२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्यान्सर अस्पतालमा खजुरामा एकै दिन ८ वटा शल्यक्रिया

क्यान्सर अस्पतालमा खजुरामा एकै दिन ८ वटा शल्यक्रिया


नेपालगन्ज—बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिदाको एकै दिनमा ८ जना बिरामीको शल्यक्रिया भएको छ । शनिबार सार्वजनिक विदाका दिन अस्पतालका चिकित्सकहरुले ८ जनाको शल्यक्रिया गरेको हुन् ।

पाठेघर सम्बन्धी समस्या भएका बाँके बर्दिया, सुर्खेत कैलाली र कन्चनपुरका ८ जना महिलाको शल्यक्रिया भएको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आचार्यले जानकारी दिए । उनकाअनुसार बिदाको दिनको समेत प्रबाह नगरी क्यान्सर अस्पतालमा चिकित्सकहरुले बिहान सवा सात बजेदेखि राती साढे ११ बजेसम्म ८ जना महिलाको शल्यक्रिया गरेका हुन् ।

८ जनामध्ये ५ जनाको दुरबिन प्रबिधिबाट र ३ जनाको सामान्य शल्यक्रिया गरिएको हो । लामो समयदेखि पाठेघरमा समस्या भएका १७ देखि ४८ बर्ष उमेरमा महिलाहरुको शल्यक्रिया गरेर उपचार गरिएको हो ।

शल्यक्रिया गरिएकामध्ये ४ जना अविवाहित महिला हुन । उनीहरुको पाठेघरको शिष्टको शल्यक्रिया गरिएको हो भने अन्य विवाहित बिरामीको पाठेघर नै शल्यक्रिया गरेर फालिएको कार्यकारी निर्देशक आचार्यले बताए ।

क्यान्सर अस्पतालले देशका अन्य अस्पतालको तुलनामा निक्कै कम शुल्क लिएर बिरामीहरुलाई शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।

पाठेघरमा समस्या भएका बिरामीहरुबाट २० हजार शुल्क लिएर शल्यक्रिया गरिएको कार्यकारी निर्देशक आचार्यले बताए ।

बिरामीहरुको शल्यक्रियामा अस्पतालका कार्यकारी निर्देशक आचार्यसहित भक्तपुरको नेपाल कोरिया अस्पतालमा कार्यरत गाइने अंकोलोजिष्ट सर्जन डा. सुरेश कायस्थ, क्यान्सर अस्पतालमा कार्यरत गाइने अंकोलोजिष्ट सर्जन डा. इन्द्रनिल घोस , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कार्यरत स्त्री रोग विशेषज्ञ डा. दुर्गा बिसी, डा. होमनाथ अधिकारी, डा. मोहित झा सहित १५ जना स्वास्थ्यकर्मीको टिम परिचालन भएको थियो । क्यान्सर अस्पतातल खजुराले एक वर्षको अवधिमा ४ सय २५ जना बिरामीको शल्यक्रिया गरेर सफलतापूर्वक उपचार गरिसकेको छ ।

उपचार सेवा विस्तार हुँदै गएपछि पछिल्ला दिनहरुमा क्यान्सर अस्पताल खजुराप्रति बिरामीको बिश्वास समेत बढ्दै गएको छ । क्यान्सर अस्पतालले शल्यक्रिया सेवा सुरु गरेपछि स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामीहरु लाभान्वित भएका छन् ।

एक सय बेडको स्वीकृती पाएको अस्पतालमा हाल ६० बेड संचालन हुँदै आएको छ । सरकारीस्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पताल लगायत काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ