२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलबेरियाट्रिक सर्जन डा. राकेश साह, भन्छन्, ‘यो सर्जरी जीवनशैली नै परिवर्तन गरिदिन्छ’

बेरियाट्रिक सर्जन डा. राकेश साह, भन्छन्, ‘यो सर्जरी जीवनशैली नै परिवर्तन गरिदिन्छ’


७ महिनाअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १०९ किलो तौल भएकी २८ वर्षीया अविवाहिता युवती उपचारका लागि आइन् । ती युवतीलाई रातभर नै निन्द्रा नपर्ने, उच्च रक्तचापको औषधी खाइराख्नुपर्ने भएको थियो । सुगर बोर्डर लाइन क्रस गर्नै लागेको थियो । त्यसबाहेक महिनावारीमा समस्या, हातखुट्टा र जिउ दुख्ने समस्या पनि थिए । फिजिसियनको सल्लाहमा औषधी सेवन गर्दा पनि दुई वर्षसम्म वजन नघटेपछि उनी रिफर भएर ग्राण्डी पुगेकी थिइन् ।

डा. राकेश साहको टिमले ती युवतीको वजन घटाउनका लागि शल्यक्रिया ग¥यो । ‘उहाँलाई उपयुक्त हुने शल्यक्रिया ग¥यौ । वजन ७ महिनाको अवधिमा १०९ बाट ८२ केजीमा पुगेको छ,’ डा. साहले भने, ‘७ महिनामा अझै वजन घट्ने क्रम छ । उहाँको महिनावारी रेगुलर हुनुको साथै अन्य स्वास्थ्य समस्या पनि कम भैसकेका छन् ।’ मानिसको जीवनशैलीलाई बेरियाट्रिक सर्जरीबाट पनि परिवर्तन गर्न सकिन्छ भन्ने यो त उदाहरण मात्रै हो ।

डा.साहले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका एक दर्जन बढी मोटोपनको समस्या झेलिरहेका बिरामीहरुको बेरियाट्रिक सर्जरी गरिसकेका छन् । जसमा सबैभन्दा बढी १४० केजी वजन भएका युवाको शल्यक्रिया पनि समावेस छ । भारतको चण्डीगढबाट ग्यास्ट्रो सर्जरीमा एमसीएच गरेका उनी मेटोपना घटाउन सम्बन्धि यो सर्जरी गर्ने नेपालका बिरलै चिकित्सकमा पर्छन् । भन्छन्, ‘नेपालमा यस्तो सर्जरी गर्ने सम्भवतः म एक्लो चिकित्सक हुँ ।’

डा. साह वि.सं. २०३५ सालमा धनुषाको सबैला नगरपालिका—११ मा जन्मिएका हुन् । बुवा गंगाप्रसाद साह र आमा ईश्वरीदेवी साहसहित उनको सिंगो परिवार कृषि पेशामा संलग्न थियो । मध्यवर्गीय किसान परिवारमा जन्मिएका उनले कक्षा ५ सम्म स्थानीय जनता राष्ट्रिय प्राथमिक विद्यालय अध्ययन गरे । बाल्यकालदेखि नै उनमा सामान्य स्वास्थ्य समस्या थियो । त्यही कारण परिवारले उनलाई डाक्टर बनाउने निधो गरेको थियो । उनी स्वयंको सपना पनि डाक्टर बन्ने नै थियो ।

त्यही कारण उनलाई परिवारले थप शिक्षाका लागि जनकपुरधाममा रहेको जानकी आवासीय माध्यमिक विद्यालयमा पठायो । स्कुल जीवनमा उनलाई सबै विषयमा उत्तिकै रुचि थियो । त्यसमा पनि उनी कृषि र साहित्य विषय बढी रुचाउँथे । ‘साहित्य निकै मनपथ्र्यो । स्कुल र कलेज पढ्दासमेत म कविता कोर्ने गर्थे,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग यी फरासिला चिकित्सक सुनिए ।

वि.सं. २०५१ सालमा जानकी आवासीय माध्यमिक विद्यालयबाटै डा. साहले एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनी उच्च शिक्षाका लागि चन्ढीगढ गए । त्यहाँको डिएभी कलेजबाट उनले कक्षा १२ उत्तीर्ण गरे । त्यसपछि उनी नेपाल फर्केर एमबीबीएसको तयारी गर्न थाले । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमबीबीएसको इन्ट्रान्समा नाम निस्कियो ।

सन् २००० मा उनी एमबीबीएस अध्ययन गर्नका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गए । सन् २००६ मा उनले आफ्नो डाक्टरी सपनाको पहिलो खुडकिलो पार गर्दै एमबीबीएस अध्ययन पूरा गरे । त्यसपछि केही समय काम गरेपछि उनी माष्टर अफ सर्जरी (एमएस) गर्न पिजीआई चण्ढीगढ गए । त्यहाँ छात्रवृत्तिको परीक्षा दिए ।

छात्रवृत्तिमा नाम निस्किएपछि उनी त्यहाँ एमएस अध्ययन गर्न थाले । डा. साहले सन् २०१० मा एमएस सके । त्यसपछि नेपाल फर्किए । त्यही बेला उनले पहिलो पटक बेरियाट्रिक सर्जरीबारेमा थाहा पाएका हुन् । ‘मास्टर पढाइका क्रममा भारतमा भर्खर गुरुहरुले बेरियाट्रिक सर्जरी सुरु गर्नु भएको थियो,’ उनी भन्छन्, ‘त्यसबेला मैले यो सर्जरीपछि मानिसको जीवनशैली अवस्था नै परिवर्तन भएको देखे ।’ यही बेलादेखि उनी बेरियाट्रिक सर्जरीप्रति आकर्षित भएका हुन् ।

एमएस सकेपछि उनले नेपाल फर्केर ५ महिना भरतपुरको कलेज अफ मेडिकल साइन्सेजमा लेक्चररको रुपमा काम गरे । सर्जरीको अध्ययन अझै उनलाई पुगिसकेको थिएन । ‘मास्टर पढ्ने बेला नै मैले के अनुभूति गरेको थिए भने यो सर्जरी क्षेत्रमा सुपरस्पेसियलाइज्ड नभएसम्म सधैं अल्पज्ञान नै रहन्छ,’ डा. साह भन्छन्, ‘बिरामीलाई विश्वस्तरीय सेवा दिन सक्दैनौं भन्ने थियो ।’

त्यही कारण उनी एमसीएच गर्नका लागि कस्सिए । उनको रुचि ग्यास्ट्रो सर्जरीमा थियो । कडा मेहनतकै परिणाम मान्नुपर्छ, पिजीआई चण्ढीगढमा १३ वटा सिटमा उनको नाम निस्कियो । त्यसपछि उनी ग्यास्ट्रोमा एमसीएच गर्न पीजीआई पुगे । आखिर ग्यास्ट्रो सर्जरी नै किन त ? ‘लिभर, गलब्ल्याडर, प्यानक्रियाज र आन्द्रासँग खेल्न र उपचार गर्न मलाई रमाइलो लाग्थ्यो,’ यी ग्यास्ट्रो सर्जन सुनाउँछन्, ‘मैले त्यही कारण पीजीआईमा एमसीएच, एचपीभी एण्ड ग्यास्ट्रो सर्जरी पढे ।’

सन् २०१३ मा पिजीआईबाट एमसीएच सके । सन् २०१४ मा नेपाल फर्किए । नेपाल फर्केपछि ५ महिना यी विशेषज्ञ चिकित्सक बेरोजगार बस्नुप¥यो । २०१४ मा डा. सुनिल शर्माले उनलाई नेपाल मेडिकल कलेजमा आफैसँग काम गर्न बोलाए । ‘निकै मद्दत गर्नुभयो,’ डा. साह सम्झन्छन् । त्यही डा. शर्मालाई उनले बेरियाट्रिक सर्जरीबारे सुनाए ।

नयाँ काम गर्नेलाई उर्जा दिने डा. शर्माले पनि उनलाई ग्रीन सिग्नल दिइहाले । ‘नेपाल मेडिकल कलेजमै हामीले पहिलो पटक बेरियाट्रिक सर्जरी सुरु गरेका हौं । मलाई यो अप्रेसन गर्न आउँछ भन्दा म तपाईको साथमा छु भन्नुभयो,’ उनले भने, ‘त्यही हामीले सन् २०१४ मा नेपाल मेडिकल कलेजमा पहिलो पटक यो शल्यक्रिया ग¥यौं ।’ नेपालमा पहिलो पटक बेरियाट्रिक सर्जरी गर्नु पाउनुलाई उनी आफ्नो भाग्य सम्झन्छन् ।

सन् २०१५ फ्रेवुअरीदेखि उनी ग्रान्डी अस्पतालमा आवद्ध भए । ग्राण्डी अस्पतालमै उनले एक दर्जन बेरियाट्रिक सर्जरी गरिसकेका छन् । उनको हातको सीप बेरियाट्रिकबाहेक अन्य ५ हजार बढी पेटका शल्यक्रिया चलिसकेको छ । ‘पित्तथैलीको पत्थरी बढी देखिएको छ,’ यी सर्जनले भने, ‘ठूलो आन्द्राको क्यान्सरको समस्या पछि छ । तर, मेरो अनुभवमा पित्तथैलीको पत्थरीको लागि नेपाल हट स्पटजस्तै छ ।’

भविष्यको एउटै सपना सपना इमान्दारितापूर्वक बाँच्नु रहेको बताउने डा. साह आफूले शल्यक्रिया गरेका बिरामी ठिक हुँदा सबैभन्दा बढी खुसी हुन्छन् । डा. साह नेपालमा जनतामुखी स्वास्थ्य सेवाका लागि विशेषज्ञहरु फुलटाइम एउटै संस्थामा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिन्छन् । ‘चिकित्सकहरु एउटै स्वास्थ्य संस्थामा काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । त्यसबाट बिरामीले राम्रो सेवा पाउँछन्,’ उनी भन्छन्, ‘यसमा राज्य र सरोकारवाला निकायहरुको ध्यान जान जरुरीछ ।’

घुम्न रुचाउने सर्जन

डा. साहको जीवनशैली पनि सामान्य छ । उनी घुम्न मन पराउँछन् । तर, पहिले समय हुँदा पैसा थिएन, अहिले पैसा हुँदा समय नभएको उनको अनुभव छ ।

‘स्कुल कलेज पढ्दा घुम्न मन हुन्थ्यो तर हामीजस्ता किसान परिवारका मानिसहरुलाई खर्च हुँदैन्थ्यो,’ उनी भन्छन्, ‘जब पैसा आउन थाल्यो अहिले व्यस्त भइयो ।’ तापनि उनी हरेक वर्ष परिवारसँग कहीँ न कहीँ घुमिरहेका हुन्छन् । उनको पहिलो प्राथमिकता नेपालमै घुम्ने छ । उनलाई पोखरा र चितवन सबैभन्दा मनपर्ने ठाउँ हुन् ।

अधिकांस समय काममै व्यस्त हुने उनी दैनिक आफूलाई एक घण्टा जसरी पनि निकाल्छन् । त्यो समयमा उनी व्यायाम गर्ने, हिड्ने, भजन सुन्ने, आफै मन लागेको कुरा गर्छन् ।

उनलाई खानामा दही र माछामासु बढी मन पर्छ । फलफूल र सागपात पनि दैनिक खान्छन् । अधिकांश उनको समय पढाइमा बितिरहेको हुन्छन् । म बाहिर निस्कँदा कुनै न कुनै किताब किनेर ल्याइहाल्छन् । भारतीय नर्ससँग २०७२ सालमा विवाह बन्धनमा बाँधिएका उनीकी एउटी छोरी छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कलेज अफ मेडिकल साइन्सेज, #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. राकेश साह, #पिजीआई चण्ढीगढ, #बेरियाट्रिक सर्जरी, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ