२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. आशिका साहको सल्लाह : जाडोमा स्वास्थ्य समस्याबाट बच्न गर्नुपर्ने ६ कुरा

डा. आशिका साहको सल्लाह : जाडोमा स्वास्थ्य समस्याबाट बच्न गर्नुपर्ने ६ कुरा


मौसम परिवर्तनसँगै व्यक्तिहरुमा विभिन्न किसिमका समस्याहरु देखा पर्न सक्छन् । अझ हाल बाहिरी वातावरणमा बढ्दो क्रममा रहेको चिसोका कारण व्यक्तिमा रुघाखोकी, दम, भाइरल ज्वरो, शरीरका विभिन्न भागहरु फुल्लिने तथा सुन्निने, हातगोडा फुट्ने, चिसो लाग्ने र यसैका कारण विभिन्न किसिमका फ्लुहरु समेत देखिन सक्छ ।

बाहिरी वातावरणसँग हाम्रो शरीरको तापक्रम नमिलेको खण्डमा व्यक्तिमा यस्ता समस्याहरु देखा पर्दछन् । तसर्थ यस्ता समस्या देखा नपरोस् भन्नका लागि हामीले आवश्यक विभन्न सजगताहरु अपनाउनु पर्दछ ।

जाडोयाममा चिसोबाट बच्नको निमित्त एसी, हिटर तथा घाम ताप्ने कुरा त छदैंछ । यसबाहेक पनि हामीले जाडो याममा चिसो नलागोस् भन्नका निमित्त विशेषगरी आफ्नो क्रियाकलाप तथा घरेलु उपायहरु अपनाउनु उत्तम मानिन्छ ।

चिसो लाग्न तथा यसबाट लाग्ने रोगहरुबाट जोगिन ध्यान पु¥याउनुपर्ने पक्षहरु

कपडा

जाडो महिनामा बच्नको निमित्त सर्वप्रथम हामीले आफ्नो लगाउने कपडामा ध्यान दिनु पर्दछ । यस समयमा हामीले हाम्रो शरीर गुम्सिने कपडाभन्दा पनि शरीर न्यानो राख्ने कपडालाई बढी प्राथमिकता दिनु पर्दछ । त्यसैले यसको निम्ति हामीले सकेसम्म शरीरको भित्री भागमा प्राकृतिक सुतीको कपडा लगाई बाहिर न्यायो दिने अन्य कपडाहरु लगाउन सकिन्छ । जाडोयाममा हामीले विशेषगरी शरीरका प्रत्येक भाग ढाकिने गरी कपडाहरुको प्रयोग गर्नुपर्दछ ।

खाना

माथि उल्लेख गरेजस्तै हाम्रो शरीरको तापक्रम र बाहिरी तापक्रम नमिलेको खण्डमा हामीलाई चिसाले सताउँछ । तुलनात्मक रुपमा हामीलाई जाडोयाममा बढी भोक लाग्ने र खाना रुच्ने हुन्छ । तसर्थ, चिसोबाट बच्न प्रयोग गरिने अर्को उपयुक्त तरिका भनेको हामीले खाने ताजा तथा स्वच्छ खाना हो । हामीले शरीरलाई भित्रदेखि नै न्यायो बनाउनको निम्ति पनि खानाको प्रयोग गर्न सकिन्छ । शरीर न्यायो बनाइ राख्नको निमित्त हामीले चियाको सट्टामा ग्रीन टी, दुध, सुप, तातो पानी तथा मनतातो खानाहरुको पनि प्रयोग गर्नुपर्दछ । यसका साथै आफ्नो खानामा शरीरलाई न्यायो राखिराख्न मद्दत गर्ने मेथी, मरिच, जाइफल, जिरा, अदुवा र लसुनजस्ता घरेलु खानाहरुको समावेश गर्नु उत्तम रहन्छ ।

सानो ठाउँमा धेरै व्यक्ति नबस्ने

जाडो महिनामा चिसोबाट जोगिनको निम्ति भनेर एकै ठाउँमा धेरैजना व्यक्तिहरु कोचिएर पनि बस्ने गरेको पाइन्छ । तर, यो विल्कुल गलत हो । जाडोको समयमा होस् वा अन्य हाम्रो शरीरलाई सदैव समान रुपमा हावा तथा अक्सिजनको आवश्यक पर्दछ । सानो ठाउँ तर धेरै व्यक्तिहरु एकै ठाउँमा कोचिएर बस्दा यसले शरीरलाई हावाको प्रवाहमा अवरोध ल्याउँछ । जसकारण व्यक्तिहरुमा निस्सासिने र गुम्सिने समस्याहरु देखा पर्छन् । अझ, दम रोग भएका व्यक्तिहरुको निम्ति भने यो शतप्रतिशत हानिकारक नै हुन जान्छ ।

शारीरिक रुपमा सक्रिय रहने

शरीर तातो बनाई राख्नको निमित्त हामी शारीरिक रुपमा सक्रिय रहिरहनु पर्दछ । शरीर निस्क्रिय रहेको अवस्थामा शरीर नतातिने भएकोले हामीलाई अझ बढी चिसोको अनुभव हुन सक्छ । त्यसैले हामीले जाडोमा आफ्नो शारीरिक सक्रियता बढाएर पनि जाडोबाट जोगिन सकिन्छ । यसको निमित्त हामीले विभिन्न किसिमका योगा, शारीरिक व्यायाम, कसरत तथा खेलकुदहरुमा पनि संलग्न हुन सकिन्छ ।

घाम आउने तथा न्यायो ठाउँमा बस्ने

जाडोयाममा बढी चिसाको कारण कतिपय ठाउँ चिसो तथा ओसिलो हुने हुन्छ । त्यसैले हामीले त्यस्ता चिसो आउने ठाउँमा बस्नु हुँदैन । यसका लागि हामीले घामको प्रकाश छिर्ने तथा उज्यालो आउने ठाउँमा बस्नु पर्दछ । यसका साथै यस समयमा सकेसम्म हिटर, एसी तथा भेन्टिलेटरको उपलब्ध भएको घरलाई बस्नको निमित्त उपयुक्त मानिन्छ ।

हट ब्यागको प्रयोग

चिसो ब्यक्तिहरुको शरीरका विभिन्न भागहरु फुल्लिने र सुन्निने हुन्छ । यसको लागि हामीले हटब्यागको प्रयोग गर्न सकिन्छ । सुन्निएको भागहरुमा हटब्यागले सेक्दा सुन्निनमा कमी आई यसले शरीरलाई न्यायो पनि बनाउन मद्दत गर्दछ ।

माथि उल्लेखित उपायहरु अपनाउदा अपनाउदै पनि कतिपयमा चिसोका कारण विभिन्न संक्रमणहरु देखा पर्न सक्छन् । यसका साथै कोहि ब्यक्तिहरुमा भने शरीरको विभिन्न भागहरु नचल्ने, शरीरको रंग परिवर्तन हुदै जाने, शरीर निलो भएर जाने र अत्यन्त सुन्निएर आउने जस्ता परिवर्तनहरु देखा पर्दछ । त्यस्तो समयमा भने त्यस्ता ब्यक्तिहरुले तुरुन्तै सम्बन्धित चिकित्सकको सल्लाह लिनु पर्दछ ।

हेल्थआवाज अर्काइभबाट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ