२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसडकको धुलोले यात्रुको स्वास्थ्यमा असर

सडकको धुलोले यात्रुको स्वास्थ्यमा असर


बुटवल—बुटवल–बेलहिया सडक सरसफाइ नहुँदा धुलोले सर्वसाधारणको स्वास्थ्यमा असर परेको छ । सडक सरसफाइ गर्ने व्यक्ति (लेन्थ वर्कर) ले सडक सरसफाइ नगर्दा मोटरसाइकल र पैदल यात्रुहरु सबैभन्दा बढी मर्कामा पर्ने गरेका हुन् ।

मुख्य ‘सिक्सलेन’ सडक किनारमा सबैभन्दा बढी धुलो छ । सवारी साधन सडकको किनारा च्यापेर गुड्दा सडक धुलाम्मे देखिन्छ । धुलोका कारण श्वासप्रश्वास सम्बन्धी विभिन्न रोग लाग्ने चिकित्सकहरु बताउँछन् । धुलोले एलर्जी, रुघाखोकी समेत लाग्छ ।

सम्बन्धित पालिका र बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सरसफाइमा चासो नदेखाउँदा यात्रुहरुले धुलोबाट सास्ती भोग्नु परेको हो । बुटवल उपमहानगरपालिका उप—प्रमुख गोमादेवी आचार्यले फोहोर उठाउनेहरूले सरसफाइ गर्नुपर्ने बताइन् । ‘सरसफाइ गर्नेले धुलो पनि बढार्नुपर्ने हो,’ आचार्यले भनिन्, ‘भएको रहेनछ भने म भन्छु अब सरफाइसँगै धुलो पनि उठाउनुपर्छ ।’

उप–प्रमुख आचार्यले थपिन्, ‘हामीले पहिलो नगरसभामा बजार क्षेत्रको धुलो बढाउने ब्रुमरको आवश्यकता महसुस गरेर बजेट पनि विनियोजन गरेका थियौं । बुटवल बजार क्षेत्रको सडक पूरा भएन । त्यहीँ कारणले ब्रुमर किन्ने प्रक्रिया रोकियो । चौराहादेखि गोलपार्कसम्मको सडक पूरा भएपछि बुटवल नगरले ब्रुमर खरिद गरेर सडक सफाई गर्छ ।’

बुटवल प्रदेश नम्बर पाँचको राजधानी समेत हो । यहीँ सडक भएर प्रदेशका मन्त्रीहरू दैनिक दशौं पटक ओहोर–दोहोर गर्छन । तर, सडकको धूलो नियन्त्रणका लागि सम्बन्धित निकायलाई सचेत गराउँदैनन् । काठमाडौ महानगरपालिकादेखि अन्य केही स्थानीय तहहरुले सडक सफाइ गर्न ब्रुमर प्रयोगमा ल्याइसकेका छन् । बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनमा विस्तार गर्ने प्रक्रिया अगाडि बढे पनि अदालतको आदेशले अन्यौलमा छ ।

बुटवल बेलहिया सडक विस्तार आयोजनाका निमित्त प्रमुख मेघबहादुर केसीले लेन्थवर्कर परिचालन गरिएको बताए । उनले भने, ‘हामी कहाँ प्रशस्त सडक सरसफाइ गर्ने व्यक्तिहरु छन् । तर कहाँ–कहाँ सरसफाइ र धुलो उठाउने काम भएको छैन । म बुझ्छु । तर, धुलो चाहीँ उठ्नुपर्ने हो ।’

केसीले थपे, ‘कन्ट्रक्सनको काम भएको क्षेत्रमा काम नगरेका होलान् ।’ आयोजनामा सडक मर्मतसम्भार र धुलो सरसफाइ गर्न २ जना सुपरभाइजरसहित ९ ‘लेन्थ वर्कर’ छन् । तर, तिनीहरूले काम प्रभावकारी देखिँदैन । आयोजनका अनुसार एक जना लेन्थ वर्करलाई तीन किलोमिटर हेर्ने जिम्मा हुन्छ । तर, केही ठाउँमा उनीहरूले सामूहिक काम गरेको देखिए पनि हरेक दिन उनीहरु देखिँदैनन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ