२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलएक्ला प्यालियटिभ केयर स्पेशलिष्ट डा. विकास

एक्ला प्यालियटिभ केयर स्पेशलिष्ट डा. विकास


गम्भीर बिरामीहरुलाई दिइने प्यालियटिभ मेडिसिन एक विशेष चिकित्सा पद्धति हो । यो उपचार पद्धति गम्भीर बिरामीलाई लक्षण, पीडा र तनावबाट राहात प्रदान गर्न केन्द्रीत हुन्छ । प्यालियाटिभ उपचार पद्धतिको उद्देश्य बिरामी र उसको परिवारको जीवनस्तरमा गुणस्तरीय बनाउनु हो ।

कतिपय जीर्ण रोगहरुको एक समयमा उपचार सम्भव हुँदैन् । त्यही असम्भव जीर्ण अवस्थालाई सहज बनाएर सरल जीवनयापन गर्नका सहयोगी हुन्छ—प्यालियटिभ मेडिसिन (प्रशामक चिकित्सा) । यसमा दीर्घ रोग र जीर्ण रोगका बिरामीको टोटल पेन नियन्त्रणका लागि सबै पक्षबाट हेरेर उपचार गरिन्छ । सोसल, फिजिकल, साइकोलोजीकल र स्पेचुरियल कोणबाट बिरामीहरुलाई ट्रिट गरिन्छ । अझ कतिमा त प्यालियटिभ केयरलाई मर्ने अवस्थामा गरिने उपचार भन्ने भ्रम छ ।

त्यही कारण यो उपचार पद्धति नेपालका नवीन उपचार पद्धतिभन्दा फरक पर्दैन् । किनभने, नेपालमा प्यालियटिभ मेडिसिन स्पेशलिष्ट एकजना मात्रै छन् । विगत तीन वर्षदेखि कार्यरत उनी हुन्—डा. विकास आनन्द । उनले नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)बाट प्यालियटिभ मेडिसिनमा विशेषज्ञता हासिल गरेका हुन् । डा. विकास अहिले भक्तपुर क्यान्सर अस्पताल र पानीपोखरीस्थित शुक्रा डाइग्नोष्टिक एण्ड वेलकेयर सेन्टरमा कार्यरत छन् ।

डा. विकास राजविराज मलेठको जग्दरीमा वि.सं. २०४६ सालमा जन्मिएका हुन् । बुवा स्व. चन्देश्वरप्रसाद यादव जागिरे थिए भने र आमा शान्तिकुमारी देवी गृहणी थिइन् । त्यही कारण उनको बाल्यकाल मध्यवर्गीय नेपाली बालबालिकाझै बितेको हो ।

कीर्तिपुरबाट उनको प्रारम्भिक शिक्षादीक्षा अगाडि बढेको हो । उनले १ देखि ७ कक्षासम्मको शिक्षा काठमाडौंमै हासिल गरेका हुन् । उनलाई स्कुल जीवनमा गणित र विज्ञान बढी मन पर्ने विषयहरु थिए । पढाइबाहेक उनी फुटबल, क्रिकेट, क्यारम वोर्ड उनका मनपर्ने खेलहरु थिए भने फोटोग्राफीप्रति विशेष अनुराग थियो ।

कक्षा ७ उत्तीर्ण गरेपछि डा. विकास राजविराज फर्किए । उनको शिक्षादीक्षा राजविराजको दुर्गा सेकेण्डरी स्कुलबाट अगाडि बढ्यो । उनले दुर्गा सेकेण्डरी स्कुलबाटै वि.सं. २०६१ सालमा एसएलसी उत्तीर्ण गरे ।

एसएलसी उत्तीर्ण भएपछि उनी पुनः काठमाडौं फर्किए । ललितपुरको प्रोग्रेस उच्च माध्यमिक विद्यालय (हाल क्यारेबियन)बाट उनले विज्ञानमा प्लस टु गरे । वि.सं. २०६४ सालमा उनले प्लस टु अध्ययन सके । उनको परिवारको सपना छोरा डाक्टर बनोस् भन्ने थियो । त्यही सपना पूरा गर्नका लागि उनी एमबीबीएस इन्ट्रान्सको तयारी गर्न थाले ।

‘सानैदेखि पढाइमा राम्रो भएपछि सबैका आमाबुवाको इच्छा डाक्टर बनोस् भन्ने हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो परिवारमा कोही पनि डाक्टर थिएन । त्यही कारण बुवाआमाको छोरा डाक्टर बनोस् भन्ने चाहना थियो ।’ त्यही कारण जे पढेपनि राम्रोसँग पढ्नुपर्छ भन्ने सोच भएका विकास डाक्टरीको यात्राका लागि तयारी गर्न थाले । तीन वर्ष उनले कडा मेहनत गरे ।

खर्च गरेर डाक्टरी पढ्ने इच्छा उनलाई थिएन । तर, छात्रवृत्तिमा तेस्रो पटक पनि नाम ननिस्किएपछि उनका बुवाले ऋण जोहो गरेरै भएपनि उनलाई डाक्टर बनाउने निधो गरे । सन् २०१० मा उनी एमबीबीएस पढ्नका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज गए । उनले सन् २०१५ मा एमबीबीएसको पढाइ र इन्टर्न सके । डाक्टर भइसकेपछि उनले एक वर्ष मेडिकल अधिकृतका रुपमा नोबेल मेडिकल कलेजको इमर्जेन्सीमै काम गरे ।

एक वर्ष काम गरेपछि उनी विशेषज्ञताका लागि तयारी गर्न काठमाडौं आए । नेपालमा परीक्षा दिँदा खोजेको विषयमा विशेषज्ञता अध्ययन गर्न नपाउने अवस्था थियो । उनका साथीहरु भारतमा इन्ट्रान्स दिन गइरहेका हुन्थे । त्यहाँ एम्स, पिजीआईलगायतका ठाउँमा विदेशी विद्यार्थीका लागि सिट हुन्छ । सन् २०१८ मा डा. विकास पनि एम्समा एमडीका लागि इन्ट्रान्स दिन गए ।

इन्ट्रान्स दिन एम्स पुगेपछिको किस्सा अझ छुट्टै छ । ‘दुई वटा सिट थियो प्यालियटिभ मेडिसिनमा, एउटा सिट थियो पेडियाट्रिकमा,’ उनले किस्सा सुनाए, ‘मसँगै गएका साथीले पेडियाट्रिकमा भरे । मैले सोचे एकै सिटका लागि साथीसँगै किन भिड्नु ? त्यसैले मैले मन नलागी—नलागी प्यालियटिभमा फर्म भरेको थिए ।’ प्यालियटिभ मेडिसिनमा पनि उनले विषयबारे नबुझेरै पुछारमा मेडिसिन झुण्डिएको आधारमा छानेका थिए । २४ नोभेम्बर २०१८ मा इन्ट्रान्सको रिजल्टमा उनी प्यालियटिभ मेडिसिनमा विशेषज्ञता हासिल गर्नका लागि छानिए ।

डा. विकास विशेषज्ञता हासिल गर्न लागेको त्यही ठाउँ थियो, जहाँबाट उनका बुवालाई फर्काइएको थियो । ढाडको ट्युमर भएका कारण उनका बुवाले तीन वर्ष एकदमै कष्टर जीवन बिताएका बितेका थिए । उनी ठान्छन्, ‘बुवाले सायद त्यो बेला इच्छा गर्नुभएको थियो रहेछ मजस्तो बिरामीलाई कसले हेरिदिने त ?’ उनका पिताले कहिलेकाहीँ भन्थे पनि ‘झोला छाप डाक्टर नबन्नु केही राम्रै गर्नु ।’ एम्समा गएर पढ्न थालेको दिन आफूलाई यो कुरा रियलाइज भएको उनले सुनाए । ‘यो मैले छानेको विषय नै होइन्, डेष्टीनी हुँदोरहेछ,’ उनी थप्छन्, ‘यो विषय पढेको नेपालमा कोही पनि थिएन । अहिलेसम्म पनि म नेपालको रजिष्टर्ड एक्लो प्यालियटिभ मेडिसिन स्पेशलिष्ट हुँ ।’

सन् २०२१ को डिसेम्बरमा उनले प्यालियटिभ मेडिसिनमा विशेषज्ञता हासिल गरे । विदेशी विद्यार्थी कोटामा विशेषज्ञ भएका उनी विशेषज्ञता डिग्री हासिल गरेलगतै स्वदेश फर्किए । ‘आफ्नै देश र परिवारका लागि पढेको हो,’ उनले भने, ‘फर्केर आएँ ।’ नयाँ विषय भएकाले केही महिना एक्स्पोलर गरे । नेपाल मेडिकल काउन्सिलमा दर्ता भए ।

यही बेला प्रा.डा. विष्णुदत्त पौडेलले उनलाई भक्तपुर क्यान्सर अस्पतालमा सेवाका लागि बोलाए । ‘उहाँले त्यस्तो ठाउँमा पढेको मान्छे भक्तपुर क्यान्सर अस्पतालमा आउनुपर्छ, टर्सरी लेभलको अस्पतालमा काम गर्नुपर्छ भनेर बोलाउनुभयो,’ उनले सुनाए, ‘त्यही म प्यालियटिभ मेडिसिनको युनिट हेड भएर काम गर्न थाले ।’ अहिले उनी भक्तपुर क्यान्सरसँगै पानीपोखरीस्थित शुक्रा डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टरका सेवारत छन् । भक्तपुर क्यान्सर अस्पतालमा पाँच दिन ओपीडीमा औसत दैनिक २०—३० जना बिरामी हेर्छन् । अस्पतालमा ९ शैय्याको छुट्टै प्यालियटिभ केयर वार्ड संचालनमा छ । त्यसमा छुट्टै बिरामी हुन्छन् भने सिंगो हस्पिटलका १०—१५ जना बिरामीलाई आवश्यक कन्सल्टेसन पनि गर्छन् । ‘क्यान्सरको उपचार गराइरहँदा पनि प्यालियटिभ केयरको आवश्यकता पर्छ,’ उनी भन्छन्, ‘जुन दिन डाइग्नोस भयो रोग त्यही दिनदेखि सबै कुरा सहज गर्न प्यालियटिभ केयर आवश्यक पर्छ ।’

डा. विकासकाअनुसार नेपालमा झण्डै ६० हजार नागरिकलाई प्यालियटिभ केयरको आवश्यकता छ । नेपालमा प्यालियटिभ केयरको नीति अभाव रहेको उनको अनुभव छ । ‘सन् २०१६ मा नेशनल प्यालियटिभ केयर रणनीति बनेको थियो । तर, अहिले त्यो कार्यन्वयनमा छैन । त्यसमा लेखिएका कुराहरु अगाडि बढेका छैनन्,’ डा. विकास भन्छन्, ‘त्यसलाई जगाउन एकदमै आवश्यक छ ।’ केही सयममै नेपालमै प्रशामक सेवालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन लागेको उनले बताए ।

अहिले नेपालमा पेनका लागि प्रयोग हुने ‘मर्फिन’ नामक औषधीको सही प्रयोगबारे तालिम आवश्यक रहेको उनले बताए । ‘सबैभन्दा ठूलो चुनौती यो औषधी हरेक जिल्ला र प्रादेशिक अस्पतालमा उपलब्ध गराउनुपर्छ,’ डा. विकास भन्छन्, ‘कसरी चलाउने भन्ने विषयमा तालिम दिन सक्यो भने हामीले क्यान्सरका बिरामीलाई एड्रेस गर्न सक्छौं ।’ अहिले इलामदेखि दार्चुलासम्मका बिरामीहरु धेरै खर्च गरेर दुखाइ कम गर्नकै लागि भनेर काठमाडौं र सहरका क्यान्सर सेन्टरमा आउनुपर्ने बाध्यता छ । क्यान्सर अस्पताल र केही अन्य ठूला अस्पतालहरुमा मात्रै यो सेवा उपलब्ध भएकाले बिरामीलाई अझ गाह्रो अवस्था रहेको उनको भनाइ छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ