२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशगर्भपतन गराउँदा सूचीकृत स्वास्थ्य संस्थाबाट गराउन आग्रह

गर्भपतन गराउँदा सूचीकृत स्वास्थ्य संस्थाबाट गराउन आग्रह


चितवन-असुरक्षित गर्भपन चुनौती बन्दै गएको भन्दैं गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन गराउन विज्ञहरुले सुझाव दिएका छन् । चितवनमा आयोजित गर्भपतन सम्बन्धी कार्यक्रममा बोल्दैं विज्ञहरुले उक्त धारणा राखेका हुन् ।

स्वास्थ्य लाइभ मिडियाले चितवनमा आयोजना गरेको एक कार्यक्रममा बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले खुला नाका भएकाले भारतबाट गर्भपतन गराउने औषधी दर्ता नगरी ल्याउने र त्यसको गुणस्तर पनि नहुने बताए । नेपालमा गर्भपतन गराउने औषधी ६ वटाले मान्यता पाएका छन् ।

नेपालका औषधी निकै महंगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्तावाला औषधीको खोलमा हालेर सस्तोमा बिक्री गर्ने गरेको श्रेष्ठले बताए । ‘हामीले निगरानी गर्न सकेनौं, त्यो छुट्टै विषय हो,’ श्रेष्ठले भने, ‘अब जुन निकायले स्वीकृत दिएको छ, उसलै यसको निगारनी गर्नुपर्छ ।’ उनले महिलाहरुले विभिन्न बाध्यताले गर्दा सूचीकृत स्वास्थ्य संस्थाभन्दा बाहिर गएर गर्भपतन सेवा लिइरहेको बताउँदैं सूचीकृत गर्भपतन गर्ने स्वास्थ्य सस्था मात्रै रोज्न आग्रह गरे ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेलले असुरक्षित गर्भपतनका कारण अत्याधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताए । ‘एक त मुलुकी ऐनले आफैंमा बाँझिएको छ,’ उनले भने, ‘अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।’ समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभावी औषधीको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उनको भनाइ छ ।

‘पहिलो कुरा परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ । गर्भपतन गर्नु राम्रो हैन तर गर्नै परेको खण्डमा सबैंभन्दा सुरक्षित स्थानमा गएर गराउनुपर्छ । सर्भिस दिने निकाय पनि इमान्दार हुन आवश्यक छ,’ डा. पोखरेलले थपे, ‘गर्भपतन गराउनै परेको अवस्थामा सम्बन्धित स्वास्थ्य सस्था सूचीकृत भए—नभएको बारेमा पूर्ण जानकारी हुनुपर्छ । सूचीकृत स्वास्थ्य संस्थाभन्दा बाहिर गएर गर्भपतन गराउँदा विभिन्न संक्रमण हुने डर हुन्छ ।’

मेरी स्टोप्स इन्टरनेशनलका उपनिर्देशक अनिल यादवले कानुनी रुपमा गर्भपतनको सेवा लिन पाइन्छ भन्ने कुराको धेरैमा ज्ञान नभएको बताए । ‘धेरै मानिसहरुलाई कानुनी रुपमा गर्भपतन सेवा लिन पाइन्छ, सेवा लिए वापत दण्ड सजाय हुँदैन भन्नेबारे ज्ञान छैन्,’ उनले भने, ‘गर्भपतन गैरकानुनी हो र यो सेवा लिए वापत दण्ड हुन्छ भन्ने आम महिलाको बुझाइ छ ।’ यादवका अनुसार नेपालको औषधस् व्यवस्था विभागमा गर्भपतन गराउन ६ वटा मात्रै औषधी दर्ता छन् ।

नेपालमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित छ भने ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ