२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलमोफसलमा न्यूरो सर्जरीका सारथी डा. यामबहादुर

मोफसलमा न्यूरो सर्जरीका सारथी डा. यामबहादुर

भारतमा हुर्केर पूर्वी नेपालमा न्यूरो सर्जरी सेवा दिइरहेका अब्बल चिकित्सकको कथा


निरन्तर सक्रियता, अनुहारमा उस्तै चमक, फिट शरीर, हक्की स्वभाव । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको आवरणीय चिनारी यही हो । बिरामीसँगको उनको सामीप्यता अझ लोभलाग्दो छ । दैनिक औसत ५० जना बिरामीलाई सेवा दिदैं आएका उनले २० वर्षको अवधिमा लाखभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका छन् । हजारौं बिरामीलाई नयाँ जीवन दिएर डा. रोका ती बिरामीका परिवारमा खुसीको प्रकाश छर्न सफल छन् ।

स्वर्गीय बुवा क्याप्टेन पदमबहादुर रोका र आमा मीनकुमारी रोकाको कोखबाट वि.सं. २०२८ असोज १० गते पश्चिम नेपालको बाग्लुङको वलेवामा जन्मिएका हुन्— उनी । डा. रोकाको बाल्यकाल रमाइलोसँग बित्यो । ‘बुवा इण्डियन आर्मी हुनुहुन्थ्यो । त्यही भएर मैले पनि भारतमा गएर शिक्षा हासिल गर्ने अवसर पाएँ,’ विगत सम्झिँदै उनले सुनाए, ‘चार वर्षको उमेरमा बुवाले भारत लिएर जानुभयो । सुरूवातमा मद्रासमा पढे । त्यसपछि दार्जिलिङमा । यसरी भारतको विभिन्न स्थानमा मैले उच्च शिक्षा हासिल गरे । एमबीबीएस र एमएस सर्जरीको पढाइ भारतमै पूरा भयो ।’

शिक्षादीक्षा विदेशमै भएपनि आफूले हासिल गरेको सीप नेपालीकै लागि स्वदेशमै उपयोग गर्ने उनको इच्छा थियो । त्यही इच्छाबलले पढाइ सकेपछि २८ वर्षको उमेरमा उनी नेपाल आए । त्यसबेला डा. रोका जनरल सर्जन थिए । पढाइ सकिनेबित्तिकै भारतमै जागिरको अफर आएको थियो । तर, उनको स्वदेशमा सेवा गर्ने इच्छा प्रबल थियो । उनले भने, ‘त्यसपछि वि.सं. २०५६ सालमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर सेवा सुरु गरे ।’ उनले तीन वर्ष विपी असिस्टेन्ट प्रोफेसर भएर काम गरे ।

त्यसबेला विद्यार्थीहरुलाई एमबीबीएस, एमएस, बिडिएस, नर्सिङलाई पढाउने, तालिम दिने काम गरे । विपीमा काम गर्दा पूर्वी क्षेत्रको स्वास्थ्य अवस्थाबारे उनले थाहा पाए । पूर्वमा न्यूरो सर्जरी सेवा अभाव थियो । न्यूरो सर्जनको आवश्यकता बोध भएपछि उनलाई न्यूरो सर्जन बन्ने इच्छा जाग्यो । त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट न्यूरो सर्जरीमा एमसीएच गरे । उनी न्याम्सको फस्ट एमसीएच न्यूरो सर्जन पनि हुन् । त्यसपछि दुई वर्ष सिंगापुरमा गएर थप विशेषज्ञता हासिल गरेपछि न्यूरो सर्जन भएर पूर्वाञ्चल आए । विपीमा एक वर्ष सेवा गरेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा जोडिए ।

वि.सं. २०६६ सालमा न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट तथा कार्यकारी निर्देशक अनिशा विष्टले त्यसबेला पूर्वाञ्चलमा न्यूरो सर्जरी सेवाको आवश्यकता महसुस गरेर डा. रोकाको नेतृत्वमा न्यूरो र्सजरी सेवा सुरू भयो ।
पाँच हजारभन्दा बढी शल्यक्रिया

डा. रोकाले न्यूरो अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू गरेपछि हालसम्म ५ हजारभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिसकेका छन् । त्यही सफलताले नै उनलाई अहिलेको चर्चित एवं व्यस्त न्युरो सर्जन बनाएको छ । झण्डै दुई दशकदेखि न्युरो सर्जरीमा सक्रिय उनले ठूला शल्यक्रिया मात्रै पाँच हजारभन्दा बढीको गरेका छन् ।

यसबीचमा उनीसँग केही रोचक अनुभव पनि छन् । त्यहीमध्येको एक हो, उनको करिअरकै सबैभन्दा लामो शल्यक्रिया । अपरान्ह ४ बजे सुरु भएको शल्यक्रिया बिहान ९ बजेसम्म गर्नुपरेको थियो । त्यो इमर्जेन्सी शल्यक्रिया गरेको उनी कहिल्यै भुल्दैनन् । ‘एक जना बिरामीको ब्रेन टुयुमरको शल्यक्रिया गर्दा पूरै रात मैले काम गरेको छु,’ डा. रोकाले सम्झिए, ‘बेलुका ४ बजेदेखि विहान ९ बजेसम्म १७ घण्टासम्म लगाएर ती बिरामीको शल्यक्रिया गरेको थिएँ ।’ रातभरी लगाएर गरेको शल्यक्रिया सफल भएको उनी बताउँछन् । अहिले पनि १२ देखि १३ घण्टासम्मको शल्यक्रिया गर्दै आएको उनले सुनाए । डा. रोका दैनिक १२ घण्टा वा त्यो भन्दा बढी बिरामीको सेवामा खटिँदै आएका छन् । कहिलेकाहीँ सर्जरी गर्दागर्दै विहान उज्यालो भैसक्छ । कहिले त रातभरी नै अस्पतालमै हुन्छन्, उनी ।

वि.सं. २०७२ सालको महाभूकम्पकै बेला डा. रोकाले ब्रेनको समस्या भएका बिरामीको शल्यक्रिया गरेका छन् । ‘हस्पिटलको भवन बेला—बेलामा हल्लिरहेको हुन्थ्यो, स्थिति भयावह थियो,’ उनले भूकम्पका बेलाको सम्झना गरे, ‘त्यहीबेला हामी टाउकोमा चोट लागेका बिरामीहरुको उपचारमा व्यस्त थियौं ।’ न्यूरो अस्पतालमा काम गर्दा डा. रोका अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरुलाई देउता सम्झन्थे । जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनी राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् ।

डा. रोकाले पूर्वमा न्यूरो सर्जरी सेवा सुरू गर्नुभन्दा अघि यहाँका बिरामी भारतको सिलिगुडी र काठमाडौं जानुपर्ने अवस्था थियो । सवारी दुर्घटनामा परी घाइते भएका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था थियो । अहिले स्थानीयस्तरमा न्यूरो सर्जरी सेवा सुरु भएपछि त्यो बाध्यता अन्त्य भएको छ । न्यूरो अस्पतालमा सेवा सुरु भएपछि प्रदेश १ र २ का बिरामीले न्यूरो सम्बन्धी सम्पूर्ण सेवा यहीँबाट पाउने गरेका छन् । ‘आजको मितिसम्म आइपुग्दा हामीले पाएको सफलताबाट प्रेरित भएर प्रदेश १ मा न्यूरो अस्पतालबाहेक ८ वटा अस्पतालहरुमा न्यूरो सर्जरी सेवा सुरू भएको छ । मसँग सिकेका ७ जना चिकित्सकहरु अहिले न्यूरो सर्जन भइसक्नुभएको छ,’ डा. रोका यो सुनाउँदा प्रफुल्लित देखिन्थे, ‘प्रदेश १ मा मात्र १६/१७ जना न्यूरो सर्जनहरु कार्यरत छन् । जसले गर्दा यहाँका विरामीको दुर्घटना वा अन्य न्यूरो सर्जरीसँग सम्बन्धी रोगबाट हुने मृत्युदरलाई धेरै नै कम गर्न सफल भइएको छ ।’ उनका अनुसार भारत गएर न्यूरो सर्जरीको लागि महंगो उपचार खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

अबको उद्देश्य अरु धेरै दक्ष न्युरो सर्जनहरुको उत्पादनमा सहयोग गर्ने रहेको डा. रोकाले सुनाए । ‘आफूले हासिल गरेको ज्ञान नयाँ पुस्ताका न्युरो सर्जनमा हस्तान्तरण गर्ने उद्देश्य छ,’ उनले भने । जीवनको हर समय बिरामीको उपचारमा खर्चेका डा. रोकालाई सबैभन्दा खुसी के कुराले दिन्छ ? ‘जब बिरामी निको बनाएर घर पठाउने समय हुन्छ, त्यो बेला बिरामी र तिनका आफन्तले दिने सम्मान र आर्शिवाद मेरा लागि अतुलनीय खुसीको क्षण हुन्छ ।’

डा. रोका भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रवल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । आफूले प्राप्त गरेको सम्मान र पदक शुभचिन्तकहरूलाई समर्पण गर्ने उनको भनाइ छ । ‘मैले पाएको सुप्रवल जनसेवाश्री मानपदवी मेरो शुभचिन्तकहरुमा समर्पण गर्न चाहन्छु,’ उनले भने । त्यसबाहेक नेपाल भारत शिरोमणी एवार्ड, आइकन अफ हेल्थकेयर एवार्ड, सिगांपुर, फोकस नेपाल एवार्ड, दाहाल अन्तर्राष्ट्रिय एवार्ड, जनबिद्रोह पत्रिका एवार्ड, आर. जिलिन्कास एवार्डबाट पनि उनी सम्मानित भइसकेका छन् ।

पेसाले चिकित्सक डा. रोका कवि पनि हुन् । बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने उनका दुई वटा कविता संग्रह प्रकाशित छन् । डा. रोकाले अंग्रेजी कविता संग्रह ‘१०८ कविताको भोल्युम १ र २’ बजारमा ल्याएका छन् । उनको कविता संग्रहमा १ सय ८ वटा अंग्रेजी कविता छन् । ३ देखि ७ भोल्युमको अर्को अंग्रेजी कविता संग्रह पनि बजारमा ल्याउने तयारीमा उनी छन् । भन्छन्, ‘कोभिड—१९ ले गर्दा मेरो अर्को कविता संग्रह बजारमा आउन ढिलो भयो । अहिले प्रकाशनको क्रममा रहेको छ । महिना दिनभित्र ल्याउने योजना छ ।’ अंग्रेजी कविता संग्रहको नेपाली अनुवादको योजना पनि रहेको सुनाउँदै उनले थपे, ‘नेपालीमा पनि अनुवाद गर्ने योजना बनाएको छु ।’

डा. रोका समाजसेवा पनि सक्रिय छन् । दुरदराजका बालवालिकाको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले उनले जन्मस्थल बाग्लुङको स्कूललाई सहयोग गर्दै आएका छन् । बिक्री भएको कतिवा संग्रहको पैसा बाग्लुङको स्कुललाई जान्छ । स्काई ड्राइभिङ, प्याराग्लाइडिङ, ¥याफ्टिङ, स्कुवा ड्राइभिङजस्ता साहसिक खेलकूद रूचाउने डा. रोका नेप्लीज सोसाइटी अफ न्यूरो सर्जनका उपाध्यक्ष तथा न्यूरोभास्कुलर च्याप्टर अफ नेसोनका अध्यक्ष पनि हुन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), #डा. यामबहादुर रोका, #न्यूरो अस्पताल, #न्यूरो सर्जरी सेवा, #वरिष्ठ न्यूरो सर्जन, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ