२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइल१०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन्

१०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन्


१०० शैय्याको मध्यपुर अस्पतालको कमाण्ड डा. रविना प्राधानांगले सम्हाल्दैं आएकी छन् । ३४ वर्षकै उमेरमा मेडिकल निर्देशकमा रुपमा अस्पतालको मेडिकल नेतृत्व सम्हाले उनी १२ वर्षदेखि अनवरत त्यही पोष्टमा क्रियाशील छन् । यो अवधिमा उनको कमाण्डमा अस्पताल ५० शैय्याबाट १०० शैय्यामात्रै भएको छैन्, कर्मचारी वृद्धि, सेवा, सुविधा विस्तारसँगै बिरामीको विश्वाससमेत जित्दैं गइरहेको छ ।

४६ वर्षको उकालोमा हिडिरहेकी डा. रविनाकै कुशल नेतृत्वमा निरन्तर सफलतातिर लम्किरहेको मध्यपुर अस्पतालमा ६० जना बढी त विशेषज्ञ चिकित्सकहरु सेवा दिन्छन् । नर्सिङ स्टाफ र अन्य जनशक्तिसमेत गरेर झण्डै ३ सय बढी कर्मचारी अस्पतालमा काम गर्छन् । त्यसबाहेक मध्यपुर अस्पतालको आफ्नै ‘श्रद्धा इन्स्च्यिुट अफ हेल्थ साइन्स’ कलेजसमेत सञ्चालनमा छ । डा. रविनाको जिम्मेवारीमा अस्पतालको चिकित्सा गतिविधीको निगरानी, उपचार, जनशक्ति परिचालनसँगै सेवा विस्तार र गुणस्तरका हरेक पक्षको सुक्ष्म निगरानी पर्छ ।

‘म मेडिकल म्यानेजमेन्टको काम गर्छु,’ हालैको एक दिउँसो हेल्थआवाजसँग उनले भनिन्,। डाक्टरहरुको म्यानेजमेन्ट गर्ने जिम्मेवारी मेरै छ ।’ चिकित्सकको र म्यानेजमेन्टको राम्रो टिम भएकाले अस्पताल सञ्चालनमा उत्कृष्ट टिमवर्क रहेको उनले बताइन् । ‘अघि बढौंभन्दा सबै जना सक्रिय भएर लाग्नुहुन्छ,’ मध्यपुर अस्पतालकी मेडिकल निर्देशक डा. रविना सुनाउँछिन्, ‘स्टाफ पनि समय दिएर अनुशासित भएर काम गर्नुहुन्छ । यी सबैकुरा मिलेर संस्था बलियो हुँदै जाने हो ।’

पेशाले स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रविना व्यवस्थापकीय कामका साथै ओपीडीमा बिरामी हेर्नेदेखि शल्यक्रिया गर्नसमेत भ्याइरहेकी हुन्छिन् । अहिलेसम्म उनले हजारौं बिरामीको शल्यक्रिया गरिसकेकी छन् । स्थापनाकालदेखि नै मध्यपुर अस्पतालको मेडिकल नेतृत्व सम्हालिरहेकी उनी अनुभवले एकपछि अर्को परिपक्व बन्दै गएकी छन् । जसका कारण उनमा अहिले आत्मविश्वास पनि उतिकै बढेको छ । आत्मविश्वास बढ्नुका पछाडि अस्पतालको व्यवस्थापन टिमको निरन्तर सहयोग पनि हो ।

५० शैय्याको अस्पताल हुँदैं अहिले १०० शैय्याको अस्पतालको नेतृत्व गरिरहेका डा. रविना वि.सं. २०३३ साल जेठमा भक्तपुरको नगदेशमा जन्मिएकी हुन् । उनका बुवा कैलाशभक्त प्रधानांग कहलिएका सहकारी विज्ञ हुन् । आमा रन्जनादेवी प्रधानांग सरकारी स्कुलको प्रिन्सिपल थिइन्, जो अहिले रिटायर्ड भइसकेकी छन् । कैलाश र रन्जनाका तीन सन्तानमध्ये उनी जेठी हुन् । शिक्षित परिवारमा जन्मिएकाले रविना र उनका भाइहरुको शिक्षादीक्षामा अभिभावक विशेष ध्यान थियो ।

रविनाको प्रारम्भिक शिक्षा नै नाम कहलिएको शैक्षिक संस्था एसओएस बालग्रामबाट भएको हो । स्कुले जीवनमा उनलाई विज्ञान र गणित विषय मन पथ्र्यो । उनले एसओएसबाट वि.सं. २०४८ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुन् । स्कुले जीवनमा मेडिकल फिल्डमा जाने उनको कुनै योजना थिएन् । बरु, इञ्जिनियरिङमा उनको विशेष रुचि थियो ।

तर, परिवारमा र खासगरी उनको मावलीका अधिकांश सदस्यले मेडिकल क्षेत्रमै नाम कमाएका थिए । त्यही कारण मामाले नै रविनालाई डाक्टरी पढ्न सल्लाह दिए ।

रसियाबाट सन् १९९९ मा एमबीबीएस सकेर उनी नेपाल फर्किइन् । नेपालमा आएपछि धुलिखेल अस्पतालमा ३ वर्ष मेडिकल अधिकृतका रुपमा सेवा गरिन् । त्यसपछिका तीन वर्ष उनले लमजुङमा मेडिकल अधिकृतका रुपमा बिताइन् ।

सन् २००३ मा उनी एमडी गर्नका लागि पुनः रसिया गइन् । गाइनोकोलोजी र अब्स्ट्याकमा सन् २००६ मा एमडी सकिन् । त्यही वर्ष नेपाल फर्केकी उनले दोलखाको च्छो रोल्पा हस्पिटलमा स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा एक वर्ष बिताइन् । सन् २००७ मा काठमाडौं फर्केर परोपकार प्रसुति गृहमा रजिष्ट्रारका रुपमा काम सुरु गरिन् । ‘झण्डै ५ वर्ष मैले त्यहाँ काम गरे,’ उनले सुनाइन्, ‘सन् २००९ देखि एक वर्ष फ्यामिली प्लानिङ ट्रेनरका रुपमा पनि सक्रिय भए ।’

डा. रविना परोपकार प्रसुति गृहमा काम गर्दा भक्तपुरका धेरैजसो बिरामीहरु त्यहाँ आइरहेका हुन्थे । भक्तपुरमा राम्रो अस्पतालको अभाव थियो । ‘भक्तपुरको साना–साना केस पनि प्रसुति गृहमा आइरहेका हुन्थे । मलाई त्यहाँ साथीहरुले भक्तपुरको बासिन्दा भएर पनि भक्तपुरका लागि केही नगर्ने भनेर धेरै भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘प्रसुतिमा काम गर्दा त्यो नै मेरा लागि अस्पताल खोल्ने प्रेरणाको स्रोत भयो ।’ त्यही कारण भक्तपुरमै अस्पताल खोल्न प्रेरित भएकी उनी मध्यपुर अस्पताल स्थापनामा सक्रिय भइन् । त्यही सक्रियताको परिणाम वि.सं. ०६७ साल कात्तिकबाट मध्यपुर ठिमी शंखरधर चोकमा ५० शैय्याको मध्यपुर ठिमी अस्पताल सञ्चालनमा आयो ।

त्यो बेला भक्तपुरमा अस्पतालको अभाव रहेको डा. रविना बताउँछिन् । मध्यपुर ठिमी शंखधर चोकमा ५० शैय्याको अस्पताल स्थापना भएपछि त्यसले थोरै भएपनि त्यो अभावलाई पूर्ति गर्ने काम ग¥यो । सुरुमा भवन भाडामा लिएर थोरै लगानीबाट मध्यपुर अस्पताल सञ्चालनमा ल्याइएको थियो । जसको मेडिकल निर्देशकको जिम्मेवारी डा. रबिनाले नै पाइन् ।

२५ जना कर्मचारीबाट सुरु भएको अस्पतालले सुरुमा गाइनो, अर्थोपेडिक, मेडिसिन, पेडियाट्रिक, रेडियोलोजी, ईएनटीलगायतका सेवा दिन्थ्यो । सुरुवाती दिनहरुमा इमर्जेन्सीमा ४—५ जना बिरामी हुन्थे । ‘प्रसुतिमा काम गर्दाको पनि बिरामी भएको हुँदा ओपिडीमा बिरामी कुर्ने दिन चाहिँ आएन्,’ डा. रविना भन्छिन्, ‘३० देखि ५० जना ओपिडीमा बिरामी हुन्थे ।’ स्थापनाको एक महिनापछि नै मध्यपुर अस्पतालले अर्थो, गाइनोहरुको शल्यक्रिया सेवा समेत दिन थाल्यो । त्यसपछि भर्नाका केस पनि बढ्न थाले ।

डेडिकेटेड टिमवर्कका कारण अस्पतालले दिनप्रतिदिन प्रगति गर्दै गयो । सेयरहोल्डर पनि थपिदैं गए । त्यसैको परिणाम नै मान्नुपर्छ, २५ जना कर्मचारी लिएर भाडाको भवनबाट सुरु भएको ११ वर्षमै ३ सय जना कर्मचारी पुगेका छन् । आफ्नै साढे ८ रोपनी जग्गामा अस्पतालको भवन, नर्सिङ कलेज छ । अस्पतालमा ६० जनाभन्दा बढी विशेषज्ञ चिकित्सक मात्रै आवद्ध छन् । अहिले ओपिडीमा मात्रै दैनिक डेढ सयदेखि २ सय जनासम्म बिरामी हुन्छन् । अस्पतालमा ७५ प्रतिशत बेड भरिएको हुन्छ । ‘यो सफलताको प्रमुख कारक टिमवर्क हो,’ उनले भनिन्, ‘अस्पतालमा लगभग सबै विशेषज्ञ सेवाहरु उपलब्ध छन् ।’

अस्पतालले केही समयअघिबाट मात्रै युरो र ग्यास्ट्रोइन्टरोलजी सेवा सञ्चालनमा ल्याएको छ । प्राविधिक र भौतिक रुपमा पनि अस्पताललाई अब्बल बनाउँदैं लैजान लागेको मेडिकल निर्देशक डा. रविना बताउँछिन् । मध्यपुर अस्पतालले छिट्टै एमआरआईको सेवा सुरु गर्दैछ।

‘एमआरआईमा जाने कुरा छ, यसको प्रक्रिया मन्त्रालयमा गएर अड्किएको छ,’ उनले भनिन्, ‘नयाँ भवन बन्दैंछ, पुरानोमा जे अभाव थियो त्यो नयाँमा गर्ने सोच छ ।’ पर्याप्त भौतिक पूर्वाधार बनाउने उद्देश्यले अस्पतालसँगै जोडिएको साढे ६ तले भवन लिजमा लिइएको छ । उनले अस्पतालको रेडियोलोजी सेवा पनि अब्बल बनाउँदैं लगिएको बताइन् । नयाँ भवनमा २० वेडको आईसीयुसहित ८ वटा सुविधासम्पन्न क्याबिनको हुनेछन् । ‘धेरै केस आउँदा कहिलेकाही अप्रेसन कक्षको अभाव हुन्थ्यो,’ उनले थपिन्, ‘महिनामै डेढ सय वटा अप्रेसन हुन्छ । अब त्यही अभाव हटाउनका लागि नयाँ अप्रेसन कक्ष बनाउने छौं ।’

राजमार्गसँगै जोडिएको अस्पताल र २४ सैं घण्टा अर्थोको विशेषज्ञ सेवा भएकाले मध्यपुर अस्पतालमा अधिकांश दुर्घटनाका केसहरु आउँछन् । ‘यो काम गर्न चुनौतीपूर्ण छ । बिरामीलाई केही भैहालेमा हंगामा, तोडफोड, हातपात हुने हुन्छ,’ उनी भन्छिन्, हाम्रोमा दुर्घटनाको केस बढी आउँछ । उपचार गर्दागर्दै मृत्यु भएमा आफन्त आएर अस्पतालमा तोडफोड गर्नेजस्ता कारण गाह्रो पनि हुने हुन्छ ।’ बेबारिसे केस आउँदा अस्पतालले फन्ड उठाएर पनि उपचारमा सहयोग पु¥याउने गरेको उनले बताइन् ।

डा. रविनाले भविष्यमा मध्यपुर अस्पताललाई २०० शैय्याको अस्पताल बनाउने लक्ष्य लिएकी छन् । यसका साथै दक्ष जनशक्ति विकासमा पनि आफूहरुको जोड रहने उनले बताइन् । ‘भविष्यमा दक्ष जनशक्ति विकास गर्ने योजना छ,’ उनले भनिन्, ‘अस्पतालमात्र विकास होइन्, क्षमतावान जनशक्ति विकास गर्नु पनि आजको आवश्यकता हो ।’

लामो समय मध्यपुर अस्पतालको नेतृत्व गरेकी डा. रविनालाई महिला नेतृत्वका घर र कार्यलय दुवै सम्हाल्नुपर्ने भएकाले बढी चुनौतीपूर्ण हुने अनुभव सुनाउँछन् । ‘महिलाले नेतृत्व गर्दा घरपरिवार पनि हेर्नुपर्ने हुँदो रहेछ । दुवैमा समय दिनुपर्ने चुनौती हुन्छ,’ उनी अनुभव साटछिन् । नेपालमा निजी अस्पताल संचालन गर्न कठिन रहेको बताउँदैं उनी सेवा, सुविधा, बिरामीको माग सबैकुरा हेर्नुपर्ने बताउँछन् । ‘सेवा दिन्छु अपग्रेड गरौँ भन्दा नीति नियमले बाँधेकाले अलि असहज हुन्छ ।’

अस्पताल पुगेपछि घर फर्किने टुंगो हुँदैन

डा. रविनाको जीवनशैली पनि सामान्य छ । उनी विहान ६ बजे नै उठछिन् । त्यसपछि घरको काम गर्छिन् । छोराछोरीलाई तयार पार्छिन् । बिहानको खाना घरमा नै खान्छिन् । उनी साधारण खाना रुचाउँछिन् । त्यसपछि उनी १० बजे अस्पताल आइपुग्छिन् ।

कहिलेकाही शल्यक्रियाका केस आउँदा भने उनी बिहान पनि अस्पताल पुगिरहेकी हुन्छिन् । अस्पताल आएपछि घर जाने टुंगो हुँदैन् ।

साधारण आफूलाई सहज हुने पहिरन उनलाई मन पर्छन् । फुर्सदको समयमा आफ्नै फिल्डका किताबहरु पढ्ने गर्छिन् । त्यसबाहेक टेलिभिजन र सामाजिक संजालमा पनि उनको समय बितिरहेको हुन्छ । उनी बेलाबखत फिल्म हेर्ने गर्छिन् । गीत संगीत पनि सुनिरहेकी हुन्छिन् ।

उनका एक भाइ डा. रवीन्द्र प्रधानांग त्रिवि शिक्षण अस्पतालमा ईएनटीका प्रोफेसर छन् भने अर्का भाइ सुदेशभक्त प्रधानांग मध्यपुर अस्पतालकै प्रयोगशाला प्रमुख हुन् । उनका दुई सन्तान रुषा र रुसान छन् ।

त्यो भए यी व्यस्त चिकित्सकलाई के कुराले खुसी दिन्छ । भन्छिन्, ‘साथीभाइ वा कसैले मध्यपुर अस्पताल को प्रगतिको बारे चर्चा सुन्दा निकै खुसी लाग्छ ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #डा. रविना प्राधानांग, #डा. रवीन्द्र प्रधानांग, #त्रिवि शिक्षण अस्पताल, #धुलिखेल अस्पताल, #परोपकार प्रसुति गृह, #मध्यपुर अस्पताल, #मेडिकल निर्देशक, #रसिया, #स्त्री तथा प्रसुति रोग विशेषज्ञ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)