२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलयुवापुस्ताका ईएनटी सर्जन डा. अमित

युवापुस्ताका ईएनटी सर्जन डा. अमित

भन्छन्, ‘यो देशमा डाक्टरलाई अलग्गै सम्मान छ । त्यही सम्मानले नेपालमै सेवा गर्न आनन्द आउँछ ।’


डा. अमित झा १० वर्षदेखि कन्सल्ट्यान्ट ईएनटी (नाक, कान, घाँटी)को सर्जनका रुपमा सक्रिय छन् । यो अवधिमा उनले सयौं बिरामीहरुलाई सेवा दिइसकेका छन् । बेलायतबाट एडभान्स ईएनटी सर्जरीको तालिम लिएका उनी एशोसियट प्रोफेसर पनि हुन् । हाल स्टार अस्पताल सानेपामा पूर्णकालीन कन्सल्ट्यान्ट सर्जनका रुपमा सेवारत ३८ वर्षीय यी युवा सर्जन दैनिक दर्जनौं बिरामीहरुको उपचारमा संलग्न हुन्छन् ।

‘पहिले मानिसहरुमा जनचेतना थिएन्, अहिले त्यो बढेको छ,’ डा. अमित भन्छन्, ‘मैले ईएनटीमा सेवा गर्दा यसका डाक्टरहरु निकै कम थिए । मेडिकल कलेजहरुलाई फ्याकल्टी पुर्‍याउनै गाह्रो थियो । त्यही कारण बिरामीहरुले पनि त्यो बेला यो सेवा कम पाएका थिए ।’ अहिले मुलुकमा ईएनटीका चिकित्सकहरुको संख्या बढेको छ भने बिरामीहरुले पनि त्यही विद्याका कन्सल्ट्यान्टबाट सेवा पाउन थालेका छन् ।

डा. अमितकाअनुसार अहिले विविध किसिमका नाक, कान, घाँटीका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । जीवनशैलीमा आएको परिवर्तनका कारण क्यान्सरका बिरामीहरु पनि बढिरहेका छन् । बिरामीमा विकास भएको जनचेतनाका कारण समयमै उपचार गराउने परिपाटी बसिरहेको छ । जसका कारण चाडै रोगको निदान हुने र उपचार रिजल्ट पनि राम्रो आउने गरेको उनी बताउँछन् । बिरामी उपचारपछि ठीक भएर फर्कदा अनुहार देखिने खुसीलाई उनी आफ्नो अनवरत सेवाको खटिदाको प्रेरणा मान्छन् ।

डा. अमित चितवनको रामपुरमा वि.सं. २०४२ सालमा जन्मिएका हुन् । बुवा प्रा.डा. दिलिपकुमार झा र आमा स्व.सुजाता झाका दुई सन्तानमध्ये उनी जेठा हुन् । बुवा कृषि क्याम्पसमा प्राध्यापन गर्छन् भने आमा गृहणी थिइन् । रामपुर क्याम्पसको क्वार्टरमा बसेर त्यो बेलाको रामपुरको माहौलमा हुर्किन पाउनु आफैमा ठूलो अवसर थियो । ‘आजभन्दा ४० वर्ष अगाडि रामपुर क्याम्पस नेपालका लागि विदेशजस्तै थियो,’ उनी बाल्यकाल स्मरण गर्छन्, ‘रामपुर कृषि क्याम्पस रिसोर्टजस्तो थियो । त्यो बेला रामपुरजस्तो चितवनमा कही पनि थिएन् ।’ रामपुर क्याम्पस वातावरणका हिसाबले मात्रै देशकै उत्कृष्ट ठाउँ थिएन्, त्यहाँ दिग्गज ब्रेनहरु थिए ।

शान्त, सुविधायुक्त शैक्षिक वातावरणमा दिग्गज ब्रेनहरुको बीचमा डा. अमित हुर्किएका हुन् । ‘रजिष्ट्रार, डिन, रेक्टरहरु हाम्रा छिमेकी थिए,’ उनले थपे, ‘एकदमै शैक्षिक वातावरणमा हुर्किए ।’ उनका बुवा पनि क्याम्पस चिफसम्म भए । त्यहाँ विदेशीहरु पनि आइरहन्थे । त्यो वातावरणमा हुर्किन पाउनुलाई उनी आफ्नो सौभाग्य ठान्छन् ।

रामपुर क्याम्पसभित्रैकै मुना शिशु सदनबाट उनको शिक्षादीक्षा अगाडि बढेको हो । क्याम्पसका सबै कर्मचारीका छोराछोरी पढ्ने त्यही थियो । त्यहाँ उनले नर्सरीदेखि तीन कक्षासम्म पढें । त्ससपछि उनी थप शिक्षाका लागि शारदानगरको कमलदेवी इंग्लिस स्कुलमा चार कक्षादेखि सात कक्षासम्म अध्ययन गरे । त्यहाँका प्रिन्सिपल बेलबहादुर गुरुङ शैक्षिक व्यक्तित्वसँगै राजनीतिमा पनि सक्रिय छन् ।

डा. अमित त्यसपछि भरतपुरमा रहेको सनराइज स्कुलमा आए । ‘त्यहाँका शिक्षणहरु एकदमै राम्रा थिए,’ उनले भने, ‘विद्यार्थीहरुको विकासका सबै पक्षहरुमा विशेष ध्यान दिइएको थियो ।’ स्कुल जीवनमा उनलाई विज्ञानको एस्ट्रोनोमी र जियोग्राफी एकदमै मनपर्ने विषय थिए । त्यो बेला उनलाई एस्ट्रोलोजिष्ट बन्ने रहर थियो । स्कुलमा उनी पढाइबाहेक क्वाइन, स्ट्याम्प कलेक्सन गर्थे भने क्वीज, वादविवाद, निबन्धलगायतका प्रतियोगितामा भाग लिइरहेका हुन्थे ।

उनको घरबाट सनराइज ११ किलोमिटर टाढा थियो । उनी स्कुलको बसमा आवत—जावत गर्थे । ‘त्यही कारण धेरै समय मेरो यात्रामा गयो,’ उनले भने । वि.सं. २०५७ सालमा उनले सनराइजबाटै पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी प्लस टु पढ्नका लागि स्मल हेभन स्कुल कल्याणपुरमा गए । वि.सं. २०५९ सालमा उनले विज्ञान संकायमा प्लस उत्तीर्ण गरे ।

खगोल विज्ञान र भूगोलमा रुचि भएका उनी कसरी एमबीबीएसका लागि तयार भए ? उनका हजुरबुवा पुख्र्यौली घर सप्तरीको मौवाहाका मेडिकल प्रायाक्टिसनर थिए । उनका हजुरबुवा त्यो बेला गाउँका मुखिया पनि थिए र औषधी पसल पनि चलाउथे । ‘हामी दशैंको बेला जाँदा बिरामीको लाइन हुन्थ्यो,’ डा. अमित सम्झन्छन्, ‘उहाँले बिरामी बिरामी उपचार गर्नुहुन्थ्यो । त्यही बेला हजुरबुवाले नातिलाई डाक्टर बनाउन भन्नुहुन्थ्यो ।’ तर, त्यो बेला उनले के बन्ने भनेको सोचेका थिएनन् । खगोलमा विज्ञानमा रुचि भएपनि नेपालमा त्यसमा अवसर थिएन । त्यही कारणले उनले पनि एमबीबीएस पढ्ने निधो गरे ।

एमबीबीएस इन्ट्रान्सका लागि तयारी गर्न उनी काठमाडौं आए । एक वर्ष तयारी गरेर इन्ट्रान्स दिए तर त्रिविमा छात्रवृत्ति पाएनन् । त्यही बेला उनलाई चीनको हवेइ मेडिकल युनिभर्सिटीमा आंशिका छात्रवृत्ति पाए । सन् २००४ मा उनी एमबीबीएस पढ्नका लागि चीन गरे । ‘चीन एकदमै फरक छ तर हवेइ मेडिकल युनिभर्सिटी नेपालीहरुले चलाएको कलेज भएकाले प्राध्यापकहरु अमेरिकन, भारतीय र नेपालीहरु थिए,’ उनले चीन अनुभव बाँडे, ‘चीनमा बसेर पनि नेपाल र भारतको परिवेशमा पढ्यौं ।’

सन् २००९ मा डा. अमित एमबीबीएसको अध्ययन सकेर स्वदेश फर्किए । चितवनको भरतपुर अस्पतालमा उनले एक वर्ष इन्टर्न गरे । त्यसपछि उनले चितवन मेडिकल कलेजबाट जागिर सुरु गरे । चितवन मेडिकल कलेजमा जनरल सर्जरी र इमर्जेन्सीमा गरी उनले २ वर्ष सेवा दिए । त्यसपछि उनी विशेषज्ञताको तयारीमा लागे ।

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा विशेषज्ञताका लागि इन्ट्रान्स दिए । डा. अमित सर्जरीमा एमडीमा गर्न चाहन्थे तर उनले त्यहाँ त्यो विषय पाएनन् । ‘चितवन मेडिकल कलेजमा काम गर्दा नै मलाई सर्जरीमा एकदमै रुचि लागेको थियो,’ उनले भने, ‘त्यो पाइनन् । अलिकति सर्जिकल हुनुपर्‍यो भन्ने लाग्यो ।’ त्यही बेला वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उनले ईएनटीमा एउटा सिट पाए । सन् २०१३ मा उनी ईएनटीमा विशेषज्ञताको पढाइका लागि वीरगन्ज गए । त्यहाँ पढ्दा उनले त्रिवि शिक्षण र भरतपुर क्यान्सर अस्पतालमा पनि पढे । सन् २०१६ मा उनले विशेषज्ञता पढाइ पूरा गरे ।

विशेषज्ञता हासिल गरिसकेपछि डा. अमित नेशनल मेडिकल कलेजमै दुई वर्ष काम गरे । सबै कुरा चितवनमै भएकाले उनलाई चितवन फर्किनु नै पर्ने भयो । त्यही कारण सन् २०१९ मा उनी चितवन फर्किए । चितवन फर्केपछि पुनः उनी चितवन मेडिकल कलेजमा जागिर गर्न थाले । त्यही बीच उनी फेलोसीप गर्नका लागि एडभान्स ईएनटी सर्जरी तालिमका लागि बेलायत गए । ४ वर्ष चितवन मेडिकल कलेजमा बिताएपछि उनी झण्डै दुई महिनाअघि मात्रै पारिवारिक कारणले काठमाडौं आएका छन् । सानेपास्थित स्टार अस्पतालमा कन्सल्ट्यान्ट ईएनटी सर्जनका रुपमा उनले सेवा दिइरहेका छन् ।

डा. अमित डाक्टरी पेशामा कति खुुसी छन् ? भन्छन्, ‘अहिले डाक्टरहरु हतोत्साहित छन् । तर, म भने खुसी नै छु ।’ उनले पछिल्ला दिनहरुमा डाक्टरमाथि भइरहेका हिंसातर्फ संकेत गर्दै थपे, ‘भाग्यले म त्यस्तो घटनामा नपरेकाले पनि होला ।’ आम युवाहरुजस्तै डा. अमित पनि देशको अवस्थाबाट खुसी छैनन् । यही माहौलले सबै जनालाई निराश बनाएको उनको धारणा छ ।

डाक्टरी पेशामा कमाइ अपेक्षाअनुसार नभएपनि बिरामीबाट पाइने सम्मानले आफूहरुलाई लोभ्याउने उनको मत छ । ‘आफूले उपचार गरेका बिरामीहरु ठीक हुँदा खुसी साथ जान्छन्, त्यो कुराले एकदमै खुसी दिन्छ,’ उनी भन्छन्, ‘सेन्स अफ फुलफुलमेन्ट हुने, अब लाइफमा केही कुरा पुगिरहेको छ जस्तो । कतिपय कुराहरु पैसा, सामान र चिजबीजमा तौलन सक्दैनौं । खुसी दिने त्यस्ता कुराहरुले रहेछ ।’

डा. अमितकाअनुसार बिरामीबाट पाइने सम्मान विश्वका कहलिएका देशहरुको तुलनामा नेपालमा फरक र भिन्दै छ । ‘बेलायतमा जीवनशैली, सिष्टम राम्रो छ तर डाक्टरलाई अरु पेशासरह नै सम्मान गरिन्छ,’ उनी बेलायत अनुभव साट्छन्, ‘त्यहाँ डाक्टरलाई पनि अरु पेशाकर्मी सरह नै रेस्प्याक्ट गर्छ । नेपालमा त्यो अलि बढी छ । त्यो कुराले यहाँ बस्न मजा लाग्छ ।’ कमाइ, देशको स्थिती, बाटोघाटो आदि कुराले उदेकलाग्दो वातावरण भएपनि सुधार हुने आशा उनी व्यक्त गर्छन् । ‘उत्तरमा सबैभन्दा ठूलो इकोनोमी चीन छ, दक्षिणमा अगाडि बढिरहेको भारत,’ उनी थप्छन्, ‘दुई तीव्र आर्थिक विकासतर्फ बढिरहेका देशहरुको बीचमा रहेकाले नेपालमा पनि केही होला कि भन्ने आशा छ ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ