२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलस्पीच ल्याङ्वेज प्याथालोजिष्ट प्रभा, बालबालिकाका लागि अर्किडले चलाउँदैंछ ‘इआईपी’

स्पीच ल्याङ्वेज प्याथालोजिष्ट प्रभा, बालबालिकाका लागि अर्किडले चलाउँदैंछ ‘इआईपी’


बच्चाको बोली नफुट्दाको पीडा सन्तानको तोतेबोलीसँग लुटपुटिन खोजिरहेका अभिभावकलाई भन्दा बढी कसलाई थाहा होला । बच्चा स्वभाविक रुपमा खुट्टा टेक्न नसक्दाको पीडा पनि सबैभन्दा बढी परिवारका सदस्यले नै झेलिरहेका हुन्छन् । भविष्य मानिने बालबालिकाहरुमा देखिने यस्ता समस्याहरु समाधानका लागि नेपाल पर्याप्त होमवर्क भएको छैन । यी समस्या निराकरणका लागि खोलिएका सेन्टरहरु एकदमै न्यून छन् । अझ होलिस्टिक विकासका लागि काम गर्ने सेन्टर त शुन्यप्रायः नै ।

अर्किड फिजियो एण्ड रिह्याबिलिटेसन सेन्टरले त्यही अभावलाई चिर्न खोज्दैछ । अटिजम भएका र बोली विकास नभएका, हिडडुलमा समस्या भएका, दैनिक क्रियाकलाप तथा संवेदनासँग सम्बन्धितलगायतका समस्या रहेका बालबालिकालाई केन्द्रीत गरेर बसुन्धरास्थित अर्किडले ‘पेडियाट्रिक एण्ड अर्ली चाइल्ड केयर एण्ड डेभलपमेन्ट’सँग सम्बन्धित सेवा सुरु गर्न लागेको हो । जसलाई ‘अर्ली इन्टरभेन्सन प्रोग्राम (इआईपी) नाम दिइएको छ ।

यो कार्यक्रममा ३२ वर्षीया युवा ‘स्पीच ल्याङ्वेज प्याथालोजिष्ट’ प्रभा दवाडी पनि संलग्न छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की एसिस्टेन्ट प्रोफेसरसमेत रहेकी उनी अर्किडले सुरु गर्न लागेको यो कार्यक्रम नेपालमै नयाँ भएको बताउँछिन् । ‘एउटा सिंगो सेन्टर नै अर्ली इन्टरभेन्सनका लागि विकास गरेर बालबालिका विकासमा व्यवस्थित तरिकाले काम गर्न थालिएको यो नेपालमा पहिलो हो,’ उनी भन्छिन् ।

त्यसका लागि अर्किडलाई नयाँ स्वरुप दिएर पेडियाट्रिक सेटअपमा ढालिएको छ । अर्किड उपलब्ध म्युजिक थेरापी, फिजियो थेरापी, अकुपेसनल थेरापी, योगा थेरापी, स्पीच ल्याङ्वेज थेरापीको सहायताले बच्चाहरुको ‘न्यूरल नेट्वर्किड’मा सहयोग पुग्ने प्रभा बताउँछिन् । प्रभाकाअनुसार नेपालमा अहिले पेडियाट्रिक सेटअपमा थोरै काम भैरहेको छ । ‘जति काम भैरहेको छ सबै मेडिकल्ली भैरहेको छ,’ उनी भन्छिन्, ‘तर, बोली, भाषा, फिजिकल सम्बन्धी स्थापना र पुनःस्थापनाको काम एकदमै थोरै मात्रामा भैरहेका छन् ।’ अर्किडले त्यही कुरालाई ध्यान राखेर यी सबै सेवालाई एकै छानामुनिबाट दिन लागिरहेको छ ।

त्यसका लागि अन्तरंग र बहिरंग दुवै सेवा अर्किडले दिनेछ । ‘अर्ली इन्टरभेन्सनमा हामी काम गरिरहेका छौं,’ उनले भनिन्, ‘किनभने समस्या भएकाहरुलाई जति चाँडो ल्याउन सक्यो, त्यति नै राम्रो नतिजा आउने गर्छ ।’ यसअन्तर्गत साढे दुई वर्षदेखि साढे चार वर्षसम्मका बालबालिका सेवा दिइने उनले जानकारी दिइन् । स्पीच थेरापी, अकुपेसनल थेरापी, फिजियो थेरापी, म्युजिक थेरापी, स्पीच ल्याङवेज थेरापीलगायतका सबै आवश्यक सेवाहरु अर्किडले उपलब्ध गराउनेछ ।

बोल्ने समस्यासँगै, हिड्डुलको समस्या, दैनिक क्रियाकलाप तथा संवेदनासँग सम्बन्धित समस्याको उपचारका लागि अर्किडमा सेवा उपलब्ध छ । ‘कसैलाई हामीले छुँदा पनि उसलाई पिटेकोजस्तो अनुभव हुने हाइपर स्यान्सेटीभ समस्या हुन्छ । कसैलाई चिमोट्दा पनि छुदै नछोएकोजस्तो महसुस हुन्छ,’ प्रभाले थपिन्, ‘यी कुराले बच्चाको सम्पूर्ण विकासमा प्रभाव पारिरहेको हुन्छ ।’ बच्चा हुर्किसकेपछि उनीहरुको व्यवहारमा परिवर्तन आउँछ, त्यही व्यवहारअनुसार उनीहरुको आवश्यकताहरु पनि बढ्दै जान्छन् । तर, आफ्नो आवश्यकता ठूला मानिसहरुलाई बुझाउन नसक्दा उनीहरु रिसाउने, झर्किने गर्न थाल्छन् । त्यसको अर्थ हामीहरुले बच्चालाई बुझ्न सकिरहेका हुदैनौं । त्यसकारण समयमै यस्ता समस्याको निराकरण आवश्यक पर्ने उनी बताउँछिन् ।

चितवन भरतपुर—१० मा जन्मेकी प्रभाले भारतको म्याङ्लोर युनिभर्सिटीबाट सन् २०१६ मा ‘माष्टर्स इन अडियोलोजी एण्ड स्पीच ल्याङवेज प्याथालोजी’ गरेकी छन् । उनले त्यही युनिभर्सिटीबाट सन् २०१४ मा ब्याचलर इन अडिलोजी एण्ड स्पीच ल्याङवेज प्याथोलोजी सकेकी हुन् । माष्टर्स इन अडियोलोजी एण्ड स्पीच ल्याङवेज प्याथालोजी सकिएलगतै उनी सन् २०१६ मै नेपाल फर्किएकी हुन् । त्यतिबेला यो विषय पढेको जनशक्ति नेपालमा एकदमै न्यून थियो ।

‘त्यतिखेर नेपालमा यो विषय भर्खरै सुरु भएको थियो । पढाउने प्राध्यापक एक जना मात्रै हुनुहुन्थ्यो,’ प्रभा सुनाउँछिन्, ‘अहिले नेपालमा पनि विस्तारै जनशक्ति विकास हुँदैछ ।’ नेपाल आएको केही समयपछि उनी आईओएमको महाराजगन्ज मेडिकल कलेजमा अध्यापन गराउन थालिन् । अहिले उनी महाराजगन्ज मेडिकल क्याम्पसको उप—प्राध्यापक छन् । त्रिवि शिक्षण अस्पतालमा ओपीडीमा बिरामीहरु पनि हेर्छिन् ।

प्रभाकाअनुसार यसमा दुईवटा विद्या छन्, एउटा अडियोलोजी र अर्को स्पीच ल्याङ्वेज प्याथोलोजी । अडियोलोजीले कान सम्बन्धी काम गर्छ । कानको ध्वनीमा समस्या भएका, कानको लागि कस्तो खालको मेसिन चाहिन्छ भन्नलगायतका विषय अडियोलोजीले भन्छ । यसमा रिगंटा लाग्ने समस्या, कानसँग सम्बन्धि भएको हुनाले त्यो पनि अडियो लोजिस्टरले गर्ने गर्छ ।

अर्को, स्पीच ल्याङ्वेज प्याथोलोजीले बोल्न समस्या भएकाहरुलाई हेर्ने गर्छ । ‘अहिलेको बच्चाहरुमा बोल्न नसक्ने समस्याहरु धेरै छन्,’ प्रभा भन्छिन्, ‘बोली स्थापना गर्ने । कुनै बच्चाको बोली आइसक्दा पनि लस हुन्छ । न्यूरोलोजिकल प्रब्लम भयो भने नबोल्ने समस्या हुन्छ । उनीहरुमा बोली पुनःस्थापनाको काम स्पीच ल्याङ्वेज प्याथालोजीले गर्छ ।’ निल्न समस्या हुने, घाँटीको क्यान्सर भयो भने उनीहरुमा स्पीच प्याथोलोजिस्टले काम गर्छन् ।

बालबालिकाको हुर्काइ, जीवनशैलीजस्ता कारणले अहिले नेपालमा बोली विकास नहुने, बोली विकास स्लो हुने, भकभकाउने, वाक्य पूरा गर्न नसक्नेजस्ता समस्याहरु बढ्दो क्रममा छन् । सामान्तयाः बच्चा १ वर्षदेखि बोल्न सुरु गर्छ । डेढ वर्ष भैसक्दा पनि बोल्न सुरु गरेन, त्यसमा कुनै न कुनै समस्या छ भन्ने बुझ्नुपर्छ । त्यसपछि ‘स्पीच प्याथोलोजिस्ट’ कहाँ लैजानुपर्ने प्रभा बताउँछिन् ।

वृद्धवृद्धाहरुमा भने अल्जाइमर र स्ट्रोक भएर समस्या देखिन्छन् । ‘सबै थरी रोग सबै थरीलाई लाग्न सक्ने हुँदा उमेर र लिङ्गको यसमा लिमिटेसन हुँदैन्,’ उनी थप्छिन्, ‘नेपालमा अहिले बच्चाहरुमा बोली, भाषा सम्बन्धी अटिजम, हिएरिङ, इन्टलेक्चुअल डिसेविलिटी तथा लर्निङ डिसेबलिटीहरु देखिने गरेको छ भने एड्ल्टहरुमा खस्रो स्वर आउने (जस्तै कोही केटी भएर पनि केटाको जस्तो श्वर निस्किने) खालका समस्या छन् ।’

समस्याहरुमा माइल्ड, मोडरेट र सिभियर स्टेजमा हुन्छन् । मोडरेट स्टेजमै उपचार गर्दा सामाधान गर्न सजिलो हुन्छ भने सिभियर स्टेजमा गाह्रो हुन्छ । सबै बालबालिका समान नहुने भएकाले समयमै उपचार गर्नु व्यवहारिक र वैज्ञानिक दुवै दृष्टिकोणले उपयुक्त हुन्छ ।

को हुन् प्रभा ?

चितवन भरतपुरमा जन्मिएकी प्रभा पिता रामचन्द्र र आमा पार्वती दवाडीकी माइली छोरी हुन् । उनका बुबा यातायात व्यवस्था विभागका जागिरे थिए भने आमा भरतपुर क्यान्सर अस्पतालमा जागिरे हुन् । दुवै जागिरे भएकाले सन्तानको पढाइलाई उनीहरुले निकै महत्व दिएका थिए ।

उनको प्रारम्भिक शिक्षा चितवनको इडन गार्डेन इग्लिंस स्कुलमा भएको हो । त्यहीबाट उनले एसएलसी उत्तीर्ण गरेकी हुन् । चितवनको अर्किड साइन्स क्याम्पसबाट प्रभाले प्लस टु गरिन् । कक्षा १२ बाट नै उनले स्पीच थेरापिस्टबारे सुन्दै आइरहेकी थिइन् ।

‘मेरी दिदी नर्स हुनुहुन्छ, उहाँले नै मलाई यसबारेमा जानकारी दिनुभएको हो,’ प्रभावले सुनाइन् । सन् २००९ तिर उनले स्पीच थेरापिष्ट बारे दिदीबाट सुन्दा नेपालमा यसको अध्यापन सुरु भइसकेको थिएन । त्यही कारण उनी स्पीच थेरापिष्ट बन्नका लागि पढ्न भारत गइन् । ब्याचलर इन अडियोलोजी एण्ड स्पीच ल्याङवेज प्याथोलोजी गर्न सन् २०१० मा भारत गइन् ।

सन् २०१४ मा ब्याचलर इन अडियोलोजी एण्ड स्पीच ल्याङवेज प्याथालोजी डिग्री हासिल गरेकी उनले सन् २०१६ मा यही विषयमा माष्टर्स डिग्री हासिल गरिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)