२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलअर्थोपेडिक सर्जरीका गडफादर डा. विनोद, जसले सरकारी सेवाका २९ वर्ष एकै अस्पतालमा बिताए

अर्थोपेडिक सर्जरीका गडफादर डा. विनोद, जसले सरकारी सेवाका २९ वर्ष एकै अस्पतालमा बिताए

लामो समय सरकारी सेवा रहँदा मन्त्रालयमा २ पटक मात्रै छिरेका चिकित्सक


बरिष्ठ अर्थोपेडिक सर्जन डा. विनोद थापाले पश्चिम नेपालका पहाडी जिल्लाका धेरै बालबालिका, युवा र वृद्धवृद्धाका भाँच्चिएका हात, खुट्टा जोडिदिने चिकित्सकका रुपमा ख्याति कमाएका छन् । २९ वर्ष नेपालगन्जलाई कर्मथलो बनाएर अनवरत सेवा दिइरहेका उनले हजारौं—हजारलाई चल्ने, हिड्ने बनाएका छन् ।

शल्यक्रियासहितको उपचार सेवा दिदै यी अर्थोपेडिक सर्जनले २९ वर्षसम्म नेपालगन्जको भेरी अस्पतालमा सर्जरीमा बिताए । दाङ, प्युठानदेखि कैलाली, कन्चनपुर, सुर्खेत, अछाम, कालिकोटदेखि जुम्ला, हुम्लासम्मका बिरामी उपचारका लागि भेरी अस्पतालमा पुग्थे । नारायणघाटदेखि पश्चिमका सरकारी अस्पतालमा काम गर्ने पहिलो अर्थाेपेडिक सर्जन पनि डा. थापा नै हुन् । उनका हातको कुशलता र उनले आर्जन गरेको सीपले पश्चिम नेपालका हजारौं मानिसको जीवनलाई सहज बनाएको छ । त्यसैले डा. थापालाई पश्चिम नेपालका अर्थोपेडिक सर्जरीका गडफादर भन्दा पनि हुन्छ । यति लामो अनवरत सेवाबाट डा. थापा दुई हप्ता पहिले मात्रै उमेर हदका कारण रिटायर्ड भएका छन् ।

दाङको गढवा स्थायी घर भएका डा. थापाले भारतको कानपुरस्थित गणेश शंकर विद्यार्थी मेमोरियल मेडिकल कलेजबाट एमएस कोर्ष पुरा गरेका हुन् । एमएसको पढाइ सकेपछि ९ महिना भारतको बम्बई हस्पिटलमा काम गरे । आफ्नै देश रहेर आफ्नो क्षेत्रमा केही गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई स्वेदश फर्कायो । वि.सं. २०४९ सालमा डा. थापा नेपाल फर्किए । नेपाल फर्केपछि भेरी अस्पतालमा अर्थाेपेडिक सर्जनको रुपमा काम सुरु गरे ।

सुरुका ३ वर्ष अस्थायी सर्जनका रुपमा उनले बिरामीलाई सेवा दिए । वि.सं. २०५२ सालमा स्थायी भएदेखि अवकाश नहुँदासम्म भेरी अस्पतालको हाड जोर्नी विभागको प्रमुखको रुपमा काम गरे । डा. थापाले भेरी अस्पताल सेवा सुरू नगर्दासम्म हात, खुट्टा भाँच्चिएका घाइते बिरामीहरुको सामान्य शल्यक्रिया जनरल सर्जनहरुले गर्थे । अलि गाह्रो केस भारतको बहराइचदेखि लखनउसम्म अस्पतालहरुमा लैजानुपथ्र्यो । उनले भेरी अस्पताल काम सुरु गरेपछि भने हाटखुट्टा भाँच्चिएका बिरामीहरुको भारतका अस्पताल चहार्नुपर्ने बाध्यता हट्यो ।

डा. थापाले भेरी अस्पतालमा हप्तामा ४ दिन ओपिडी र २ दिन शल्यक्रिया सेवा सुरु गरेर बिरामीको उपचार सेवा सुरु गरे । झण्डै २० बर्ष डा थापाले एक्लै भेरी अस्पतालको हाडजोर्नी विभाग संचालन गरे । ओपिडीमा मात्रै दैनिक औसत ४०—५० जनासम्म बिरामी चेक जाँच गर्थे । सोमबार र बिहिबार शल्यक्रियामा व्यस्त रहन्थे । बिहान ९ बजेदेखि साँझसम्मै भेरीमा शल्यक्रिया हुन्थ्यो । एकदिनमा एक्लै ६÷७ जनाको शल्यक्रिया गर्थे ।

२९ वर्षे सरकारी सेवा अवधिमा डा. थापाले बुटबलमा ३ महिना काम गरे । त्यसबाहेक भेरीमै उनको सबै समय बित्यो । भेरीसँगै आफ्नो बेष्टर्न हस्पिटलबाट उनले बिरामीलाई उपचार र शल्यक्रिया सेवा दिए । डा. थापाको २९ वर्षे सरकारी सेवाको अनुभव पनि कम्ता रोचक छैन । घाँस काट्ने बेला रुखबाट खसेर, भिरबाट लडेर, सवारी दुर्घटनामा परेर घाइते भएकादेखि माओवादी द्वन्द्वका बेला विद्रोही र सुरक्षाकर्मीको कुटाइबाट हात खुट्टा भाँच्चिएर आएका हजारौं बिरामीको उपचार र शल्यक्रिया उनले गरेका छन् ।

विश्वमै ख्याति प्राप्त कलेजबाट सन् १९९३ मै अर्थाेपेडिक सर्जनको कोर्स पुरा गरेका थापाले २९ वर्षे जागिरे अपधिमा स्वास्थ्य मन्त्रालयबाट एक पटक पनि अर्थाेपेडिक सर्जरी सम्बन्धी तालिम र कोर्स लिने अवसर भने पाएनन् । तर, उनले आफ्नै पहलमा युकेमा डेढ महिना र भारतका विभिन्न अस्पतालहरुमा छोटो अबधिका झण्डै दर्जन फेलोसीप गरेर नयाँ—नयाँ प्रविधिमा आफूलाई अभ्यस्त बनाए । ‘म जागिरे काममा २ पटक मात्रै स्वास्थ्य मन्त्रालय गएको छु,’ उनले सुनाए, ‘मन्त्रालयमा गएको बेला पनि मुस्किलले एक घण्टाभन्दा बढी बसेको छैन ।’

१० औं तहमा कार्यरत डा. थापा वि.सं. २०७७ सालमै देशभरका अर्थाेपेडिक सर्जनहरुमध्ये वरिष्ठ थिए । ११ तहमा प्रमोशनका लागि सूचना निस्कियो । संजोगवस त्यही बेला डा. थापा र उनकी पत्नी स्त्री रोग विशेषज्ञ डा. कल्पना थापा कोभिड–१९ संक्रमित भए । उपचारका लागि भारमा भएका बेला बढुवाको फर्म भर्ने समय नै सकियो ।

जसका कारण उनीभन्दा जुनियरले एघारौं तह हुने अवसर पाए । यो वर्ष पनि फेरि ११ औं तहमा प्रमोशनका लागि सूचना निस्कियो । तर, बढुवाको प्रक्रिया पुरा नहुँदै उनले उमेर हदका कारण अवकास पाए ।

बिरामीको चाप बढ्दै गएपछि डा. थापाले वि.सं. २०६१ सालमा आफ्नो निजी लगानीमा ४ बेड क्षमता वेष्टर्न हस्पिटल प्रा.लि. खोले । बिरामीको विश्वास बढ्दै गएका कारण वेष्टर्न हस्पिटलको बिस्तार गरेर ५० हुँदै अहिले १ सय बेड पु¥याएका छन् । वेष्टर्न हस्पिटलमा एक बर्षमा २ हजारदेखि २५ सय वटा शल्यक्रिया हुन्छन् ।

वेष्टर्न हस्पिटल नेपालगन्जमा अर्थाेस्कोपी, स्पाइन, इनप्लान्टलगायत हाडजोर्नीसँग सम्बन्धी शल्यक्रियासहितको उपचार हुन्छ । ‘उपचार र शल्यक्रिया भारतको लखनउ र काठमाडौंकै गुणस्तरमा झण्डै आधा शुल्कमा हुन्छ,’ डा. थापाले भने । रिटायर्डपछि डा. थापाको लक्ष्य नेपालगन्जमै अन्र्तराष्ट्रिय गुणस्तरको उपचार सेवा प्रदान गर्ने । त्यसका लागि वेष्टर्न हस्पिटलको क्षमता विस्तार गरेर एक सय बेड पु¥याएपछि वेष्टर्न हस्पिटलबाटै हरेक वर्ष अर्थाेमा एमएसरएमडी कोर्समार्फत २ जना हाडजोर्नीका रोग बिशेषज्ञ तयार गर्ने उनको योजना छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #गणेश शंकर विद्यार्थी मेमोरियल मेडिकल कलेज, #डा. विनोद थापा, #भेरी अस्पताल, #वेष्टर्न हस्पिटल प्रा.लि., #हाड जोर्नी विभाग प्रमुख


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ