२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलगृहनगरका चर्चित न्यूरो सर्जन डा. पंकजराज

गृहनगरका चर्चित न्यूरो सर्जन डा. पंकजराज

जो फर्केर जन्मथलोमा सेवा दिन आए


डा. पंकजराज नेपाल पूर्वी नेपालमा चर्चित न्यूरो सर्जनको रूपमा परिचित रहेका छन् । पूर्वी नेपालका पहाडी जिल्ला, तराई र भारतका धेरै बिरामीको उपचार गरेर ख्याति आर्जन गरेका कारण मात्रै होइन्, पूर्वमा न्यूरो उपचार सेवाको भरपर्दो विकल्प स्थापित गरेका कारण पनि डा. नेपालको यस्तो पहिचान बनेको हो ।

जन्मथलो विराटनगरलाई नै कर्मथलो बनाएर अनवरत स्वास्थ्य उपचार सेवा दिइरहेका उनले हजारौं–हजारलाई बचाएका छन् । डा. नेपालले आर्जन गरेको सीपले कोशी प्रदेश, मधेश प्रदेश र भारतका हजारौं मानिसको जीवनलाई सहज बनाएको छ । दैनिक औसत ३० देखि ५० जना बिरामीलाई सेवा दिँदै आएका उनले यस अवधिमा हजारौ बिरामीको सफल उपचार गरिसकेका छन् ।

बिरामीसँगको डा. नेपालको सामीप्यता अझ लोभलाग्दो छ । हजारौं बिरामीलाई नयाँ जीवन दिएर उनले ती बिरामीका परिवारमा खुसीको प्रकाश छर्न सफल छन् । आफ्नै नेतृत्वमा विराटनगर–३ कन्चनवारीमा स्थापना भएको आर्या न्यूरो हस्पिटलको डा. नेपाल प्रबन्धक निर्देशक पनि हुन् । उनले अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरुलाई देउता सम्झने गरेका छन् ।

जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनी राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् । स्थानीयस्तरमा न्यूरो सेवा सुरू भएपछि काठमाडौं र भारत जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

डा. उपेन्द्र देवकोटाको प्रेरणाले न्यूरो सर्जन

डा. नेपालले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंस्थित बाँसवारी न्यूरो हस्पिटलबाट गरे । न्यूरो सर्जरीका फादर अफ मोडल न्युरोसर्जरी भनेर चिनिने प्रा.डा. उपेन्द्र देवकोटाको अन्डरमा लामो समयसम्म काम गरेको उनीसँग अनुभव छ ।

डा. देवकोटाको बिरामीसँगको सामीप्यता, उनले गरेको स्वास्थ्य उपचारले बिरामीलाई दिएको नयाँ जीवनसँगै परिवारमा छाएको खुसीको प्रकाश आफ्नो प्रेरणाको स्रोत रहेको उनले सुनाए । ‘प्रा.डा. उपेन्द्र देवकोटाले घरपरिवारलाई माया मारेर बिरामीको उपचार सेवामा लाग्ने गर्नुभएको थियो । बिरामीप्रतिको उहाँको सेवा लोभलाग्दो थियो । त्यो मैले नजिकबाट नियाल्ने र उहासँग काम गर्ने अवसर पाएको छु,’ अतीत सम्झिदैं डा. नेपालले सुनाए, ‘उहाँकै हौसला, उत्प्रेरणा र मेरो लगनशीलताको कारणले मलाई न्यूरो सर्जन बनाएको हो ।’

न्यूरो सर्जरी विषय चयन गर्नुको श्रेय डा. देवकोटालाई जाने गरेको उनले सुनाए । ‘मैले नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा मेडिकल अफिसरको रुपमा काम गरिरहँदा डा. देवकोटाको कामलाई देखेर म न्यूरो सर्जरी विषय पढनका लागि प्रेरित भए,’ उनले भने । उनले जनरल सर्जरीको प्रशिक्षण बीएण्डबी हस्पिटल ग्वार्कोबाट पुरा गरे र प्रा.डा. देवकोटाको निरीक्षणमा न्यूरो सर्जरीको प्रशिक्षण नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस बाँसबारीबाट गरेका हुन् ।

त्यसपछि मोफसल रोजे

सेवा दिने क्रममा एक दिन झापा, इलाम र नेपालगन्जमा बिरामी बाँसवारी हस्पिटल आएका थिए । उनीहरूको टाउँको गहिरो चोट लागेर मतिष्कमा रगत जमेको थियो । यस्ता बिरामीले चाँडै उपचार पाए बाँच्न सक्ने धेरै चान्स हुने गर्दछ । जति ढिलो हस्पिटल लगियो त्यति नै रिक्स बढी हुने उनी बताउँछन् ।

झापामा दुर्घटना भएर एक जना विरामी काठमाडौं बाँसवारीमा ल्याइएका थिए । तर, यहाँ ल्याइ पु¥याउँदा ती बिरामीको ब्रेन डेथ भइसकेको थियो । ढिलो गरी हस्पिटल ल्याएको कारणले बिरामीलाई उनको टिमले बचाउन सकेन् । ती बिरामीको झापामै उपचार गर्न सकेको भए बचाउन सकिने रहेछ भन्ने उनलाई लाग्यो । अर्का एक इलामका बिरामीको अवस्था पनि त्यस्तै थियो ।

यी दुई घटनालाई उनले नजिकबाट देखेपछि एक दिन डा. देवकोटालाई भने, ‘सर अब म न्यूरो सेवा मोफसलमा गएर विस्तार गर्छु । मोफसलका बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएँ ।’ डा. देवकोटाले उत्तर दिए, ‘तिमी जाउँ, आफ्नै ठाउँमा गएर सेवा गर ।’

त्यसपछि सन् २०१७ मा झापाको बिर्तामोडस्थित बीएण्डसीमा हेड अफ डिपार्टमेन्ट भएर काम गरे । लगातार काम गरेपछि डेपुटी मेडिकल डाइरेक्टर भएर सन् २०२० सम्म तीन वर्ष गरें । यहाँ आएपछि थुप्रै बिरामीको जटिल प्रकारको उपचार गरे । उपचारको लागि भारत जानुपर्ने न्यूरोका बिरामीको बाध्यता केही हदसम्म कम भयो ।

अनि जन्मियो आर्या न्यूरो हस्पिटल

बिरामीको उपचार गर्ने क्रममा तीन वटा प्याक्टर संलग्न हुने उनी बताउँछन् । जसमध्ये बिरामीको कुरुवा, चिकित्सक र अर्को भनेको म्यानेजमेन्ट हुन् । उपचार गर्न आएका बिरामीलाई डाक्टरले बचाउनुपर्ने हुन्छ, बिरामीको अवस्था हेरेर त्यसको लागि तुरुन्त अप्रेसन गर्नुपर्ने हुन्छ ।

तर, कतिपय ठाउँमा म्यानेजमेन्टको कारणले त्यो हुन सकेको हुँदैन् । ‘त्यो पीडा मैले भोगे । त्यसपछि न्यूरो सर्जरीको सेप्रेट डिपार्टमेन्ट हुनुपर्ने आवश्यकता मैले काम गर्ने क्रममा महसुुस गरे,’ उनले सुनाए, ‘जबसम्म न्यूरो सर्जरीको लागि मात्र उपचार हुने हस्पिटल नभएसम्म चुस्त, दुरुस्त भएर समयमै उपचार गराउन नसक्ने अवस्था भयो ।’

कामको दौरानमा आफूले भोगेको समस्या डा. नेपालले श्रीमतीलाई सुनाए । त्यसपछि श्रीमती डा. अर्चनाको उत्प्रेरणाको कारणले आर्या न्युरो हस्पिटल आफ्नै गृहनगरमा खुल्यो । डा. पंकजराज र डा. अर्चनाले आफ्नो छोरीको नाममा हस्पिटलको नाम राखेका हुन् ।

निरन्तर १६ घण्टासम्म शल्यक्रिया

बिरामी सेवाको यो दौरानमा डा. नेपालले हजारौं बिरामीको शल्यक्रिया गरेका छन् । लगातार १६ घण्टाभन्दा बढी समय लगाएर पनि बिरामीको शल्यक्रिया गरिएको सम्झना उनीसँग छ । उनले जटिल प्रकारको शल्यक्रिया गरेर पनि बिरामीलाई पुनः जन्म दिएका छन् ।

आर्या न्यूरो हस्पिटलमै पनि १२ घण्टा लगाएर लामो शल्यक्रिया गरिएको उनले सुनाए । झापाका एक जना बिरामीको ब्रेनमा ट्युमर थियो ।

जटिल किसिमको त्यो ट्युमरको राति ८ बजेतिर अप्रेसन गर्न सुरु भएको थियो । ‘विहान ८ बजेतिर मात्र अप्रेशन सकियो,’ उनले स्मरण सुनाए, ‘रातभरी निरन्तर १२ घण्टा अप्रेसन गरे । पछि ती बिरामीको शल्यक्रिया सफल भयो ।’ मेहनत सफल हुँदा त्योभन्दा बढी खुसी केही नहुने डा. नेपाल बताउँछन् ।

अर्को एकजना ४ वर्षीय बिरामी थिए । उनलाई उपचारका ल्याइएको थियो । परीक्षणका क्रममा रगतको नसा गुजुलटिएको पाइयो । अप्रेसन गरेर त्यो बच्चाको नसा बचाए । मेडिकल भाषामा ‘एभिएम’ भनिने यो उपचार जठिल मानिन्छ ।

‘त्यो पनि ग्रेड थ्री एभिएम । यो एकदमै गाह्रो अवस्था थियो । त्यो बिरामीको अप्रेसन गरियो । भोलिपल्ट होशमा हाउँदा ती विरामीले भने ‘म मामा चाउचाउ खान्छु’,’ डा. नेपालले सुनाए, ‘यसरी मेहनत गरेर अप्रेसन गरेको बिरामीको सफल उपचार हुँदा सबैभन्दा खुसी र आनन्द प्राप्त हुन्छ ।’

चित्रकलामा सौखिन डा. नेपाल

बुवा ईश्वरीप्रसाद र आमा सविता नेपालको कोखबाट जन्मिएका डा. नेपालको जन्मथलो विराटनगर हो । फुर्सदमा उनी आर्ट गर्न मन पराउँछन् । उनको आर्टप्रतिको रुचि सानैदेखिको हो । ‘चित्र बनाउन थालेपछि समय गएको पत्तै हुँदैन,’ उनले भने, ‘फुर्सद भयो कि आर्ट गर्न बसी हाल्छु ।’ सबै किसिमको आर्ट गर्ने उनी पछिल्लो समय प्रोटेट स्केच गर्न रुचि भएको बताउँछन् ।

डा. नेपालले आफ्ना गुरु उपेन्द्र देवकोटा दुरुस्त स्केच पनि गरेका छन् । उनले गरेको देवकोटाको स्केच हस्पिटलको भित्तामा सजाएर राखेका छन् । ‘यो भ्यालुएबल पिक्जर हो । यसमा मेरो र डाक्टर देवकोटाको हस्ताक्षर पनि रहेको छ,’ उनले भने, ‘मैले दुरुस्त आर्ट गरेपछि सरले हस्ताक्षर गरिदिनभयो र मैले मेरो गुरुको आर्शिवाद लिएर आएको छु । त्यो फोटो हेरेपछि सरले आँसु पनि झार्नुभयो ।’

आर्ट गरेका कारणले आफूलाई उपचारमा पनि धेरै सहज भएको उनले सुनाए । ‘लोडसेडिङ समय थियो । इन्भर्टरबाट धेरै बेर थाम्दैन थियो । त्यसबेलामा सिटी ग¥यो, प्रिन्ट हुँदैन थियो । कागजमा टिप्नुपर्ने अवस्था आयो । म आर्ट गर्ने भएकोले मलाई सजिलो भयो,’ उनले थपे, ‘फोटोग्राफी मेमोरीको भरमा अप्रेसन गरेको क्षण पनि रहेको छ ।’ आर्टबाहेक संगीत र स्वीमिङ मनपर्ने गरेको उनले सुनाए ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ