२०८० फागुन १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलडा. प्रतिभाः जसले पाँच वर्षदेखि सबैभन्दा ठूलो वीर अस्पतालको प्रयोगशाला हाँकिरहेकी छन्

डा. प्रतिभाः जसले पाँच वर्षदेखि सबैभन्दा ठूलो वीर अस्पतालको प्रयोगशाला हाँकिरहेकी छन्


पाँच वर्षदेखि मुलुककै सबैभन्दा जेठो वीर अस्पतालको प्याथालोजी विभागको नेतृत्व डा. प्रतिभा विष्टले गरिरहेकी छन् । ११ औं तहकी प्रमुख कन्सल्ट्यान्ट प्याथालोजिष्ट डा. प्रतिभा हरेक दिन अस्पतालको प्रयोगशालामा हुने ७००—८०० नमुना परीक्षणको सही रिपोर्टका लागि मात्रै खट्दिनन्, विभागको जनशक्ति परिचालन, थप्नुपर्ने नयाँ सेवा र उपकरणलगायतका काममा पनि उतिकै क्रियाशील रहन्छिन् । वीरको ‘ए’ ग्रेडको प्रयोगशालामा अहिले ९ वटा युनिटमा ६ जना प्याथालोजिष्टसहित ८० जनाभन्दा बढी जनशक्ति कार्यरत छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की सह—प्राध्यापकसमेत रहेकी ४५ वर्षीया डा. प्रतिभा प्रयोगशालाबाहेक अध्यापन कार्यमा पनि सक्रिय रहन्छिन् । तर, धेरैजसो समय भने भविष्यमा प्रयोगशालाई कसरी जनमुखी रुपमा विकास गर्ने भन्ने चिन्तामा बित्छ । ‘प्रयोगशालाको काम बढोस् । अझै नयाँ–नयाँ जाँचहरु थपियोस् भन्ने लागिरहन्छ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग यी फरासिली प्याथालोजिष्ट गफिइन्, ‘वीरको प्रयोगशालाई पूर्णरुपमा अटोमेशनमा लगाउन पाए हुन्थ्यो ।’ कुनै—कुनैमा अझै पनि हातैले गर्नुपर्ने भएकाले सही रिपोर्टमा तलमाथि होला कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ ।

केही समयअघिमात्रै वीरको प्रयोगशालाले छाती, फोक्सो र स्तन क्यान्सरको परीक्षण सेवा पनि सुरु गरेको छ । ‘तीन महिनामा छाती, स्तन र फोक्सोको क्यान्सरको ४०–५० वटा नमुना जाँच गरिसकेका छौं,’ उनले भनिन्, ‘त्यो धेरै हो । बाहिरको भन्दा सस्तोमा गरेका छौं ।’ यी परीक्षणहरुको रिपोर्ट वीर अस्पतालले हप्तादिनमै उपलब्ध गराउँछ । अहिले प्रायः यी परीक्षणका नमुनाहरु भारत गइरहेका अनुभव उनी सुनाउँछिन् । प्रयोगशालाको रिपोर्ट अन्य प्रयोगशालाको तुलनामा सस्तो शुल्कमा छिटो उपलब्ध गराइरहेको डा. प्रतिभा बताउँछिन् ।

वीर अस्पतालको प्रयोगशाला बिहान ७ बजेदेखि नै परीक्षणका लागि खुल्छ । खाली पेटमा गरिने जाँचहरु सहज होस् भनेर प्रयोगशाला विहानैबाट खुलाइएको हो । त्यही कारण डा. प्रतिभा पनि विहान ८:३० बजेसम्म कार्यलय पुगिसक्छन् । ९:३० बजेसम्म त वीरका लगभग सबैजसो कर्मचारी सेवामा डटिसकेका हुन्छन् । न्याम्समा हप्ताको तीन चार दिन विहान उनको एमडीका विद्यार्थीहरुको क्लास हुने गर्छ । ‘उहाँहरुको ८–३० देखि ९–३० सम्म कक्षा लिनुपर्छ,’ डा. प्रतिभा भन्छिन्, ‘त्यहाँ गएर उहाँहरुले तयार गरेको कुरा सुन्ने र सिकाउने गर्र्छु ।’ त्यसपछि रिपोर्टिङ, युनिटहरु बैठकलगायतका अन्य कामहरुमा उनी सक्रिय रहन्छिन् । रगतसम्बन्धी रिपोर्टहरु उनी आफै हेर्छिन् ।

वीर अस्पतालको सेवा प्रवाहको तरिका र बिरामी पाउने सास्तीका अनेकन कथाहरु सुनिन्छन् । तीमध्ये धेरैजसो सही पनि हुन् । तर, अव्यवस्थाको घानमा पिल्सिइरहेको त्यही वीरको प्रयोगशालालाई भने अस्पतालकै अनुशासित र आम्दानी गर्ने डिपार्टमेन्ट मानिन्छ । भनिन्छ, अगुवा ठीक हुँदा पछाडिका मानिसहरु पनि ठीक हुन्छन् । डा. प्रतिभाले नेतृत्व गरिरहेको प्रयोगशालाको  टिम अनुशासित हुनुका पछाडि उनी आफैले केही कामहरुमा अग्रसरता लिनु पनि हो । उनले अस्पतालको विद्युतीय हाजिरीबाहेक छुट्टै हाजिरी कापीको पनि व्यवस्था गरेकी छन् । समयभन्दा ७–८ पटक ढिलो आउनेको भत्ताहरु काट्ने सिष्टम बनाएकी छन् ।

कहिलेकाही सफ्टवेयरमा समस्या आएका कारण बिरामीको रिपोर्टमा ढिलाइ हुने, टेण्डर समयमै नभइदिने, माग फारम भरेर दिँदा पर्चेज अर्डर नबनाइदिने, बनिहाल्यो भने पनि फाइल रोकिनेजस्ता चुनौती उनले फेस गरिरहेकी छन्  । भन्छिन्, ‘सरल तरिकामा राम्रोसँग काम भइदिए राम्रो हुन्थ्यो । हामी सबैलाई चाँडै सेवा चाहिएको हुन्छ । अलिक व्यवस्थापन पाटो राम्रो बनाउन सक्यो भने प्रभावकारी काम हुने थियो ।’

मुलुककै सबैभन्दा ठूलो अस्पतालको प्रयोगशाला हाँकिरहेकी डा. प्रतिभाको पुख्र्यौली घर डडेल्धुरा हो । तर, उनको जन्म भने कन्चनपुरमा भएको हो । वि.सं. २०३४ सालमा जन्मिएकी उनी बुवा जगत विष्ट र आमा माया विष्टका तीन सन्तानमध्ये उनी माइली हुन् । सुदूरपश्चिमको विष्ट परिवार त्यो बेला सामान्य व्यापारमा संलग्न थियो । त्यहाँका आर्थिक रुपमा सबल परिवारले त्यो बेलामा सन्तानहरुलाई पढाउनका लागि देहरादुन, पिथौराग, चण्ढीगढतिर पठाउँथे ।

तर, जगत सन्तानहरुको शिक्षादीक्षाका सवालमा अलि बढी नै सचेत थिए । त्यही कारण उनले आफ्नो छदाखाँदाको व्यापार छोडेर सन्तानहरुलाई राम्रो शिक्षादीक्षा दिनका लागि काठमाडौं ल्याए । ‘हामीलाई काठमाडौमा ल्याएर पढाउन बुबाले त्यहाँको कारोबार छाडेर काठमाडौँको लाजिम्पाटमा ल्याउनुभयो,’ उनले भनिन् । त्यहीकारण डा. प्रतिभाले आफ्नो बाल्यकाल नै काठमाडौंमा बिताइन् । प्रतिभा र उनका भाइबहिनीको बाल्यकालमा कुनै कुराको कमी थिएन् ।

प्रतिभाको शिक्षादीक्षा सेन्ट मेरिज स्कुलमा भएको हो । स्कुल जीवन पनि उनको निकै आनन्दायक रह्यो । ‘विद्यालय जीवन निकै रमाइलो थियो,’ उनी स्मरण गर्छिन्, ‘हामी हिन्दु धर्मबाट भएकाले त्यहाँ अध्यापन गराउने शिक्षिकाहरुले बुर्का लगाएको देख्दा अचम्म लाग्थ्यो ।’

विद्यालय हुँदा विज्ञान र साहित्य विषय खुब मन पराउने उनी भलिबललगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुने गर्थिन् । ‘त्यतिबेला काठमाडौं शान्त थियो । हामी राति घुमेर आउँदा पनि सुरक्षित महसुस गथ्र्यौं,’ उनी स्कुल जीवनको काठमाडौंको सम्झना गर्छिन्, ‘निकै साधारण अनि कम भिडभाड थियो ।’ सन् १९९४ मा उनले सेन्ट मेरिजबाटै प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

त्यसपछि उनी थप उच्च शिक्षाका लागि निष्टमा भर्ना भइन् । सेन्ट मेरिजजस्तो गल्र्स स्कुलबाट निष्टमा जाँदा सुरुमा उनलाई केटाहरुसँग घुलमिल हुन समय लाग्यो । ‘कलेज पढ्दा पनि पढ्नुपर्छ नाम निकाल्नुपर्छ भन्नेतिरै केन्द्रित भए,’ उनले कलेज जीवनबारे सुनाइन्, ‘त्यही कारण खासै अरु कुरा गर्न भ्याइएन । विज्ञान नपढे त जीवनमा केही हुँदैन भन्ने खालको सोच थियो ।’ निष्टबाट सन् १९९६ मा विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरेकी उनले बायोलोजीमा टप गरेकी थिइन् ।

उनले सानैदेखि डाक्टर बन्ने सपना बोकेकी थिइन् । ‘सानैदेखि नै  म डाक्टर बन्छु भन्थेँ अरे,’ डा. प्रतिभा आफ्नो डाक्टरी यात्राबारे भन्छिन्, ‘मैले सानैबाट यो पढ्छु भन्थेँ अरे ।’ त्यही सपना पूरा गर्न उनले डाक्टरी अध्ययनको छात्रवृत्ति परीक्षा दिइन् । पाकिस्तान दूतावासको एमबीबीएस छात्रावृत्तिमा नाम निस्कियो । डाक्टर बन्ने सपना बोकेर उनी सन् १९९७ मा पाकिस्तानको लाहोर गइन् ।

लाहोरको फतिमा जिन्हा मेडिकल युनिभर्सिटीमा उनको एमबीबीएस अध्ययन सुरु भयो । पाकिस्तानको व्यवस्थापन उनलाई मन प¥यो । त्यहीबाट उनले पाँच वर्षमा एमबीबीएस अध्ययन पूरा गरिन् । र, एक वर्ष इन्टर्नसीप सकेपछि सन् २००४ मा उनी नेपाल फर्किइन् । ‘मैले जुन युनिभर्सिटीबाट एमबीबीएस गरेँ त्यो एसियाको सबैभन्दा पूरानो र पहिलो गल्र्स युनिभर्सिटी हो,’ उनले भनिन् ।

सन् २००४ मा नेपाल फर्केपछि उनले सुरुवाती १७ महिना केएमसी अस्पताल सिनामंगलमा मेडिकल अधिकृत भएर काम गरिन् । त्यसपछि वि.सं २०६४ सालमा लोकसेवा खुल्यो । उनले लोकसेवामा मेडिकल अधिकृत (आठौं तह)का लागि आवेदन दिइन् । पहिलो प्रयासमै उनले लोकसेवाबाट सरकारी जागिरे जीवन सुरु गरिन् । त्यसपछि झण्डै एक वर्ष वीर अस्पतालको इमर्जेन्सीमा काम गरिन् । त्यसपछि उनको सरुवा चरिकोट भयो । एक वर्ष चरिकोटमा काम गरेपछि उनले पिजी पढ्ने निधो गरिन् । वि.सं. २०६७ मा पिजी पढ्नका लागि फेरि न्याम्समा भर्ना भइन् ।

डा. प्रतिभाले वि.सं. २०६९ मा प्याथालोजीमा विशेषज्ञता हासिल गरिन् । प्याथोलोजी नै रोज्नुको कारण के थियो ? ‘धेरै व्यस्त हुने काम गर्न नखोजेर यो विषय छानेको हो,’ उनी कारण खोल्छिन्, ‘श्रीमान (कुमार रोका) पनि आर्मीमा चिकित्सक पेशामा कार्यरत भएकाले पनि यो रोज्नुप¥यो ।’ हुनत डा. प्रतिभाको इच्छा सर्जन बन्ने थियो । तर, परिवार सम्हाल्ने विशेष जिम्मेवारी महिलाको हुने भएकाले पनि उनले प्याथालोजी रोजेकी हुन् । सबै रोगको निदान गर्ने विशेषज्ञताले पनि प्याथालोजी उनको रोजाइमा परेको हो । ‘सबै किसिमको रोग नै यसमार्फत पत्ता लाग्ने भएकाले अलिक चाखलाग्दो विषय लाग्यो, त्यसैले यो विषय छाने,’ उनले थपिन् ।

न्याम्सबाट पिजी सकेपछि उनको पोष्टिङ कान्ति बाल अस्पतालमा भयो । कान्ति बालको उनको अनुभव राम्रो रहन सकेन् । काम गर्ने राम्रो वातावरणको अभाव, एउटा माइक्रोस्कोप दुईजना प्याथोलोजिस्ट बस्नुपर्ने, २ बजे नै अफिस बन्द गर्नुपर्नेजस्ता कारण उनले काम नै गर्न सकिनन् । एमडी सकेको २—३ महिनामै उनले लोकसेवाको खुला प्रतिस्पर्धाबाट ९ औं तहमा नाम निकालिन् । कान्तिमा ९ महिना काम गरेपछि उनको वीर अस्पतालमा पोस्टिङ भयो । ‘यहाँ आफूले चाह्यो भने गर्ने काम धेरै छन्,’ उनले भनिन्, ‘यहाँ आएर चित्तबुझ्दो काम भयो ।’

९ औं तहमा नाम निकालेको दुई वर्षपछि नै उनी ११ औं तहकी उच्च सरकारी जागिरे भइन् । ११ औं तहमा नाम निकालेपछि वीरको विभागीय प्रमुखको कमाण्ड पनि उनकै काँधमा आयो । ‘म विभागीय प्रमुख भएको पाँच वर्ष भयो,’ डा. प्रतिभा भन्छन्, ,’ डा. प्रतिभा भन्छिन्, ‘एक दुई जना सिनियरले त आफूभन्दा जुनियरसँग ११ औं तह भएर आएपछि कसरी काम गर्ने भनेर राजीनामा पनि दिनुभयो ।’ सन् २०१७ मा उनले चण्डीगढ गएर हेमाटोप्याथोलोजीको एक वर्षे फेलोसीप पनि गरेकी छन् ।

पाँच वर्षदेखि वीरको विभागीय नेतृत्व गरिरहेकी डा. प्रतिभा १३ वर्षदेखि यही अस्पतालमा काम गरिरहेकी छन् । ‘चुनौती भएपनि वीर काम गर्नलाई राम्रो छ,’ उनी सुनाउँछिन्, ‘टेण्डरको सामान समयमै ल्याउन गाह्रो छ । लेखा प्रशासनमा भनिराख्नुपर्ने, पुगिराख्नुपर्ने अवस्था छ । योबाहेक अरु काम गर्न वातावरण राम्रो छ । सबै ठाउँको बिरामी आउने भएकाले धेरै ज्ञान हासिल गर्ने अवसर यहाँ छ ।’ साँझपख अफिस सकिएपछि घर फर्किने उनी घरमा दुई  वटा छोराछोरीको हेरचाह, घरव्यवहारका काम रमाउँछिन् । विदाको समयलाई उनी पठनपाठनका कामहरु र शोधहरु लेखनका लागि उपयोग गर्छिन् भने अक्सर परिवासँगै घुम्न निस्किन्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कान्ति बाल अस्पताल, #केएमसी अस्पताल, #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), #डा. प्रतिभा विष्ट, #प्याथालोजी, #प्रमुख कन्सल्ट्यान्ट प्याथालोजिष्ट, #फतिमा जिन्हा मेडिकल युनिभर्सिटी, #वीर अस्पताल, #सह—प्राध्यापक, #सेन्ट मेरिज स्कुल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ