२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना प्रभाव : फूर्सदिला डाक्टर साव !

कोरोना प्रभाव : फूर्सदिला डाक्टर साव !


बुटवल – अन्य समयमा बिहान देखि राति अबेरसम्म व्यस्त रहने चिकित्सकहरु पछिल्लो एक महिनादेखि फूर्सदिला छन् । स्टाण्डबाई बसे पनि उनीहरुलाई पहिलेको जस्तो धपेडी छैन । कोरोना त्रासको कारण ओपिडी सेवा बन्द भएपछि प्रायः चिकित्सकहरु फूर्सदिला बनेका हुन् । तर, कतिपय चिकित्सकको भने कोरोनाले दौडधुप बढाएको छ ।

यहाँका सरकारी, निजी तथा विभिन्न फार्मेसीका बहिरङ्ग (ओपीडी) सेवा बन्द छन् । लकडाउन हुनुपूर्व खान र सुत्न मात्र घरमा पुग्ने चिकित्सकले अहिले परिवारसँग समय बिताउने, सामाजिक सञ्जालमा सक्रिय हुनेदेखि पढाइलाई समेत ‘अपडेट’ गर्न थालेका छन् ।

प्रायः चिकित्सकहरु अस्पतालमा भर्ना भएका बिरामीलाई आलोपालो ‘राउन्ड’ हेरेर जाँच गरी चिकित्सक घरमै फर्किन्छन् । उनीहरूले बिरामीलाई फोनबाट सुझाव दिन्छन् । बुटवलमा धेरै व्यस्त हुने चिकित्सक मध्येका एक हुन्— वरिष्ठ फिजिसियन डा. नन्दु पाठक । तर उनले पछिल्ला दिनहरुमा परिवारलाई समय दिन पाएका छन् । उनी भन्छन्, ‘अस्पतालका ओपीडी बन्द रहेकोले धेरै बिरामी हेर्नु परेको छैन तर आकस्मिक कक्षमा बिरामीको फ्लो भने बढेको छ ।’

बिहान ७ बजेदेखि राति ९ बजेसम्म प्रादेशिक र बुटवल हस्पिटल प्रालिमा बिरामी हेर्दै आएका उनी अहिले भर्ना भएका इमर्जेन्सीका बिरामीलाई जाँच गरेर घरमा फर्किएर दिन बिताउँछन् । डा. पाठकले भने, ‘मलाई यस्तो स्वास्थ्य समस्या देखियो, के गरौ ? भनेर दैनिक ६०–७० वटासम्म बिरामीका फोन आउँछन् । सल्लाह दिन्छु ।’

सिद्धार्थ महिला तथा बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा. विनोद पराजुलीको परिवारसँगको सामिप्यता लकडाउनले बढाएको छ । उनी भन्छन्, ‘लकडाउनले गर्दा हस्पिटलमा बिरामीको चाप छैन ।’ लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. नेत्र रानाले पनि अहिले फोनबाटै धेरै बिरामीको अवस्था बुझ्छन् । अस्पतालमा दैनिक ६० देखि ७० जना बालबालिका उपचार गर्न आउने गरेकोमा हाल करीब १० जना मात्र आउने गरेको उनी बताउँछन् ।

प्रादेशिक अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा बिरामी बच्चाको चाप छ तर आम्दामा बिरामी बच्चाको चाप ह्वात्तै घटेको छ । प्रादेशिक अस्पतालमा जन्मिएका तर एनआईसीयूमा राख्नुपर्ने अवस्थाका १ महिनासम्ममा बालबच्चा त्यहीँ भर्ना गरिन्छ।
अस्पतालको ओपीडी सेवा बन्द हुँदा बिरामीलाई समस्या थपिएको छ । दीर्घरोगी र नियमित चिकित्सकसँग सल्लाह र चेकजाँच गरेर औषधि खानुपर्ने बिरामी सबैभन्दा बढी मारमा परेका छन् ।

आम्दा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल रुघाखोकी, झाडापखाला, ज्वरो जस्ता सरुवा रोग घरबाहिर ननिस्कँदा बिरामी कम भएको बताउँछन् । बुटवलमा दैनिक ३ हजारभन्दा बढी बिरामी उपचार गर्न आउँछन् तर अहिले सबै अस्पताल सुनसान छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ