२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. राजीव भण्डारीको सल्लाह : जाडोमा हृदयघातबाट बच्न के गर्ने ?

डा. राजीव भण्डारीको सल्लाह : जाडोमा हृदयघातबाट बच्न के गर्ने ?


जाडोयाममा सामान्यतयाः रक्तचाप बढ्ने, फ्लु लाग्ने, निमोनिया लाग्ने दम र पक्षघातजस्ता विभिन्न रोगहरुको प्रकोप बढ्ने गरेको पाइन्छ । यस्ता समस्याहरुको शिकार विशेषगरी मुटुरोगीहरु हुने गरेको पाइन्छ । अमेरिका र जापानजस्ता देशहरुमा गरिएको विभिन्न अध्ययनअनुसार हृदयघातले बढीजसो जाडोयाममा नै असर पार्ने तथ्य फेला परेको छ । अझ यस समयमा बढी घातक मानिने एसटिएमएस विथ कार्डियोजेनिक सक हुने गरेको पाइन्छ । विहानीको समय, तापक्रम शुन्यतिर झर्दाको अवस्था र हावाको वेग बढेको बेलामा हृदयघात बढी हुने गरेको पाइएको छ ।

कारणहरु
जाडोयाममा शारीरिक तनाव र आन्तरिक हार्माेनको कारणले शरीरका धमनीहरु साघँुरो हुन गइ रक्तचाप बढ्ने गर्दछ । साथै यसको असर मुटुको धमनीमा पनि पर्ने गर्दछ । यसैकारण एकातिर मुटुलाई धेरै धपेडी पर्नुका साथै रक्तनलीको प्रवाह पनि कम हुन्छ । र, फलस्वरुप हृदयघात हुन जान्छ । १० डिग्री तापमान घटेसँगै हृदयघात ७ प्रतिशतले वृद्धि हुने गर्दछ । यसबाहेक जाडोयामामा हृदयघात बढी देखिनुका कारणहरु निम्न रहेका छन् ।

  • मौसम अनुसारको अनुपयुक्त जीवनशैली
  • जाडोयामसँगै अस्वस्थ्य खानपिनको अभाव
  • शारीरिक ब्यायामको अभाव
  • निमोनिया र फ्लूको प्रकोप

बच्ने उपायहरु
यस्ता समस्याहरु देखा नपरोस् भन्नका लागि मुटु रोगका बिरामी मात्र नभई सम्पूर्ण व्यक्तिहरुले यसका कारणहरुबारे जान्न आवश्यक रहन्छ । जाडोयाममा हामी अरु समयको तुलनामा बढी अल्छी हुनु स्वभाविक हो । तर, हामीले गरी आएको ब्यायाम र शारीरिक कसरत चटक्क छोड्नु भने यो स्वास्थ्यको दृष्टिकोणले अनुपयुक्त मानिन्छ । यसबाट शरीरमा विभिन्न किसिमका विकारहरु पैदा हुन सक्छ । तर, यसको भन्दैमा धेरै चिसो वातावरणमा शारीरिक ब्यायाम गर्नुपर्छ भन्ने होइन । यसको निमित्त हामीले बाहिरी वातावरण सँगसँगै हाम्रो शरीरलाई ख्याल राख्दै आफूलाई चिसोबाट पनि बचाउनु पर्दछ ।

शरीर र वातावरणको अनुकुलता मिलोस् भन्नका लागि हामीले घाम झुल्केपछि मात्रै शारीरिक ब्यायाम तथा घुम्नको लागि निस्कनु उपयुक्त रहन्छ । यस समयमा मास्कको प्रयोग गर्नाले साधारणतयाः चिसो हावाको प्रवाह र वायुप्रदुषणमा रहेको पिएम २.५ कणहरुबाट बच्न सकिन्छ । यस्तै रक्तचापहरु समय समयमा चेक जाँच गरी यसलाई नियन्त्रणमा राख्न अति जरुरी हुन्छ ।

जाडोयाममा बढी खाना रुच्ने भएकोले हामीले चिल्लो तथा मसालेदार खानामा पनि नियन्त्रण गर्नु आवश्यक हुन्छ । अन्यथा यसको कारण कोलेस्टोरको मात्रा बढ्न गई मुटुको धमनीमा नकरात्मक असर पर्दछ । मौसम अनुसारको फलफूल खानाले पनि मुटुलाई सुरक्षा प्रदान गर्दछ । यसबाहेक सबैभन्दा जरुरी कुरा धुम्रपान गर्नेहरुले आफ्नो उक्त बानीमा कडा रुपमा नियन्त्रण लगाउन अति आवश्यक हुन्छ । समय समयमा सुप तथा ग्रीन टी को माध्यमबाट पनि मुटु र शरीरलाई न्यायो राख्दैं जाडोयामको आनन्द लिन सकिन्छ ।

  • शारिरीक व्यायमलाई नियमितता दिने
  • घाम झुल्केपछि मात्रै व्यायम र वाकका लागि बाहिर निस्कने
  • मास्कको प्रयोग गर्ने
  • समय—समयमा रक्तचाप चेक गरेर नियन्त्रणमा राख्ने
  • चिल्लो तथा मसालेदार खानामा नखाने
  • मौसमअनुसारका फलफूलहरु खाने
  • धुम्रपान नगर्ने
  • धुम्रपान गर्नेहरुले आफ्नो बानी नियन्त्रण गर्ने
  • सुप र ग्रीन टीले शरीरलाई न्यानो पार्ने

प्रस्तुती: सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ