२०८२ माघ ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. केशव बुढाथोकीको सल्लाहः मुटु रोग किन हुन्छ, कसरी बच्ने यसबाट ?

डा. केशव बुढाथोकीको सल्लाहः मुटु रोग किन हुन्छ, कसरी बच्ने यसबाट ?


काठमाडौं—मुटु रोग विशेषज्ञ डा. केशव बुढाथोकीले मुटु रोगलाई विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य चुनौतीको भएको बताएका छन् । ह्याम्स अस्पतालमा मुटु रोग विशेषज्ञका रुपमा सक्रिय डा. बुढाथोकीले मुटु रोगबाट जोगिन जीवनशैली परिवर्तन आवश्यक रहेको बताए ।

डा. बुढाथोकीले मुटु रोग र यसबाट बच्न सक्ने उपायबारे विस्तृतमा जानकारी दिएका छन् ।

के हो मुटु रोग ?

मुटु तथा मुटुबाट रगत प्रवाह गर्ने नली र तिनलाई घेरेका झिल्लीहरूमा समस्या देखिएमा त्यसलाई हृदय रोग भनिन्छ । मुटु रोग अहिले विश्वभर नम्बर–वन किलरमा मानिन्छ ।

सन् २०२२ को विश्वव्यापी सर्वेक्षणअनुसार करिब १ करोड ९८ लाख मानिसको मृत्यु कार्डियोभास्कुलर रोगका कारण भएको छ । नेपालजस्ता विकासशील देशमा मुटु रोगको जोखिम तीव्र गतिमा बढिरहेको छ ।

मुटुको रोगले धेरैजसो समय दिँदैन, विशेषगरी हार्ट अट्याकका घटनामा करिब १० प्रतिशत बिरामी अस्पताल नपुग्दै मृत्यु हुने तथ्यांक छ ।

मुटु रोगका प्रमुख कारणहरु

—विलासी जीवनशैली
—तनाव
—शारीरिक व्यायामको कमी
—अस्वस्थ खानपान
—धूम्रपान
—मद्यपान

केही मुटु रोगहरू वंशाणुगत रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्छन्, जसले गर्दा ‘सडेन कार्डियाक डेथ’को जोखिम समेत बढ्ने गरेको छ । हार्ट ब्लक, भल्भ सम्बन्धी समस्या, हाइपरट्रोफिक कार्डियो मायोप्याथी ९ज्ऋः० जस्ता रोगहरू उदाहरणका रुपमा रहेका छन् ।

मुटु रोगका प्रकार

मुटु रोगलाई मुख्यतयाः ५ भागमा वर्गीकरण गर्न सकिन्छ ।

१. जन्मजात संरचनात्मक समस्या
२. कोरोनरी आर्टरी डिजिज (हार्ट अट्याक)
३. मुटुको इलेक्ट्रिकल सिस्टममा गडबडी
४. संक्रमण वा सुन्निने कारणले हुने रोग तथा भल्भ सम्बन्धी रोग
५. हार्ट फेलियर

मुटु रोगका जोखिम कारक दुई प्रकारका हुन्छन्—परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने । मोटोपना, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, व्यायामको कमीजस्ता कारण परिवर्तन गर्न सकिने जोखिम हुन् भने उमेर, लिङ्ग, वंशाणुगत कारण र जातीय पृष्ठभूमी परिवर्तन गर्न नसकिने कारक हुन् । विशेषगरी, दक्षिण एसियाली समुदायमा मुटु रोगको जोखिम बढी देखिन्छ ।

मुटु रोग पत्ता लगाउन ब्लड टेस्ट, इसिजी, इकोकार्डियोग्राफी, ट्रेडमिल टेस्ट, होल्टर मनिटरिङ, सिटी एन्जियोग्राफी, कन्भेन्सनल एन्जियोग्राफी तथा कार्डियक एमआरआईजस्ता परीक्षण उपलब्ध छन् । बिरामीका लक्षणका आधारमा कुन परीक्षण आवश्यक पर्छ भन्ने चिकित्सकले निर्धारण गर्छन् ।

मुटु रोगबाट बच्न के गर्ने ?

—स्वस्थ खानपान
—तौल नियन्त्रण
—धुम्रपान तथा मद्यपान सेवन बन्द
—नियमित व्यायाम
—पर्याप्त निद्रा
—तनाव व्यवस्थापन

सबै जोखिम हटाउन नसकिएपनि जीवनशैली सुधार गरेर मुटु रोगको सम्भावना धेरै हदसम्म घटाउन सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ