२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा आत्महत्या बढ्यो, मनोचिकित्सक भन्छन्, ‘रोकथाममा राज्यले ध्यान नदिए अवस्था झन् भयावह’

प्रदेश १ मा आत्महत्या बढ्यो, मनोचिकित्सक भन्छन्, ‘रोकथाममा राज्यले ध्यान नदिए अवस्था झन् भयावह’

घरेलु हिंसा, बेरोजगारी, कम उमेरमा गिरिएको प्रेममा असफलता, डिप्रेसन र नैराश्यता मुख्य कारक


विराटनगर—१४ जिल्ला रहेको प्रदेश १ मा आत्महत्याको घटना प्रत्येक वर्ष बढदो क्रममा रहेको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पुरुषभन्दा तेब्बर बढी महिलाले आत्महत्या गर्ने गरेका छन् ।

घरेलु हिंसा र कम उमेरमा गरिएको प्रेममा असफलताका कारण महिलाले आत्महत्या गर्ने प्रवृत्ति बढी छ । पुरुषहरूमा बेरोजगारी, नैराश्य, साइबर बुलिङका कारण प्रेम सम्बन्धहरू सार्वजनिक हुनेलगायतका कारण आत्महत्याको प्रवृत्ति रहेको प्रहरीले जनाएको छ । यस्तै डिप्रेसन, कडा खाले मनोरोग र अन्य कारणले पनि आत्महत्या हुने गरेको छ ।

प्रहरीको अभिलेखअनुसार १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ४५ प्रतिशत आत्महत्याका घटना हुने गरेको छन् ।

प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १ हजार ५ सय १६ जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् । यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको प्रहरीको अभिलेखमा उल्लेख छ ।

प्रहरीको तीन वर्षको तथ्यांकमा प्रत्येक वर्ष आत्महत्याको दर बढिरहेको छ । गएको आर्थिक वर्ष २०७५/०७६ प्रदेश १ मा १ हजार २ सय ३४ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३ सय ४४ जनाले आत्महत्या गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यो क्रम हरेक वर्ष बढ्ने क्रममा रहेको छ ।

बढ्दो आत्महत्या रोकथामका लागि नीति कार्यक्रम प्रदेश सरकारसँग छैनन् । जसले समाजमा अवस्था झन् भयावह बन्दैछ ।

पछिल्लो समय महिला तथा बालबालिकामा बढ्दो आत्महत्याको दरले सबैलाई चिन्तित तुल्याएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौलाले बालबालिका तथा महिलामा समेत बढ्दो आत्महत्याको दरले उनीहरू किन यसतर्फ प्रेरित भइरहेका छन् भन्ने कारण खोज्नुपर्ने बताउँछिन् । ‘व्यक्तिको जीवन नै क्षति एकातिर छ भने अर्कोतर्फ एक व्यक्तिमा परिवार, अभिभावक र राष्ट्रकै थुप्रैखाले लगानी हुन्छ । अनाहकमा वा आवेशमा आएर कसैले आफ्नै ज्यान लिन्छ भने त्यसले उसको परिवार, समाज र राष्ट्रलाई पनि प्रत्यक्ष घाटा भइरहेको हुन्छ,’ उनले भनिन्, ‘त्यसकारण पनि बर्सेनी यस्ता घटना किन बढ्दैछन् भन्ने विषयमा समाजशास्त्रीय दृष्टिकोणले अध्ययन गरी यस्ता घटना न्यूनीकरणको प्रयास चालिनु आवश्यक छ ।’

आत्महत्या रोकथामका लागि गलत धारण हटाउन पर्छ : मनोचिकित्सक

मनोचिकित्सक डा. प्रभात चौरसिया आत्महत्यालाई मेडिकल इमर्जेन्सीको अवस्था भन्दै खुलेर सोधखोज र प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने उपाय सुझाउँछन् । सबै वर्ग, तह, समुदाय, लिङ्ग र उमेर समूहका मानिसहरूले आत्महत्या गर्ने क्रम बढ्दो पाइएकोले सबै सरोकारवाला मिलेर रोकथामका लागि सामूहिक पहल थाल्नुपर्ने उनको सुझाव छ ।

डा. चौरसियाका अनुसार आत्महत्या रोकथामका लागि पहिले अवस्था विश्लेषण गरेर गलत धारण हटाउन सरोकारवालाबीच सहकार्य हुनुपर्ने र आवश्यक दक्ष जनशक्ति उत्पादनमा लगानी गर्नुपर्छ । ‘मानसिक स्वास्थ्य क्षेत्र अझै पनि उपेक्षामा छ,’ उनी भन्छन्, ‘दक्ष जनशक्ति, आवश्यक पूर्वाधार र अध्ययन अनुसन्धान तथा जागरणका लागि राज्यले चासो दिएकै छैन ।’ मान्छेले मृत्युवरणको बाटो रोज्ने कुरालाई रोकथामका लागि सबै तह संवेदनशील बन्न आवश्यक रहेकोमा उनले जोड दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ