२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलकर्णालीको स्वास्थ्यका कमाण्डर डा. रबिन

कर्णालीको स्वास्थ्यका कमाण्डर डा. रबिन

दुर्गममा बस्न रुचाउने डा. रबिन क्लिनिकलसँगै प्रशासनिक र व्यवस्थापकीय भूमिका पनि अब्बल


कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले कर्णालीका दूरदराज छिचोलेका छन् । चिकित्सकका रुपमा उनले कर्णालीका धेरै अस्पतालमा बसेर सेवा दिए । त्यही दुर्गमका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुको अनुभवकै कारण उनी अहिले कर्णाली स्वास्थ्य निर्देशनालयमा रहेर कर्णालीको समग्र स्वास्थ्यको सफलतापूर्वक कमाण्ड गरिरहेका छन् ।

डा. रबिन त्यस्तो बेलामा कर्णाली स्वास्थ्यको केन्द्रीय भूमिकामा रहे, जतिबेला महामारी र भूकम्पले प्रदेशको स्वास्थ्य संरचनालाई खल्बलाएको थियो । दूरदराजमा रहेर हासिल गरेको सेवा र अनुभवलाई उनले यी दुई जटिल र प्रतिकूल अवस्थामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन खर्चिए ।

उनी कर्णालीका स्वास्थ्य निर्देशनालयको निर्देशक रहँदा सुरुमा कोभिड—१९ महामारीसँग सिंगो देशसँगै कर्णालीले लड्नुप¥यो । त्यसपछि जाजरकोटको रामीडाँडामा गएको भूकम्पमा पनि उनले स्वास्थ्य सेवालाई समयको गतिसँगै दौडाउन भूमिका खेले । त्यही कारण उनी विपत्तिमा कर्णालीको स्वास्थ्य हाँक्ने कमाण्डरमा दरिए ।

जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु बनाएर १७ कार्तिकको राति गएको बिनासकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिम त्राहीमामको स्थिती सिर्जना गरायो । १ सय ५४ जनाको मृत्यु र झण्डै एक हजारभन्दा बढी घाइते भए । कर्णालीमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खड्कालाई भूकम्पका घाइतेको उद्धार, उपचार प्रेषण र तत्पश्चात सिर्जित र हुनसक्ने जनस्वास्थ्यका जोखिम, समस्याका रोकथाम र सही व्यवस्थापन गर्ने चुनौतीपूर्ण कार्यभार आइलाग्यो । प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकका रुपमा यो विपद्सँग जोडिएका स्वास्थ्यका सम्पूर्ण पाटाहरुहरुको उचित व्यवस्थापन र समन्वय गर्ने जिम्मालाई उनले कुशलतापूर्वक निर्वाह गरे ।

डा. खड्काले त्यो भन्दा ठूलो र डरलाग्दो विपत्ति कोभिडकालमा पनि प्रदेशमा कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा पनि उत्तिकै प्रभावकारी भूमिका निभाए । तत्कालीन अवस्थामा आइसोलेसन, क्वारेन्टाइन, नाका व्यवस्थापन, ल्याब र परीक्षण उपचार व्यवस्थापन (अस्पताल शुद्धीकरण, औजार उपकरण, अक्सिजन) प्रेषण, समुदाय परिचालन, समन्वय सूचनाका कामहरु उनैको नेतृत्वमा भएको थियो । त्यही कारण कर्णालीमा सहज रुपमा कोभिड—१९ जस्तो महामारीको व्यवस्थापन सम्पन्न भयो । डा. खड्काले कोभिड–१९ को खोप आफैबाट सुरु गरेर खोप अभियानलाई कर्णालीभरी नै सफलतापूर्वक सम्पन्न गराए ।

जाजरकोट भूकम्पपछिको स्वास्थ्य व्यवस्थापन

१७ कात्तिक राति गएको भूकम्पपछि १८ कात्तिकको बिहान कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बस्यो । बैठक पश्चात मुख्यमन्त्री राजकुमार शर्माले निर्देशन र इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को सक्रियता पश्चात यसको व्यवस्थापन जिम्मा स्वास्थ्य सेवा निर्देशनालयको काँधमा आइपरेको डा.खड्काले बताए ।

‘निर्देशनालयको सम्पूर्ण टिम, प्रदेश स्वास्थ्य, पोषण समूह, प्रदेश स्वास्थ्य समन्वय समूह, प्रदेश द्रूत प्रतिकार्य समिति सक्रिय भएर प्रदेश अस्पलातका निर्देशकको समन्वयनमा औषधीसहितको आपतकालीन चिकित्सकीय टिम हवाईमार्गबाट प्रभावित क्षेत्रमा परिचालित ग¥यौं,’ उनले भने, ‘भूकम्प प्रभावित जिल्ला र पालिकासँग तत्कालीन वस्तुस्थिति र अध्यावधिक गरेर उपचारका हब अस्पतालका रुपमा प्रदेश अस्पताल सुर्खेत, भेरी अस्पताल बाँके र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा २०० भन्दा बढी घाइतेको उपचार गर्न तयारी अवस्थामा राख्यौं ।’ सँगसँगै नजिकका अस्पताल दैलेख, सल्यान, मेहलकुना, वीरेन्द्रनगर नगरपालिकाबाट अन्य थप चिकित्सकसहितको परिचालन गरिएका उनले जानकारी दिए ।

यसबाहेक अन्य प्रदेश लुम्बिनी, सुदूरपश्चिम, गण्डकी, संघीय सरकार (वीर, ट्रमा, सैनिक, प्रहरी, सशस्त्र प्रहरी अस्पताल), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, संस्थागत र समूहगत रुपमा टिम परिचालन गरियो । जसले तत्काल उद्धार भएका घाइतेको उपचार र प्रेषण बिरामीको उपचार गरेको डा.खड्काले बताए । भूकम्पपछिको महामारी आँकलन र त्यसको जोखिममा पनि उनले प्रदेश निर्देशनालयमा रहेर उत्कृष्ट भूमिका निभाए ।

चिकित्सक बन्ने सपना पूरा

डा. रबिन दैलेखको नारायण नगरपालिका–८ मा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । उनी सोही ठाउँमा हुर्के, बढे, पढे । बुवाको सरकारी स्थायी जागिर भएका हुनाले उनले त्यति साह्रो अभाव झेल्नु परेन् । उनको शिक्षादीक्षा गाउँकै सामान्य विद्यालयमा भएको हो । एक जना भाई र एक जना बहिनी रहेका छन् ।

डा. रबिनले वि.सं. २०५१ सालमा दैलेखको नारायण नगरपलिकामा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयबाट प्रथम क्षेणीमा एसएलसी पास गरे । त्यो बेला दैलेखमा क्याम्पस नभएकाले उनी मामाको जोडबलमा आईएस्सी पढ्न वि.संं. २०५३ सालमा काठमाडौंमा हानिए । ‘अस्कल क्याम्पसबाट प्रथम क्षेणीमा आईएस्सी उत्तीर्ण हुँदा पनि चिकित्सक बनिएला जस्तो लागेको थिएन्,’ उनी भन्छन्, ‘तैपनि आफ्नै जीवनमा सानै उमेरमा सही उपचार नपाएर आफै पीडित हुनुपर्यो । त्यही कारण म चिकित्सक बन्न चाहन्थे ।’ आफ्नै वरपरका केही दृश्यले पनि उनलाई चिकित्सक बन्न प्रेरित गरेको थियो ।

त्यो बेला चिकित्सा पढ्नका लागि छात्रवृत्तिमा सिमित कोटा हुने र पैसा तिरेर पढ्न नसक्ने भएकाले उनले त्रिचन्द्र कलेजमा वि.सं. २०५६ सालमा बीएस्सी पनि ज्वाइन गरे । तर, एमबीबीएसको प्रवेश परीक्षाका लागि पनि तयारी जारी राखे । ‘बीएस्सी दोस्रो वर्ष पढ्दै गर्दा एमबीबीएस पढ्नका लागि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नाम निकाले । ‘यो नै मेरो सौभाग्यको दिन थियो,’ उनले सम्झिए ।

त्यसपछि उनी एमबीबीएस पढ्नका लागि पोखरास्थित मणिपाल मेडिकल कलेज गए । वि.सं. २०६२ मा उनले एमबीबीएस उत्तीर्ण गरेर आफ्नो डाक्टरी सपना पूरा गरे । वि.सं. २०७३ सालमा उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट रेडियोलोजी डाइग्नोसिसमा विशेषज्ञता हासिल गरे । डा. रबिनले समाजशास्त्रमा समेत एमए गरेका छन् । यहीबीच उनी प्याथोलोजिष्ट डा. दिविका खड्कासँग विवाह बन्धनमा बाँधिए । डा. खड्का दम्पत्तिको एक छोरी छन् ।

सरकारी जागिरको यात्राः सधैं रोजाइमा दुर्गम

एमबीबीएस उत्तीर्ण गरिसकेपछि वि.सं. २०६२ मा डा. रबिनले केही समय मणिपालमै काम गरे । त्यसपछि एक वर्ष उनले तनहुँमा बिरामीको सेवा गरे । लोकसेवाको विज्ञापनमा ढिलाइ भएका कारण उनी तनहुँ एक वर्ष काम गरेपछि अस्थायी पोष्टिङ लिएर बर्दिया गए ।

छात्रवृत्तिमा पढेपछि अनिवार्य दुई वर्ष काम गर्नुपर्ने बाध्यकारी नियमका कारण उनी चितवन पुगे । चितवनको शक्तिखोरस्थित तत्काली माओवादी जनमुक्ति सेनाको तेस्रो डिभिजनको जनसैन्य अस्पताल उनले डेढ वर्ष रमाएर काम गरे । ‘दूरदराज पुगेर बिरामीको सेवा गर्न मन थियो,’ उनी भन्छन्, ‘लोकसेवा नखुल्नु र छात्रवृत्ति करारका कारण तनहुँ, बर्दिया र चितवनमा काम गरे ।’

लगतै लोकसेवा खुल्यो । डा. रबिनले पहिलो प्रयासमै लोकसेवामा नाम निकाले । ‘चार नम्बर नाम निस्क्यो । पुनः पोष्टिङ लिएर आफ्नै गृह जिल्ला दैलेख आए,’ उनले भने, ‘दैलेख पुगेको केही महिना मात्रै भएको थियो । स्वास्थ्य मन्त्रालयले सबैभन्दा विकट जिल्ला र चिकित्सकविहिन रहेको कालिकोट जिल्ला पठायो ।’

कालिकोटमा रहँदा उनले स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम गरे । दुई वर्ष त्यहाँ रहँदा अस्पतालको सेवा विस्तार मात्रै गरेनन्, आफ्नो कार्यकालमा नागरिकको विश्वास जित्ने गरी गुणस्तरीय र सम्झन योग्य स्वास्थ्य सेवा प्रवाह गरे । मेडिकल अधिकृतका रुपमा ६ वर्ष बित्यो ।
डा. रबिनलाई विशेषज्ञता हासिल गरेर सेवा दिनुपर्छ भन्ने सोच बनाए । एमडी अध्ययनका लागि काठमाडौं गए । तर, भने जस्तो विषय पढ्न नपाएपछि फेरि उनमा दुर्गमको मोह जाग्यो । पोष्टिङ लिएर हुम्ला जिल्ला अस्पताल गए । एक वर्ष दुर्गम हुम्ला सेवा दिएपछि उनी एमडी अध्ययनका लागि दोस्रो प्रयास गर्न काठमाडौंमा गए ।

यसपटक डा. रबिनले रेडियोलोजीमा विशेषज्ञता हासिल गर्ने अवसर पाए । त्यसपछि उनले न्याम्समा विशेषताको पढाइ अगाडि बढाए । विशेषज्ञता हासिल गरिसकेपछि पनि उनको दुर्गम मोह उस्तै रह्यो । उनी वि.सं. २०७३ मा मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेतमा रेडियोलोजिस्टका रुपमा सेवा गर्न फर्किए ।

अर्को रोचक कुरा के छ भने डा. रबिन जागिरको दौरानमा कतै पनि स्थिर तालजस्तो जमेर बसेनन् । उनी त खोलाजस्तै बगिरहे कहिले यता कहिले उता । पिभिन्न स्वास्थ्यका क्रियाकलाप, स्वास्थ्य शिविर र सामाजिक काममा लागिरहे । सोही क्रममा उनी देशका दर्जन जिल्लामा पोष्टिङ भए भने देशका ६७ जिल्लाभन्दा बढीमा पुगेर उनले स्वास्थ्य सेवा दिए ।

डा. रबिन कर्णालीमा मात्रै होइन्, स्वास्थ्य समस्या आउँदा दिएको जिम्मेवारी पूरा गर्न तत्पर रहन्छन् । महामारी होस् वा विपद्, उनी पुगिरहेकै हुन्छन् । ‘वि.सं. २०६६ मा जाजरकोटको हैजाको आउटब्रेकमा दुई वटामध्ये एउटा टोलीको नेतृत्व मैले गरेको थिए,’ उनले भने । वि.सं. २०७२ को विनासकारी भूकम्पलाई बेला उनी काठमाडौं, गोरखा, सिन्धुपाल्चोकलगायतका आधा दर्जन जिल्लामा खटिए ।

यो अवधिमा डा. रबिनले क्लिनिकलसँगै प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी पाए । त्यसलाई उनले कुशलतापूर्वक पूरा पनि गरेका छन् । ‘मसँग प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुखदेखि जिल्ला स्वास्थ्यको प्रमुख, देशका ठूला अस्पताल भरतपुर अस्पतालको मेसुदेखि (वीर अस्पताल)को उपनिर्देशक भएको अनुभव छ,’ उनले भने, ‘अहिले कर्णाली प्रदेशको स्वास्थ्य निर्देशक भएर जिम्मेवारी बहन गरिरहेको छु ।’ यसबाहेक उनीसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि परामर्शदाता रेडियोलोजिस्टका रुपमा पदस्थापना भएको थियो । ती सबै ठाउँ र भूमिकामा उनी सधैं फिट छन् । लाग्छ, डा. रबिनको एक ठाउँमा स्थिर नभएर खोलाजस्तै बगिरहने बानीले ती सबै भूमिका फिट बनाएको हो ।

डा. रबिनले अध्ययन र जागिरको शिलशिलामा थुप्रै सम्मान र पुरुस्कार पाएका छन् । विभिन्न सरकारी, गैरसरकारी, निजी संघसंस्था र प्रतिष्ठानबाट पाएका सम्मान–पत्र, पदक, पुरस्कार र माया चिनोहरुहरुले आफूलाई कर्म गरिरहन प्रेरित गर्ने उनी बताउँछन् । डा. रबिन जिल्लामा काम गर्दा उत्कृष्ट कर्मचारीदेखि राष्ट्रपतिबाट प्रवल जनसेवा पदक, उपराष्ट्रपतिबाट राष्ट्रिय सेवा सम्मान पाइसकेका छन् । तर, यी दर्जनौ पदक सम्मानभन्दा ठूलो आत्मसन्तुष्टिलाई मान्छन्, उनी । ‘आफू जन्मे, हुर्केको ठाउँ, जुन राष्ट्रको पूर्ण छात्रवृत्तिमा अध्ययन गरी त्यहीको माटोमा सेवा गर्न पाए,’ उनी भन्छन्, ‘योभन्दा ठूलो गौरवको विषय र सम्मान मेरा लागि अरु हुनै सक्दैन् ।’

डा. रबिन चिकित्सक र प्रशासकसँगै प्रकृतिप्रेमी र साहित्य अनुरागी पनि हुन् । उनी गीत, गजल, कथा, कविता लेख्छन् । विभिन्न स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरका पत्रिका अनलाइनमा लेख रचना प्रकाशित भइसकेका छन् । उनको वि.सं. ०६३ सालमा ‘छचल्किएका भावहरु’ नामक गजल संग्रह प्रकाशित भइसकेको छ । उनका दुई पुस्तक प्रकाशोन्मुख छन् । जुन समय अभावलगायत विविध कारणले रोकिएको उनी बताउँछन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ