२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहृदयघात के हो ? यसबाट कसरी बच्न सकिन्छ ?

हृदयघात के हो ? यसबाट कसरी बच्न सकिन्छ ?


विश्वव्यापी औद्योगीकरण र मानिको जीवनशैलीमा भइरहेको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको छ । हृदयघात अर्थात हार्टअट्याक मुटुरोगअन्तर्गत पर्ने प्रमुख रोग हो । मुटुको मासंपेशीमा रगतको सञ्चार गर्ने रक्तनली सतप्रतिशत् अवरोध भई उक्त मासंपेशीले रक्तनलीमार्फत शरीरका विभिन्न भागहरुमा रगत पम्प गर्न नसक्नु अर्थात मासंपेशीको मृत्यु हुनु नै हृदयघात हो ।

साधारणतयाः शरीरका विभिन्न भागहरुमा रगत पुर्‍याउने प्रमुख अंग–मुटु स्वयंले रगत नपाएको अवस्था नै हृदयघात हो । यस रोगबाट ग्रसित बिरामीले समयमै उपचार नपाउँदा धेरैले ज्यान गुमाएका कैयौँ उदाहरणहरु जताततै देख्न र सुन्न सकिन्छ । मुटुरोग प्राणघातक भएतापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ । तसर्थ, समयमै हृदयघातबाट बच्नका लागि यसका कारणहरु, लक्षणहरु र उपचार विधिहरुबारे बुझ्न अत्यावश्यक छ ।

ब्लड प्रेसर अर्थात रक्तचापबारे त सबैले सुन्नुभएकै होला । प्रेसर नाप्दा सिस्टोलिक र डायस्टोलिक गरी दुवै आधारमा नापिन्छ । जस्तैः नर्मल ब्लडप्रेसर १२०/८० एकाई हुन्छ । जहा सिस्टोलिक ब्लड प्रेसर १२० एकाई र डायस्टोलिक ब्लड प्रेसर ८० एकाई हुन्छ । सामान्यतयाः मुटु खुम्चिँदाको अवस्थामा सिस्टोल र फुक्दाको अवस्थामा डायस्टोल हुन्छ । यति धेरै सिस्टोल डायस्टोल भनिरहनुको कारण के हो भने– अन्य सम्पूर्ण अंगहरूले सिस्टोलको बेलामा रगत पाउँछन् भने मुटु आफू स्वयंले चाँहि डायस्टोलको बेलामा रगत पाउँछ ।

मुटुलाई रगत पुर्‍याउने नली कोरोनरी धमनी (रक्तनली दुई प्रकारको हुन्छ एउटा हो धमनी जसले शुद्ध रगत बोक्छ र अर्को हो शिरा जसले अशुद्ध रगत बोक्छ) भनिन्छ । जुन मुख्यतयाः दायाँ र बायाँ गरी दुई वटा हुन्छन् । यी दुई धमनीका पनि आ—आफ्नै हाँगाहरु हुन्छन् ।

हाँगाहरुमा विभाजन नहुँदैं धमनीमा पूर्ण अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने स—साना हाँगाहरुमा अवरोध भएर भएको हृदयघात कहिलेकाहीँ मानिसलाई थाहा नहुन पनि सक्छ ।

हृदयघात हुन सक्ने कारक तत्वहरु धेरै छन् । तर, केही कारक तत्वहरुमा त्यस्ता छन्, जसमा सुधार गरेमा अर्थात परिवर्तन ल्याएमा हृदयघात हुनबाट जोगिन सकिन्छ ।

उच्च रक्तचाप
रगत बग्ने नलीको भित्तामा थेग्रो जम्दा रक्तनली साँघुरिन्छ र ब्लड प्रेसर बढ्छ । जसको कारण रक्तनलीमा खराबी आई मुटुमा रगतको कमी हुन्छ र हृदयघात देखा पर्दछ ।

उच्च कोलेस्ट्रोल
सामान्यतयाः सिरममा (LDL ( Low density cholesterol) कोलेस्ट्रोलको मात्रा बढ्नुले हृदयघातको सम्भावना बढाउँछ ।

मधुमेह
मधुमेह अर्थात चिनी रोगले रक्तचाप अनि कोलेस्ट्रोल बढाउँछ, जसका कारण मधुमेह (Type-2 diabetes) भएको मानिसमा हृदयघात हुने सम्भावना धेरै हुन्छ ।

धुम्रपान
चुरोटमा टार, कार्बनमोनोअक्साइड, निकोटिन नामक रसायन र अन्य थुप्रै हानिकारक रसायन मिसिएको हुन्छ, जसले गर्दा रक्तनलीको भित्ता मोटो हुन्छ, सुन्निन्छ, फुलिन्छ अनि विभिन्न तत्वहरु मिसिई थेग्रो बन्छ र उक्त थेग्रो मुटुका रक्तनलीमा गई अवरोध पु¥याउने भएकाले हृदयघात हुने सम्भावना रहन्छ ।

मोटोपना
अत्याधिक मोटोपना हुँदा सिरम कोलेस्ट्रोलको मात्रा धेरै हुने हुन्छ । जसको कारणले गर्दा रक्तनलीमा पनि बोसो जम्मा भई रक्त सञ्चारमा अवरोध भएर हृदयघात हुन सक्छ ।

व्यायामको कमी
शारीरिक व्यायामको कमी भएमा मोटोपना बढ्ने र मोटोपनाले मुटु रोग निम्त्याउन सक्छ ।

मानसिक तनाव
मानसिक तनाव, स्ट्रेस धेरै लिँदा एड्रिनालीन भन्ने हर्मोन निस्कन्छ, जसले गर्दा अचानक रक्तचाप बढ्ने र मुटुको धड्कन बढ्न थाल्छ । रक्तचाप लामो समयसम्म बढिरहँदा रक्तनलीहरू साघुँरिने हुँदा र प्लेटलेट पनि मिसिदा थेग्रो बन्ने भएकाले रक्तनली अवरोध भई हृदयघात हुन सक्छ ।

विलासी जीवनशैली
विलासी जीवन जिउने व्यक्तिको रक्तनलीमा अनावश्यक बोसो जम्मा हुने सम्भावना रहेकाले अन्ततः हृदयघात हुन सक्छ ।

यसबाहेक अन्य केही कारक तत्वहरु पनि छन् । जसलाई हामी चाहेर पनि केही सुधार गर्न सक्दैनौँ अर्थात परिवर्तन ल्याउन सक्दैनौं ।

उमेर
उमेर बढ्दै जाँदा हृदयघात हुने सम्भावना पनि बढ्दै जान्छ । ४०–५० वर्ष उमेर समूहमा हृदयघात हुने सम्भावना कम उमेर समूहमा भन्दा ५ गुणा बढी हुन्छ ।

पुरूष
पुरुषलाई हृदयघात हुने सम्भावना बढी हुन्छ तर महिनावारी पश्चात भने महिलालाई पनि हृदयघात हुने सम्भावना पुरूषलाई जत्तिकै नै हुन्छ ।

वंशाणुगत
परिवारमा कसैलाई हृदयघात भएको छ भने उसको सन्तानलाई पनि हृदयघात हुने सम्भावना रहन्छ ।

जाति
हृदयघात दक्षिणपूर्वी एसियामा बसोवास गर्ने जातिमा धेरै देखिने गर्दछ ।

अब हृदयघात भएको भनेर कसरी थाहा पाउने ?

पहिले त यसका लक्षणहरू बुझन जरूरी छ । हृदयघात हुनु अगाडिको अवस्थालाई एन्जाइना भनिन्छ, जुनबेला सामान्य लक्षण मात्रै देखा पर्दछ । जस्तैः केही काम गर्दा, व्यायाम गर्दा, उकालो चढ्दा, मानसिक तनाव बढ्दा इत्यादिमा १५ सेकेण्डदेखि १५ मिनेटसम्म छातीको बिच भागमा अथवा छातीको देब्रे भागतिर भारी हुने, ढुंगाले थिचेजस्तो अनुभव हुने, स्वाँ—स्वाँ हुने, देब्रे भाग अथवा च्यापूतिर दुखाइ सरेको महसुस हुने तर केहीबेर आराम गर्नासाथ सन्चो हुने । तर, यी लक्षणहरू देखा परेमा तुरुन्तै अस्पताल गई जचाउनु पर्दछ । यदि नजचाएमा मुटुको मांसपेशी मर्न सक्छ र हृदयघात हुन्छ ।

हृदयघात हुँदा देखा पर्ने केही लक्षणहरू

१. छात्तीको बीच भागमा अथवा छात्तीको देब्रे भागतिर ढुंगाले थिचेजस्तो, सहनै नसक्ने गरी दुःखाइ महसुस हुने ।
२. देब्रे भाग अथवा च्यापू, घाँटी, काँध, दाँत अर्थात ढाडँतिर दुःखाइ सरेको महसुस हुने ।
३. टाउको दुख्ने, कमजोर, थकित महसुस हुने तथा बेहोस हुने ।
४. श्वास फेर्न गाह्रो हुने ।
५. चिटचिट चिसो पसिना आउने ।
६. वाकवाक लाग्ने
७. मुटु पोलेको महसुस हुने तथा अपच हुने इत्यादि ।

उपचार विधि

सामान्यतयाः गाउँघरतिर यी लक्षणहरू देखा पर्दा नजिकैको अस्पताल लग्दा चिसोले गर्दा हो अर्थात ग्यास्ट्राइटिसले गर्दा हो भनेर सामान्य प्यान्टाप्राजोल दिने प्रचलन ज्यादै छ । जसको कारणले गर्दा बिरामीले समयमै उपचार नपाउँदा डबल भेसल डिजिज हुन्छ अर्थात दुई वटा कोरोनरी धमनीमा थेग्रो जम्मा भई मुटुको मासंपेशीको मृत्यु हुन्छ । जसका कारण बिरामीको ज्यानै जान सक्छ । यति भन्दै गर्दा नजिकका अस्पतालका स्वास्थ्यकर्मीको आलोचना गर्न भने पक्कै खोजेकी होइन् ।

हृदयघातको लक्षण अलिअलि ग्यास्ट्राइटिसका लक्षणसँग पनि मिल्ने भएकाले झुक्किनु सामान्य हो । तर, त्यो भन्दैमा गलत डायग्नोसिस गर्नुभन्दा लक्षणको कारण पत्ता लगाउनतर्फ ध्यान दिनु अत्यावश्यक छ । जसका लागि जतिसक्दो चाँडो उचित पूर्वाधारसहितको मुटु अस्पताल गई ‘ईसिजी’ (ECG- Electrocardiogram) गराउनु पर्दछ । ईसीजीमा केही समस्या देखिएमा वा नदेखिएमा पनि टिएमटी (TMT- treadmill test) अर्थात इकोकार्डियोग्राफी (Echocardiography) गर्नु पर्दछ ।

यदि इकोकार्डियोग्राफी मा केही गडबड देखिएमा कोरोनरी एन्जियोग्राफी (CAG– coronary angiography) गर्नुपर्दछ। तर यदि इकोकार्डियोग्राफी मा गडबड देखिएको छैन तर बिरामीलाई मुटुरोगको लक्षणहरू छन् भने पनि कोरोनरी एन्जियोग्राफी (CAG- coronary angiography) गर्नु पर्दछ । कोरोनरी एन्जियोग्राफीबाट मुटुका रक्तनलीहरुमा अवरोध के कति छ भनेर छुट्याउन सकिन्छ । जब मुटुको धमनीमा ७० प्रतिशतभन्दा बढी अवरोध भएमा एन्जियोप्लास्टी  (angioplasty) अथवा ‘सि.ए.बी.जी.’ (CABG- Coronary artery bypass graft) गर्नु पर्दछ । यदि ७० प्रतिशतभन्दा कम मात्रै अवरोध भएमा नियमित चेक जाँच र औषधि सेवनका साथसाथै जीवनशैलीमा परिवर्तन ल्याउनु पर्दछ । तर, बिरामीले समयमै उपचार नपाउँदा डबल भेसल डिजिज अर्थात दुई वटा कोरोनरी धमनीमा थेग्रो जम्मा भई मुटुको मासंपेशीको मृत्यु हुन्छ ।

अतः हृदयघात एक प्राणघातक रोग हो, जसको सामान्य लक्षणहरूको बारेमा पनि जनचेतना फैलाउन नसकेकै कारणले गर्दा समयमै रोगको निदान गर्न निकै कठिन भएको छ । साँचो रूपमा भन्नुपर्दा एकदम छात्ती दुःखेको छ अनि देब्रे हर अर्थात् देब्रे पाखुरा, हाततिर दुःखाइ सरेको छ भने तुरुन्तै अस्पताल गएर मुटु रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । यो कुरा अरूलाई पनि बुझाउनुपर्छ ।

लक्षण देखा नपरेका आम मानिसहरूमा (हाम्रै घरपरिवारका सदस्यहरु, छिमेकी तथा देशका कुना कन्दरामा बस्नु हुने आमाबुवा, दाजुभाइहरुमा) उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोललाई समयमै नियन्त्रणमा राख्नुपर्छ भन्ने बारेमा धेरैभन्दा धेरै चेतना फैलाउन सकेमा पनि धेरै हृदयघात कम गर्न सकिन्छ । साथसाथै, बेला—बेला रक्तचाप जाँच गराउनु पर्दछ र रक्तचाप बढेमा औषधि सेवन गर्नुपर्दछ । त्यसैगरी, उच्च कोलेस्ट्रोल र मधुमेह नियन्त्रण गर्न उपयुक्त औषधि सेवन गर्नु पर्दछ । नियमित शारीरिक व्यायाम गर्नुपर्दछ । धुम्रपान र मदिरापान सेवन नगर्ने साथै केही समस्या पर्नासाथ तुरुन्त स्वास्थ्य चौकी जानुपर्दछ । यी कुराहरु बुझ्न सकिएमा हृदयघातबाट कसैले पनि ज्यान गुमाउनु पर्दैन् ।

(अधिकारी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । )


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ