

उपचार

१. चिसो पेय पदार्थ (कार्बोनेटेड), सोडा र बियरको सेवन बन्द गर्नुपर्छ ।
२. फूलगोबी, पत्तागोबी, चोकर, गेडागुडी, ब्रोकाउलीको सेवन बन्द गर्नुपर्छ ।
३. दूध र दूधबाट बनेका परिकारहरु खानु हुँदैन् ।
४. चुइङ्गगम र क्यान्डी मिठाइ खान हुँदैन् ।

कुन खाने कुराले गर्दा पेट मा ग्यास बनेको हो भनेर पत्ता लाउन बिरामीहरुले एक-एक गरी यी माथि उल्लेखित कुराहरु बन्द गर्नुपर्छ ।

सिमेथिकोन नाम गरेको औषधीको सेवनले ग्यास कम गर्ने भनेर बजारमा भित्रिए पनि त्यति प्रभावकारी चाहिँ देखिएको छैन ।  प्रयोगमा आएका अरु औषधीहरु जस्तै: चारकोलको ट्याब्लेट, बिस्मुथ सब्सालिसैलेट, अल्फा डी ग्लासिटोसाइडेज (alpha d galactosidase)  जस्ता औषधीले केही बिरामीलाई फाइदा भएको देखिएको छ |

इरिटेबल बावेल सिन्ड्रोम भएका बिरामीलाई ग्यासले गर्दा पेट दुखाइबाट डाइसैक्लोमिन वा हायोसमिनको उपचारले ठिक हुन्छ। ब्याक्टेरियल ओभर ग्रोथ भएर ग्यासको समस्या भएकालाई एन्टीबायोटिकको उपचारले ग्यास कम गर्न सकिन्छ। यी सबै खाने कुरा बार्दा पनि ग्यासको समस्या रहेमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ