२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगमाल्दिभ्सले गर्‍यो आमाबाट बच्चामा सर्ने एचआईभी र सिफलिसको अन्त्य, नेपालले कहिलेसम्म गर्ला ?

माल्दिभ्सले गर्‍यो आमाबाट बच्चामा सर्ने एचआईभी र सिफलिसको अन्त्य, नेपालले कहिलेसम्म गर्ला ?


काठमाडौं–माल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआईभी र सिफलिस (भिरङ्गी) समाप्त गरेको छ । निकै घातक मानिने यी दुई रोगमुक्त हुने विश्वका सिमित देशहरुको सूचीमा माल्दिभ्स सामेल भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ ।

माल्दिभ्सले पाएको सो उपलब्धिलाई विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया कार्यलयले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपालले राजनीतिक प्रतिबद्धता, समुदायको सक्रिय सहभागिता, स्वास्थ्यकर्मीको अमूल्य योगदान र सहकर्मी संस्थाको निरन्तरको सहयोगका कारण नै माल्दिभ्सले यो सराहनीय उपलब्धि हासिल गर्न सकेको बताइन् ।

मालेमा भएको आमाबाट बच्चामा सर्ने एचआईभी र सिफलिस अन्त्य समारोहमा उनले यस्तो बताएकी हुन् । डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा यो उपलब्धि हासिल गर्ने थाइल्याण्डपछि माल्दिभ्स दोस्रो देश बनेको छ ।

पछिल्लो दुई वर्षमा माल्दिभ्समा कुनै पनि महिला वा शिशुमा एचआईभी अथवा सिफलिस नदेखिएको डब्ल्युएचओद्वारा प्रमाणीकृत राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय टिमले पुष्टि गरेको छ ।

माल्दिभ्समा सन् १९८७ मा सुरु गरिएको एड्स नियन्त्रण कार्यक्रमले एचआईभी संक्रमण रोकथामका जनचेतना फैलाउने र जोखिममा रहेका व्यक्तिलाई विशेष केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेको थियो । साथै, एचआईभी–एड्स र सिफलिस संक्रमित व्यक्तिहरुका स्तरीय हेरचाह, सहयोग र उपचारमा विशेष जोड दियो ।

एचआईभी एड्स निवारण सम्बन्धि माल्दिभ्सले राष्ट्रिय रणनीतिक योजना २०१४–१८ तयार गरी प्रमुख पक्ष आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न काम ग¥यो । माल्दिभ्सभर भएका सबै सार्वजनिक तथा नीति अस्पताल तथा स्वास्थ्य संस्थाहरुले नवजात शिशु सुरक्षा र एचआईभी र सिफलिस परिक्षण जस्ता सुविधामा सहज पहुँच प्रदान गर्दछन् । यहाँ झण्डै सबै बच्चाको जन्म अस्पतालमा दक्ष स्वास्थ्यकर्मीबाट नै हुन्छ । निरन्तरको ठोस प्रयासले लामो समयसम्म एचआईभी र सिफलिसको संक्रमण न्युनीकरण गरेको बताइएको छ ।

माल्दिभ्सको उपलब्धिको सराहना गर्दै क्षेत्रीय निर्देशकले भने, ‘सबैको सुरक्षित स्वास्थ्य र कल्याण गर्ने माल्दिभ्सको चाहना र अठोटलाई आजको उपलब्धिले प्रदर्शन गरेको छ । स्वास्थ्य क्षेत्रमा निकै धेरै, जीडिपीको झण्डै ९ प्रतिशत बजेट छुट्याएर वर्षौको प्रयासपछि माल्दिभ्सले स्तरीय स्वास्थ्य सुविधा प्रदान गर्न सक्षम भएको छ ।

नेपालमा कहिलेबाट होला अन्त ?
सार्क राष्ट्र माल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआईभी र सिफलिसलाई अन्त गर्दै गर्दा नेपाल पनि २०२० को अन्त्यसम्ममा सोही अवस्थामा पुग्ने लक्ष्य राखेको छ । राष्ट्रिय एचआईभी रणनीतिक योजना २०१६–०२१ को प्रमुख लक्ष्य नै एचआईभी र सिफलिस संक्रमित आमाबाट जन्मने बच्चामा उक्त रोग शुन्यमा झार्ने रहेको छ ।

नेपालमा हाल २ सय १८ जना एचआईभी इन्फेक्सन भएका शिशुको जन्म हुने अनुमान गरिएको राष्ट्रिय एचआईभी÷एड्स तथा यौनरोग महाशाखाका सूचना अधिकारी वीरबहादुर रावल बताउँछन् ।

एक वर्षमा यति संख्यामा संक्रमित शिशु जन्मदैं गर्दा अबको झण्डै एक वर्ष ६ महिनाको अवधिमा शुन्यमा आउला त ? यो प्रश्न हामीले केन्द्रका निर्देशक डा. तारानाथ पोखरेललाई सोधेका थियौ । ‘अवस्था राम्रो छ । तर, हाम्रोमा नियमित गर्भ परीक्षण ६५ प्रतिशत मात्र छ,’ उनले घुमाउरो जवाफ फर्काए । सबै गर्भवतीले नियमित गर्भ परिक्षण नगराउनु सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइँ थियो । ‘नियमित गर्भ परिक्षण गर्न आउनेलाई मात्र हेरेर भन्ने हो भने सम्भव छ,’ उनले हेल्थ आवाज डटकमसँग भने, ‘तर छुटेकाहरुमा भएको समस्या हामीले सुल्झाउन सकेका छैनौ ।’

सबै गर्भवतीले पहिलो गर्भ जाँचदेखि नै स्वास्थ्य संस्थामा आएमा लक्ष्य सम्भव रहेको उनको दावी छ ।


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ