२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११५० शैय्याको अस्पताल हाँकिरहेकी अनिशा, जसले उपचार अभावमा बाल्यकालमै आमा गुमाइन्

१५० शैय्याको अस्पताल हाँकिरहेकी अनिशा, जसले उपचार अभावमा बाल्यकालमै आमा गुमाइन्


जिन्दगीको यात्रा उसै पनि ‘नागबेली’ छ । कहिले उकाली त कहिले ओराली । अनि घुम्तीहरूसँगको जम्काभेट । सपना कति भेटिन्छन्, कति क्षितिज सरी टाढा हुन्छन् । यस्तै उतार चढाव पूर्ण जिन्दगी अनिशा विष्ट (बस्नेत) को पनि रह्यो । कहिले सुखको उच्छवास, कहिले दुःखको सगरमाथा । कहिले हिँड्नै सकस पर्ने उकाली त कहिले खुट्टा काम्ने ओराली । कहिले सलल बग्ने समथर त कहिले घुम्ती नै घुम्तीको गोलचक्कर ।

यस्तै, गोलचक्करका बीच अनिशाको जिन्दगीको रथ अगाडि बढयो । विराटनगरको हुने खाने परिवारमा जन्मिएकी अनिशाको पढाइ राम्रै थियो । बाल्यकाल सुखद् बित्यो । तर, त्यो खुशी धेरै दिन टिकेन । अनिशा ९ वर्षको छँदा आमा तुलसा बस्नेतको निधन भयो । उनले वि.सं. २०३८ कार्तिक २२ गते सुत्केरी आमालाई विराटनगरस्थित तत्कालीन कोशी अञ्चल अस्पतालमा गुमाइन् ।

दक्ष चिकित्सक र अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमा ज्यान गुमाउन परेको उनी बताउँछिन् । त्यो बेला १२ दिनको भाइ काखमा थियो । बाल्यकालमै मातृ सुख गुमाएकी उनले भाइका लागि भने आमाको भूमिका निर्वाह गरिन् । बाल्यकालदेखि संघर्षले नै उनको साथी बन्न पुग्यो । त्यही संघर्ष पढ्न र पढाउन सिकायो । पौरखी नारी बन्न प्रेरित गर्यो ।

आमाको निधनपछि भाइको सम्पूर्ण जिम्मेवारी उनमै आइलाग्यो । पढने धेरै इच्छा हुँदाहुँदै पनि विवाह छिट्टै भएकाले सोचे जति पढ्न उनले पाइनन् । उनले बीकमसम्मको अध्ययन गरिन् । उनको वि.सं. २०५० मंसिर २० गते डा. वीरेन्द्रकुमार विष्टसँग विवाह भयो । त्यसबेला डा. विष्टले एमबीबीएस मात्र गरेका थिए । हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । अनिशाले पनि आफ्नो श्रीमानको सम्पूर्ण जिम्मेवारी आफूले लिइन् ।

डा.विष्ट न्यूरोलोजीमा एमडी गर्न युनिभर्सिटी अफ लण्डनतर्फ गए । डा.विष्ट लण्डन पढ्न गएको ६ दिनपछि अनिशाले कोशी अञ्चल अस्पतालमा छोरा ऋतिक विष्टलाई जन्म दिइन् । यसअगाडि छोरी रोशनीको जन्म भइसकेको थियो । उनी २ वर्षकी थिइन् । ‘त्यसबेलाको सघर्ष, दुःख, पीडा भएपनि श्रीमान् पढेर, डिग्री लिएर आउने खुशीले सबै दुःख बिर्सिए,’ उनले भनिन् । समय बित्दै गयो । डा.विष्ट पढाइ सकेर नेपाल फर्किए । त्यसबेला नेपालमा एकदमै कम न्युरोलोजिष्टहरू थिए ।

अनिशाले अतीतका दिनहरू सम्झिँदै भनिन्, ‘विराटनगर आएलगत्तै उहाँ (डा. विष्ट)ले तत्कालीन कोशी अञ्चल अस्पतालमा ६ महिना काम गरी राजीनामा दिनुभयो । त्यो बेलामा कोशीमा न्युरोलोजी विभाग थिएन ।’ श्रीमान् र श्रीमती दुवै जना सल्लाह गरी आफ्नै अस्पताल खोल्ने योजना बनाए ।

सुरुमा विराटनगरस्थित शनिहाटमा १० शैय्याको हस्पिटल खोलेका थिए । अस्पतालको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी अनिशाले सम्हालेकी थिइन् । अस्पताल १० बेडको भएपनि त्यसको उद्घघाटन तत्कालीन बेलायती राजदूत रोलाल्ड पिनाष्टले गरेका थिए । ‘अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गयो,’ उनले सुरुवाती संघर्षका दिन स्मरण गर्दै भनिन्, ‘बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गयो ।’ थप सेवाहरू पनि क्रमसः बढाउँदै अगाडि गए । त्यसपश्चात् अस्पताल सानो र साँघुरो हुँदै गयो ।

वि.सं. २०६० सालमा आफ्नै भवनमा (हाल रहेको) ५० शैय्याको न्युरो अस्पताल विस्तार गरियो । न्युरोलोजी सँगसँगै न्युरो सर्जरीको पूर्वाञ्चलमै ठूलो अभाव थियो । प्रायःजसो सबै मानिस भारतको सिलिगुडी जाने गरेका थिए । यसैबीच, वि.सं. २०६५ सालमा डा.यमबहादुर रोकाको नेतृत्वमा न्युरो सर्जरी सेवा पनि शुभारम्भ भयो । न्युरो सर्जरी सेवा सुरु भएपछि पूर्वाञ्चलका बिरामीहरूले भारत गएर उपचार गराउनुपर्ने बाध्यताको अन्त्य मात्र भएको छैन, भारतीयहरु समेत उत्कृष्ट स्वास्थ्य सेवाबाट लाभ लिइरहेका छन् । हाल अस्पताल १ सय ५० शैय्याको छ । जसको व्यवस्थापनको अनिशाले गरिरहेकी छन् ।

अस्पतालको कार्यकारी निर्देशक भएर उनले नेपालकै एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई स्थापित गराउन सफल भएकी छन् । धैर्यता र सहनशीलताले उद्यम, व्यवसायमा संघर्षरत रहन प्रेरित गर्ने उनी बताउँछिन् । अनिशा एउटा कार्यकारी निर्देशक तथा जीवनसंगिनीका रूपमा त सफल छिन् नै एउटा आमाको रूपमा पनि उनको उपलब्धि गर्व गर्न लायक छ । उनका दुई सन्तानमध्ये छोरी रोशनी अहिले एमडीको तयारी गर्दैछिन् । छोरा ऋतिक एमबीबीएस पढिरहेका छन् ।

जो कसैले पनि रुचिकै विषयलाई पेशामा परिणत गरे सफल हुन सजिलो छ । तर, त्यसका लागि लगन, धैर्य र संघर्ष जारी राख्नुपर्ने उनको मत छ । अनिशाले पनि यही गरिन् । त्यसैले त उनी अहिले आफ्नो क्षेत्रमा अब्बल सावित भएकी छन् । अनिशालाई आजको सफलता कसैले बकसमा दिएर पाएको होइनन् । उनलाई संघर्षले यो स्थानमा पु¥याएको हो । संघर्षशील महिलाले नेतृत्वको गरेर स्थापित भएको हस्पिटलको रूपमा अहिले न्यूरो परिचित भएको छ । ‘महिलाले नेतृत्व गरेको कारणले अहिले अस्पताललमा कर्मचारी ७० प्रतिशत महिला रहेका छन्,’ उनले भनिन् ।

बुवा हेमराज र आमा तुलसा बस्नेतको वि.सं. २०२९ पुस २० गते अनिशाको जन्म भएको हो । अनिशा विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि आवद्ध छिन् । उनी धार्मिक तथा सामाजिक कार्यहरुमा संलग्न भएर अस्पतालमार्फत विभिन्न प्रकारका स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएकी छिन् । उनी वि.सं. २०५७ सालदेखि न्यूरो अस्पतालको कार्यकारी निर्देशक भएर अस्पताल सम्हालेदेखि नै सामाजिक काम पनि उत्तिकै सक्रिय छिन् ।

कृष्णगंगा फाउन्डेशनमार्फत लागु पदार्थ दुव्र्यसनीहरुकोे उपचारमा पनि उनले काम गरिरहेकी छन् । यस्तै, न्यूरो हेल्थ कलेजको निर्देशकको हैसियतमा स्वास्थ्य क्षेत्रमा कार्य गर्ने इच्छुकलाई शैक्षिक कलेज स्थापना गरी दश जनशक्ति उत्पादनमा पनि लागि परेकी छिन् । उनी लर्ड बुद्ध कलेजको निर्देशक पनि हुन् ।

आमाको स्मृतिमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल

दक्ष चिकित्सक र अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमा आमाले ज्यान गुमाएको उनले देखिन् । अरु आमाहरूले ज्यान गुमाउनु नपरोस् भनेर उनले आफ्नै आमाको नामबाट पनि न्यूरोको बिस्तारित शाखाको रुपमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल संचालनमा ल्याएकी छन् । उक्त हस्पिटल विराटनगरको महेन्द्रचोकमा विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलबाट पनि छुट्टै सेवा सुरु भएको छ । यो ५० शैय्याको अस्पताल हो ।

‘भाइलाई जन्म दिएपछि मेरी आमाले संसार छोडेर जानुभयो । त्यसबेला भाइ जन्मेको १३ दिन भएको थियो । म ९ वर्षको थिएँ । अहिलेजस्तो उपकरण र भरपर्दो उपचार नपाएर अकालमा आमाले ज्यान गुमाउनुभयो’ अतीतको सम्झिदै भावुक स्वरमा उनले भनिन्, ‘मेरो आमाले जस्तो अरू कसैको आमाले पनि भरपर्दो उपचार नपाएर ज्यान गुमाउन नपरोस् भनेर आमाको नाममा शाखा विस्तार गरेको हुँ ।’

यो शाखाबाट वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शैलजा क्षेत्री श्रेष्ठ र वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहबाट दैनिक सेवाहरू सुचारु हुँदै आएको छ । ‘आज म प्रत्येक दिन कम्तीमा एउटा आमालाई बचाउन भूमिका खेलिरहेको छु । यही नै हो मेरो आमाप्रतिको सच्चा श्रद्धाञ्जली,’ उनले भनिन् ।


क्याटेगोरी : प्रदेश १, प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ