२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्रा.डा. दीर्घराज आरसीको सल्लाह : कसले गर्नुपर्छ जोर्नी प्रत्यारोपण

प्रा.डा. दीर्घराज आरसीको सल्लाह : कसले गर्नुपर्छ जोर्नी प्रत्यारोपण


प्रा.डा. दीर्घराज आरसी
सिनियर कल्सल्टेन्ट अर्थोपेडिक सर्जन
हाडजोर्नी विभाग प्रमुख, सिभिल अस्पताल

नेपालीहरूमा खुट्टाका हिप जोर्नी या घुँडा जोर्नी खिइँदैं जाने ठूलो समस्या रहेको छ । बढ्दो उमेरसँगै यो समस्या पनि थपिँदै जाने गरेको छ । पछिल्लो समय मानिसमा आएको आधुनिक जीवनशैली, नियमित व्यायाम नगर्ने बानी, लामो समयको हिाडाइ या बसाइँ, मोटोपना र क्याल्सियमको कमीका कारण हिप जोर्नी खिइने गरेको पाइएको छ । नेपालीमा हिपभन्दा पनि घुँडा खिइने समस्या बढी छ । यस्ता समस्या भएकाहरूले चिकित्सकको सल्लाहअनुसार सुरुमा फिजियोथेरापी वा औषधि सेवन गर्नुपर्छ । त्यसले पनि ठीक नभएर हिड्न नै नसक्ने अवस्था आएमा भने जोर्नी नै बदल्नुपर्ने हुन्छ । यो बदल्न नेपालमा नै सम्भव छ, तर हाम्रोमा जोर्नी बदलिन्छ भन्ने धेरैलाई थाहा छैन ।

यस्तो जोर्नीलाई आर्टिफिसियल ज्वाइन्ट भनिन्छ । घुँडाको घोटिएको भाग मेसिनका माध्यमबाट ताछेर त्यही भागमा मिलाई कृत्रिम जोर्नी लगाइन्छ ।

जोर्नी खिइएको कसरी थाहा पाउने ?

सामान्य मान्छेमा दुखाइ हुँदैन, जोर्नी खिइएका मानिसमा भने ती स्थानमा दुखाइ हुन्छ । पलेटी मारेर बस्न सक्दैन्, भुइँमा थ्याच्च बस्न सक्दैन, दिशा गर्दा पनि हिप दुख्ने हुन्छ । त्यस्तै, उकालो–ओरालो गर्दा गाह्रो हुन्छ । दुखाइ कम गर्न औषधि खाँदा एक–दुई घन्टा ठीक हुन्छ र पुनः बल्झन थाल्छ । यस्तो भए चिकित्सक कहाँ जचाउनुपर्छ ।

त्यसैगरी, दुर्घटनामा परेर या अन्य कारणले हिपकै जोर्नी भाँचियो भने जडान राम्ररी लाग्दैन । राम्ररी नलागेपछि क्रमसः खिइँदै जान्छ र पछि फेर्नुपर्ने अवस्था हुन्छ । जोर्नीको टिभी भएमा वा बाथ भएका मानिसमा यस्तो समस्या हुन्छ । विस्तारै कामै नलाग्ने अवस्था पुगेपछि भने जोर्नी फेर्नुको विकल्प हुँदैन ।

खिइने चार चरण

जोर्नी खिइने पनि विभिन्न चरण हुन्छ । त्यो कुन चरणमा पुगेको छ भनेर हाड जोर्नी रोग विशेषज्ञलाई परीक्षण गरेपछि मात्र थाहा हुन्छ ।

पहिलो र दोस्रो चरण
पहिलो र दोस्रो चरणको खियाइमा बिरामीलाई औषधि दिने, एक्सरसाइज गराउने र मोटाइ कम गराउने सुझाव र सल्लाह दिइन्छ ।
यो चरणमा छ भने बिरामीले तत्काल साधारण एक्सरसाइज गर्ने, हिप र घुँडालाई असर गर्ने, जस्तै लामो समयसम्म उभिएर काम नगर्ने, हेभी लोड उचाल्ने गर्न हुँदैन । लामो बाटो हिँड्ने, बढी समय एकै ठाउँमा पलेँटी मारेर बस्न नहुने सल्लाह दिन्छौं । साथै, केही औषधि दिन्छौं र एक्सरसाइज गर्न लगाउँछौं ।

सुरुवात मात्र भए के गर्ने ?
नियमित एक्सरसाइज ।
तौल घटाउने ।
लामो समय नबस्ने ।
लामो समय एकोहोरो नहिँड्ने ।
फलफूल, भिटामिन डी र प्रोटिनयुक्त खानेकुरा खाने ।

तेस्रो र चौथो चरण
खियाइको क्रम तेस्रो या चौथो चरणमा पुगेको छ भने या कुरकुरे हड्डीले नै काम नगर्ने अवस्थामा पुगिसकेको अवस्थामा मात्र हामी जोर्नी फेर्छौं । त्यसैगरी, जोर्नीमा केही कारण चोट लागेको छ भने पुनः पहिलेको अवस्थामा आउन सक्दैन । विस्तारै खिइँदै जान्छ । त्यसबेला पनि जोर्नी फेर्नुपर्ने हुनसक्छ ।

जोर्नी बदलेपछि नियमित औषधि खानु पर्दैन । यो यसको फाइदा हो । पुनः खिइयो भने फेरि बदल्न मिल्छ । तर, त्यो बदल्न अलि धेरै समय लाग्छ र खर्च पनि बढी लाग्छ । पहिलोपटक प्रत्यारोपण गर्न डेढ घन्टा मात्र समय लाग्छ । तर, पुनः गर्दा समय बढी लाग्नुका साथै विभिन्न किसिमका संक्रमण भई घाउ पाक्ने समस्या हुन्छ । पहिलोपटक फेरेको जस्तो दिगो पनि नहुन सक्छ ।

जोर्नी फेरेपछि

जोर्नी फेरिसकेपछि दौडन, हामफाल्न हुँदैन । एकै ठाउँमा धेरै बेर सीधै बस्न हुँदैन । कडा खालको कसरत गर्न हुँदैन । तर, सामान्य जीवन जिउन सकिन्छ । यो एकपटक फेरेपछि १० देखि २० वर्षसम्म काम गर्छ । कसैमा २० वर्षभन्दा माथि पनि राम्रो गरेको हामीलाई जानकारी छ । यसको टिकाउपना जसको फेरेको हो, उसको हड्डीको बलियोपनामा भर पर्छ । दह्रो हड्डी भएमा दह्रो समात्छ । दुखाइ हुँदैन, औषधि खानु पर्दैन । जोर्नी चलाउन कुनै समस्या हुँदैन ।

प्रत्यारोपणपछि ख्याल गर्नुपर्ने

नियमित व्यायाम गर्नुपर्छ, जसले मसललाई दह्रो बनाउँछ ।
लामो समयसम्म उभिन र हिँड्न हुँदैन ।
उफ्रने, दौडने गर्न हुँदैन ।
उकालो–ओरालो धेरै नगर्ने ।
नियमित काम गर्न मिल्छ ।
व्यायाम दैनिक १० मिनेटको गर्नुपर्छ ।
प्रत्यारोपण गरेको भोलिपल्टै हिँड्न सक्छ, तर कति चाँडो हिँड्छ भन्ने कुराचाहिँ उसको हड्डीमा पनि भर पर्छ ।

के कारण जोर्नी खिइन्छ ?

प्राइमरी ओस्टियो आर्थराइटिस : यो समस्या ५० कटेपछि देखिन सक्छ । यो देखिनुको कुनै कारण नै हुँदैन ।

सेकेन्डरी ओस्टियो आर्थराइटिस :
कुनै अर्को कारण, जस्तै घुँडा हिपमा फ्याक्चर भयो या राम्रोसँग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई सेकेन्डरी ओस्टियो अर्थराइटिस भनिन्छ ।

प्राइमरी कम्प्लेक्समेन्ट :
जन्मजात जोर्नी बिग्रिएर आउने यस्तो समस्या केटी मान्छेमा बढी हुन्छ । ३०–४० वर्षपछि हिँड्नै नसक्ने पनि हुन्छ । जन्मजात बिग्रिएर आएकालाई भने गाह्रो हुन्छ ।

इन्फ्लामेन्ट्री आर्थाराइटिस :
शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ