२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यबच्चाहरु रिसाहा किन हुन्छन् ?

बच्चाहरु रिसाहा किन हुन्छन् ?


डा. अरुण कुँवर
बाल मनोरोग विशेषज्ञ, कान्ति बाल अस्पताल

ठूला व्यक्ति (वयस्क)को आफ्नै पर्सनालिटी भएजस्तै बालवालिकाको पनि आफ्नै किसिमको पर्सनालिटी हुन्छ । जसमध्ये कोही बोलिरहने, कोही नबोल्ने, कोही हाँसी मजाक गर्न रुचाउने हुन्छन भने कोही अरुको तुलनामा बढी रिसाउने पनि हुन्छन् ।

साधारणतयाः कोही बालबालिकाहरु सामान्यवस्था भन्दा बढी रिसाउने, आफ्ना अभिभावकले भनेको नमान्ने, झर्को मान्ने तथा अटेरी हुन सक्छन । यस्तो अवस्थामा उनीहरुको उचित ख्याल गरी उनीहरुमा आएको यस्तो परिवर्तन तथा समस्या कसरी देखा प¥यो भन्ने विषयमा बुझ्नु आवश्यक छ । अन्यथा यस किसिमका बालबालिकाहरुमा मानसिक समस्या समेत देखिन सक्छ ।

प्रभावित कारणहरू

बच्चा रिसाहा हुनु या अभिभावकले भनेको कुरा नमान्नु या नसुन्नु पछाडि पनि थुप्रै कारणहरु रहेका हुन्छन्, जसले उनीहरुलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष असर पार्दछ । फलस्वरुपः उनीहरुको व्यवहार तथा समूहगत समावेशितामा परिवर्तन देखा पर्दछ । जसका कारणहरु निम्न रहेका छन्ः

  • बच्चाहरुको वातावरणमा केही समस्या या असहज वातावरण सिर्जना भएको खण्डमा
  • पर्याप्त निन्द्राको अभावमा
  • साथीसंगी बीचको असहजता या साथीहरुले गिज्याउने तथा हेप्ने गरेमा
  • वंशाणुगत गुणका कारण
  • असन्तुलित पारिवारिक वातावरणका कारण
  • धेरै रिसाहा भएको वातावरणमा हुर्केमा (वरिपरिका व्यक्तिहरु रिसाइरहने वा झर्किरहने भएमा)
  • मानसिक समस्या भएमा (जस्तो डिप्रेशन)

रोकथाम तथा उपचार

हामीले बालवालिकाको यस्तो समस्या निराकरणको लागि सर्वप्रथम उनीहरुलाई सहज वातावरणको सिर्जना गराइदिनु पर्छ । पारिवारिक होस् या सामाजिक रुपमा हामीले उनीहरुको चाहना बुझेर सोही अनुरुपको व्यवहार गर्नुपर्छ । हामीले उनीहरुको समस्या सुनुवाईको निमित्त जतिसक्दो त्यति समय उपलब्ध गराउनु पर्दछ । यदि, उनीहरुको व्यवहारमा केही परिवर्तन आएको छ भने सहज वातावरणमा उनीहरुलाई त्यस परिवर्तित व्यवहारबारे सोध्नुपर्छ ।

यदि कुनै पनि कुराले उनीहरुलाई तनाव भइरहेको छ भने त्यो पाटोहरुलाई निक्र्यौल गरी तनावरहित वातावरण सिर्जना गर्नुपर्दछ । यसैगरी, अशान्त पारिवारिक स्थितीका कारण पनि बच्चा अटेरी हुने तथा बढी रिसाहा हुने गर्दछ । तसर्थ, हामीले घरमा शान्त एवं पारस्परिक अवस्था बनाइराख्नुपर्छ ।

र, अन्त्यमा हामी बच्चाहरुलाई ‘प्रि टाइम टेबल’ अर्थात् निश्चित समय तालिका तोकिनु पर्दछ । जहाँ उसको पढाइ र विद्यालय गतिविधिहरुसँगै उनीहरुको निम्ति खेलकूद तथा मनोरञ्जनको निमित्त पनि समय छुट्याउनुपर्ने हुन्छ । जसका कारण बच्चामा यो काम यो समयमा गर्दा हुन्छ भन्ने ज्ञान भै कुनै पनि काम डर र भयरहित रुपमा गर्ने गर्दछ । जसबाट ऊ तनावरहित भै उसलाई कम रिसाउन मद्धत गर्दछ ।


प्रस्तुतीः सिर्जना मगर


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ