प्रसव वेदनाबाट बच्चा जन्माएपछि जब आमाको अनुहारमा खुसी छचल्किन्छ । डा. मधुकर दाहालको जिन्दगीमा त्यो खुसीका छालहरु लहराउँछन् । ‘बच्चालाई जन्म दिएपछि जब गर्भवती आमा खुसी हुन्छिन्, त्यो देख्दा सबैभन्दा बढी खुसी हुन्छु,’ हालैको एक मध्यान्ह गाउँका हेल्थ असिस्टेन्ट ‘एचए’ गाइनोकोलोजिष्ट डा. मधुकर सुनिए, ‘त्यही भएर त मैले यो विषय रोजेको ।’ नयाँ जीवनलाई धर्तिमा पर्दापण गराउन सहयोगी भूमिका खेल्नु उनले हासिल गरेको सीप हो ।
बिरामीलाई संसार ठानेर सेवामा तल्लीन रहने डा. मधुकर जिन्दगीमा सधैं खुसी हुनुपर्ने मान्यता राख्छन् । परिणाम नै मान्नुपर्छ, न यी विशेषज्ञ चिकित्सकलाई पदको मतलब छ न त पैसा नै । त्यही कारण योग्यताका हिसाबले विशेषज्ञ गाइनोकोलोजिष्ट भएपनि डा. मधुकर छैटौ तह ‘एचए’मै रहेर सरकारी सेवामा रमाइरहेका छन् ।
उनले नुवाकोटको त्रिशुली अस्पताल नै २४ सयभन्दा बढी गर्भवती महिलाको शल्यक्रिया गरिसकेका छन् । त्यसबाहेक इलाम, डडेल्धुरा, बझाङ, कैलाली, सुर्खेतमा पनि थुप्रै शल्यक्रिया र सुत्केरी गराएका छन् । ‘डेलिभरी त कति गराए, त्यसको तथ्यांक मसँग छैन,’ उनले भने । त्रिशुली अस्पतालमा आइतबार, मंगलबार र बिहीबार ओपीडीमा डा. मधुकर औसत दैनिक ५० देखि ७० जनासम्म बिरामी हेर्छन् । उनी कतिसम्म सजिला चिकित्सक हुन् भने बिरामीले गर्ने सबै फोन कल उठाउँछन्, आवश्यक स्वास्थ्य परामर्श दिन्छन् । उनलाई बिरामीका दैनिक दर्जनौं कल आइरहेका हुन्छन् ।
विशेषज्ञ चिकित्सक भएर पनि ‘एचए’का रुपमा काम गर्दा उनी उत्तिकै खुसी छन् । कारण के हो ? भन्छन्, ‘मैले पदलाई कहिल्यै जीवनसँग जोडेर हेरेको छैन । हेल्थ असिस्टेन्ट हुँ भन्ने फिलिङ ममा कहिल्यै छैन ।’ तलबले त्यो फिलिङ गराउला कि भनेर उनले आएको तबल आफूले नदेखेरै श्रीमतीको खातामा ट्रान्सफर हुने प्रबन्ध मिलाएका छन् । अहिलेसम्म उनले आफ्नो तबलबारे पनि कहिल्यै एकाउण्टमा गएर सोधखोज समेत गरेका छैनन् । त्रिशुली क्षेत्रमा शल्यक्रिया गर्न रगत खोज्नेसम्मको काम उनी आफैले गरेका छन् ।
गाउँमा बिरामीको स्वास्थ्य सेवामा डटिरहेका फ्रन्टलाइनर डा. मधुकर धादिङको खाल्टे पतेनीमा वि.सं. २०२९ सालमा साउनमा जन्मिएका हुन् । उनका बुवा कृष्णप्रसाद दाहाल नामी शिक्षक थिए भने आमा भक्तकुमारी दाहाल गृहिणी । माध्यमिक विद्यालयका हेडसर बुवा शिक्षणमा बढी ब्यस्त भएकाले घरभन्दा बाहिरै हुन्थे । त्यही कारण उनले आफ्नो बाल्यकाल आमासँग घाँसदाउरा गर्दै बिताए ।
डा. मधुकरको प्रारम्भिक शिक्षा पञ्चकन्या प्राथमिक विद्यालयमा भएको हो । कक्षा ३ सम्म पञ्चकन्यामा पढेपछि फ्याक्से निम्न माध्यमिक विद्यालयमा गए । ७ कक्षासम्म त्यहाँ पढेपछि उनी ८ कक्षा पढ्न निलकण्ठ माध्यमिक विद्यालय गए । म्याथमा अब्बल भएकाले स्कुले जीवनमा उनी ‘मोडल म्याथम्याटिक्स स्टुडेन्ट टिचर’का रुपमा गाउँ—गाउँमा पढाउँदैं हिडथे ।
सानैदेखि समूह बनाएर त्यसको नेतृत्व गर्नु उनको रुचि हुन्थ्यो । ‘मलाई वरिपरी दुई चार जना मान्छे भएनन् भने औडाहा हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले पनि मेरो बानी त्यस्तै छ । कोही भएनन् भने एक्लोजस्तो महसुस हुन्छ ।’ उनका गाउँमा दलितहरु धेरै थिए, तर मन्दिरमा उनीहरुलाई प्रवेश दिइदैन्थ्यो । त्यसविरुद्ध आफूले ९—१० वर्षकै उमेरमै सांस्कृतिक क्रान्तिको नेतृत्व गरेको उनको भनाइ छ । ‘बाहुनहरुले मात्रै मन्दिर पस्न पाइने राजा होइनन’ भन्दैं विरोध गरेर मन्दिर पसाए,’ उनले भने, ‘यसले मलाई सानैदेखि नेतृत्वका रुपमा स्थापित हुन सहयोग ग¥यो ।’
वि.सं. २०४६ सालमा उनले निलकण्ठ माविबाट फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरे । एलएलसीपछि बुवाको डाक्टर बनाउने इच्छा भएकाले उनी एचएच पढ्नका लागि काठमाडौं आए । त्यतिबेला महाराजगन्ज क्याम्पसमा एचए पढाइ हुन्थ्यो । इन्ट्रान्स दिए, नाम पनि निस्कियो । ‘म पहिलेदेखि नै इन्जिनियरिङमा रुचि राख्थे,’ उनले सुनाए, ‘बुवाले केही प्रतिशत कम अंक आएकै कारण डाक्टरी पढ्न पाउनुभएन्, उहाँको इच्छा डाक्टरी पढ्ने थियो । त्यही कारण सबै सन्तानलाई हेल्थ विषय पढाउनुभयो ।’ डा. मधुकर, उनीकी श्रीमती कल्पना दाहाल एचए, छोरा डा. प्रभाकर दाहाल एमबीबीएस डाक्टर, छोरी रुबिना दाहाल अष्ट्रेलियामा नर्स छन् । उनका बहिनीहरु पनि सबै हेल्थ लाइनमै छन् ।
महाराजगन्ज क्याम्पसमा गाउँबाटै धादिङको पपुलर मान्छे आयो भनेपछि क्याम्पसका तत्कालीन स्ववियु सभापति डा. राजाराम कार्कीले उनलाई सदस्यमा पदमा मनोनित गरे । लगतै, जनआन्दोलन सुरु भयो । उनीसहित चार जनालाई ‘सी एन्ड सुट’ अर्डर दिइएको उनी बताउँछन् । उनी तीन महिना भूमिगत भए, त्यहीबेला पक्राउ परे । पक्राउ परेपछि मार्ने भन्ने चर्चा सुरु भयो । दरबारमा उनका मामा टीका धमला एडिसी थिए । ‘मामाले थाहा पाएपछि मेरो भान्जालाई मार्नु हुँदैन् भनेपछि धादिङको जेलमा राखियो,’ उनले भने, ‘म १५ दिन जेलमा बसेपछि डेमोक्रेसी आइहाल्यो ।’
वि.सं. २०५० सालमा उनले महाराजगन्ज क्याम्पसबाट एचए उत्तीर्ण गरे । एचए सकिएपछि कसको कहाँ पोष्टिङ भयो भनेर खामबन्दी आउँथ्यो । डा. मधुकरको पोष्टिङ धादिङको शेरधुङ भन्ने ठाउँमा भयो । त्यो बेला उनका बुवा धादिङमा निकै लोकप्रिय थिए, दाहाल सरको छोरा आउने भनेपछि पञ्चेबाजासहित उनको स्वागत गरियो । त्यसभन्दा अगाडि एमबीबीएस पढ्न दुई वर्ष रिमोट एरियामा अनिवार्य काम गर्नैपर्ने नियम थियो । तर, उनले पोष्टिङ लिएको केही समयमै तत्कालीन स्वास्थ्यमन्त्रीले त्यो नियम परिवर्तन गरिदिएछन् ।
दुई वर्षपछि डा. मधुकर नम्बर लिएर आउँदा त नियम परिवर्तन भइसकेको थाहा पाए, उनको एमबीबीएस इन्ट्रान्स छुट्यो । दुई वर्ष पढाइमा पनि ग्याप भइसकेको थियो । धादिङ जिल्ला अस्पतालमा डा. भीम आचार्य थिए, उनले डा. मधुकरलाई जिल्ला अस्पतालमा काजमा ताने । उनी धादिङ जिल्ला अस्पतालमा हेल्थ असिस्टेन्ट हुँदा बढी नेतागिरी गर्थे । त्यही कारण उनलाई धेरैले ‘सिफारिस डाक्टर’ भन्थे, सिफारिस आएका बिरामी मात्र हेर्ने । केही समय तयारी गरेर महाराजगन्जमा वि.सं. २०५४ सालमा एमबीबीएसको इन्ट्रान्स दिए, वैकल्पिक पाँच नम्बरमा नाम निस्कियो ।
केही समयपछि डा. श्यामसुन्दर मिश्र धादिङ जिल्ला अस्पतालको मेसु भएर आए । उनले सोधे, ‘मधुकर तिमी पढ्ने कि राजनीतिक गर्ने ? राजनीतिक गर्ने हो भने आजबाट हेल्थ असिस्टेन्ट छोडदेऊ राजनीतिमा जाऊ, स्वास्थ्यमन्त्रीसम्म बन्छौं । पढ्ने हो भने तँ डाक्टर बन्छौं, छोडदेऊ यो राजनीति ।’ उनले सोच्नका लागि एक हप्ताको समय दिए । डा. मधुकरलाई सोच्न दुई तीन दिन पनि लागेन् । गएर डा. मिश्रलाई भने, ‘डा. साब म त पढ्छु ।’ उनलाई पढ्नका लागि तीन महिनाको छुट्टीसहित तालिम केन्द्र टेकुमा एउटा कोठाको पनि व्यवस्था गरिदिए । तीन महिनासम्म उनी धस्सिएर पढे । तर, उनको नामै निस्किएन । त्यसपछि पढ्न्तेको नाम निस्कन्छ भन्ने उनको विश्वास टुटयो । लगातार तीन पटक नाम ननिस्केपछि उनले इन्ट्रान्स दिन बन्द गरिदिए ।
त्यसपछि उनले धादिङमा जीआईजेडसँग आफू एमबीबीएस गर्न चाहेको र पढाइका लागि सहयोग गरिदिन भन्दैं प्रस्ताव राखे । डा. मधुकरलाई एमबीबीएस अध्ययनका लागि जीआईजेडले १२ लाख छुटाइदियो । अन्य थप पैसा उनी आफैले जुटाए । डा. विकास दलीको सहयोगमा उनी वि.सं. २०५८ सालमा एमबीबीएस अध्ययनका लागि उनी चीन गए । छिएन जियाटोन युनिभर्सिटीबाट एमबीबीएस सकेर उनी वि.सं. २०६२ सालमा नेपाल फर्किए । नेपाल आएर चिकित्सक लाइसेन्स परीक्षा पास गरे । त्यसपछि उनी एचए भएपनि जिविसले थप पैसा दिने व्यवस्था गरेपछि धादिङ अस्पतालमा काम गर्न थाले ।
त्यहीबीच उनले वि.सं. २०६४ मा जागिरबाट राजीनामा दिए । त्यो बेला डा. यसवद्र्धन प्रधान स्वास्थ्य सेवा विभागका डिजी थिए । जोसँग वि.सं. २०५७ सालमा डा. मधुकरले मुस्ताङमा सँगै काम गर्ने मौका पाएका थिए । मन लगाएर काम गर्ने भएकाले डा. यसवद्र्धनले उनलाई मन पराउँथे । त्यही कारणले उनले डा. मधुकरको राजीनामा अस्वीकृत गरिदिए । डा. यसवद्र्धनले नै उनलाई धादिङको सल्यानटार पिएचसीमा काम गर्न पठाए । त्यहाँ गएर १५ बेड अस्पतालको पूर्वाधार पनि जनसहभागितामा उनकै अगुवाईमा निर्माण भयो । स्वास्थ्य सचिवबाट उक्त अस्पतालको उद्घाटन गराए ।
८ महिना त्यहाँ बसेपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमडीका लागि इन्ट्रान्स दिने तयारी गरेर काठमाडौं पुगे । प्रा.डा. श्रीकृष्ण गिरीसँग उनको पहिलेदेखि नै चिनजान थियो । इन्ट्रान्स दिन आएका बेला डा. गिरीसँग भेट भयो । डा. गिरीले भने, ‘ए मधुकर पाकिस्तानमा जेरियाट्रिक्स मेडिसिनको छात्रवृत्ति आएको छ । कसलाई पठाउ भन्नेमा थिए, ठ्याक्कै तिमी आइपुग्यौं जाऊ ।’ रातभरि सोचेपछि डा. मधुकरलाई लाग्यो यो पढेर जिन्दगीमा कहिल्यै सन्तुष्टि पाइदैन्, खुसी हुन सकिदैन् ।
भोलिपल्ट डा.श्रीकृष्णलाई भने, ‘डा. साब म जेरियाट्रिक्स पढन त नजाउ होला । म त अलवेज ह्याप्पी मान्छे । त्यो त बोरिङ विषय हो । मलाई ह्याप्पी हुने विषय चाहिएको छ, कुनै त्यस्तो विषय छ भने जहाँ पठाउनु भएपनि जान्छु ।’ डा. गिरीले उनलाई न्याम्समै डिजिओको आवेदन खुलेकाले त्यसैमा भर्ना गर्न सुझाव दिए । उनी नन एकेडेमिक भएकाले त्यो कोर्स पढ्ने कि नपढ्ने दोधारमा थिए । तर, डा. गिरीले गाइनोकोलोजिष्ट लेख्न पाइहाल्छस भन्दैं कन्भिस गरेपछि तयार भए । वि.सं. २०६७ सालमा उनको डिजिओ पढ्नका लागि न्याम्समा भर्ना भए । वि.सं. २०६८ सालमा गाइनोमा उनले पिजी गरे ।
त्यो बेला परिवार कल्याण महाशाखामा डा. सेनेन्द्रराज उप्रेती प्रमुख थिए । त्रिशुली अस्पतालमा ५१ प्रतिशत शल्यक्रिया (सिएस) भइरहेको रिपोर्ट त्यहाँ पुगेको थियो । डा. उप्रेतीले उनलाई एक हप्ताका लागि त्रिशुली अस्पतालमा त्यति धेरै सिएस किन हुन्छ भनेर बुझ्न पठाए । उनी त्रिशुली अस्पताल पुगे । अस्पतालमा एक डाक्टर समितिले एक शल्यक्रियाको दुई हजार भत्ता दिएपछि त्यही लोभका भकाभक शल्यक्रिया गर्ने गरेको पत्ता लगाए । प्रति शल्यक्रियाको पैसा दिँदा शल्यक्रिया बढ्ने भन्दैं उनले एकमुष्ट कतैबाट भत्ता रकम व्यवस्थापन गर्ने सुझावसहितको रिपोर्ट डा. उप्रेतीलाई बुझाए । डा. मधुकर त्यसपछि इलाम गए, त्यहाँबाट डडेल्धुरा पुगे, त्यहाँ पनि यही कन्सेप्ट काम हुने गरेको पाइएपछि हटाए । डा. उप्रेती महानिर्देशकदेखि सचिवसम्म हुन्जेल उनी डोटी, बझाङ, धनगढी, सुर्खेतजस्ता ठाउँहरुमा दौडिए । ती सबैबाट डाक्टरले सिएस गर्दा पर केस लिने सिष्टम हटाएर एकमुष्ट लिने सिष्टम बसाए ।
धेरै ठाउँ दौडिएपछि अन्ततः उनले डा. उप्रेती सचिव भएका बेला आफू धेरै दौडन नसक्ने बताए । डा. उप्रेतीले भने, ‘अब तिमी थाकेछौं भनेर त्रिशुली अस्पतालमा पठाइदिए ।’ त्यही बेलादेखि अहिलेसम्म डा. मधुकर त्रिशुली अस्पतालमै छन् । ‘८ वर्षदेखि म त्रिशुली अस्पतालमा छु,’ उनले भने, ‘बीचमा दुई वर्ष चलाए, सचिवज्यूसँग झगडा गरेदेखि यही छु ।’ उनको समायोजन भएको केन्द्रीय कारागार हो तर उनी काजमै त्रिशुली अस्पतालमा सेवा दिइरहेका छन् ।
मेडिकल अधिकृतका लागि ६ पटक लोकसेवा दिएपनि उनको नाम निस्केन । अहिले पनि उनी छैटौ तहकै एचए पदमा क्रियाशील छन् । सबै प्रक्रिया पु¥याएर सातौ तहका लागि २०७५ सालमा निवेदन दिएपनि अहिलेसम्म सुनुवाई नभएको उनको गुनासो छ । ‘मजस्तो डाक्टर हाम्रो नेपालमा पहिले १४ जना थिए,’ उनले थपे, ‘पिजी गरेको म एक्लै छु । पञ्चायतकालको अध्ययन बढाएसँगै त्यहीअनुसार लोकसेवा पनि तह बढाउँदै जान्थ्यो । अहिले त्यो सिष्टम छैन ।’ प्रजातन्त्र आएपछि यो सिष्टम हटेको मार डा. मधुकरलाई पनि परेको छ ।
भिडियो गेम फेबरेट
यी सजिला चिकित्सकको जीवनशैली पनि सरल छ । विहान ५ बजेसम्म उठिसक्छन् । त्यसपछि एकघण्टा आफूलाई काम गर्दा परेका अप्ठ्यारोबारे खोजेर अध्ययन गर्छन् । मासु नभए खाना नरुचाउने उनको बानी छ । खसीको मासु र भात बढी मन पराउँछन् उनी।
होटलको जस्तो खाना उनलाई नरुच्ने भएकाले उनलाई घरकैजस्तो खाना बनाइदिनुपर्छ । सधैं खुुसी रहन रुचाउने उनी फुर्सदको समयमा भिडियो गेम खेल्न रुचाउँछन् । कोट, पाइन्ट उनलाई मनपर्ने पहिरन हो । उनी कहिल्यै कोट छोडदैनन् । भविष्यमा उनलाई राजनीतिमा लाग्ने रहर छ ।