२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशमा डेंगीको प्रकोप, दिनानुदिन संक्रमण बढिरहेका बेला किटको चरम अभाव

कोशी प्रदेशमा डेंगीको प्रकोप, दिनानुदिन संक्रमण बढिरहेका बेला किटको चरम अभाव

कोशी प्रदेशमा डेंगुका बिरामी १५७ पुगेका छन् भने एक जनाको डेंगी संक्रमणका कारण मृत्यु भएको छ ।


आपूर्तिमा किट रित्तिएको महिनौ भयो । तर, अहिलेसम्म आएन । 

विराटनगर—कोशी प्रदेशको तराई र पहाडी जिल्लामा डेंगी संक्रमणका बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला संक्रमण परीक्षण गर्ने किटको चरम अभाव भएपछि समस्या उत्पन्न भएको छ । डेंगी संक्रमणको परीक्षणको लागि किट उपलब्ध गराउने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आएको किट सकिएपछि माग गरेको जिल्ला अस्पतालहरुमा पठाउन नसक्दा समस्या भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालु आर्थिक वर्षमा पढाएको ३ हजार ६५० थान किट सकिएपछि अहिले दिनानुदिन डेंगी संक्रमण बढिरहेको बेला परीक्षण गर्न नपाउँदा समस्या भएको छ । बर्खायाम सुरु भएसँगै डेंगी रोगका बिरामीको संख्या बढेर गएको छ ।

अहिले डेंगी परीक्षणका लागि प्रदेशका विभिन्न स्वास्थ्य कार्यालयबाट किटको माग बढी आइरहेको छ । भएको किट प्रदेशको जिल्ला अस्पताहरुलमा पठाएको र अहिलेसम्म किट नभएका कारणले पठाउन नसकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाइजर मानबहादुर मगरले जानकारी दिए । डेंगी परीक्षण गर्ने किटको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग माग गरिएको उनले बताए ।

‘आइतबारसम्म पाँच सय थान आउने जानकारी आएको छ । हामीसँग भएको किट जिल्ला अस्पतालहरुमा पठायौं । किट अभाव भएको एक हप्ता हुन लागिसक्यो,’ उनले भने, ‘अहिले प्रदेशका धेरै अस्पतालहरुबाट किटको माग आइरहेको छ । हामीसँग किट नभएको कारणले पठाउन सकिरहेका छैनौं ।’ धरानमा डेंगी बढेको कारणले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाटै विपी कोइराला तथा विज्ञान प्रतिष्ठानले किट पठाइएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षको १० असारसम्म कोशी प्रदेशमा १५७ जनालाई डेंगी देखिएको छ । मंगलबार सुनसरीको धरानमा मात्र ४० जनामा डेंगी देखिएको स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका निमित्त कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

बुधबारसम्म सुनसरीमा १०२ जनामा डेंगी देखिएको उनले बताए । सुनसरीपछि संखुवासभामा नयाँ १५ जनामा डेंगी देखिएको बस्नेतले जानकारी दिए । डेंगीको संक्रमण बढ्दै गएपछि किटको अभाव देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएको उनले बताए ।

स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका किटजन्य रोग नियन्त्रण कार्यक्रमको फोकल प्रसन दिलिप सिंहले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी सर्ने बताए । ‘धरान डेंगीको उच्च जोखिममा छ । पछिल्लो समय डेंगीका बिरामी बढ्न थालेका छन,’ उनले भने, ‘प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेंगु सार्ने प्रजाति भेटिएको छ ।’

धरान उपमहानगरपालिका–१७ का ३० वर्षीया हिरा चौधरीको डेंगीको संक्रमणबाट मृत्यु भइसकेको उनले जानकारी दिए । वर्षातमा पानी जम्ने ठाउँ, पानीको ट्ंयाङ्की, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेंगुको प्रकोप बढ्छ । ‘यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन,’ उनले भने, ‘ अहिले डेंगी परीक्षण गर्न किट अभाव छ ।’

डेंगीबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गर्नुपर्ने हुन्छ । ‘उच्च ज्वरो, हाडजोर्नी दुखाइ, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन’, सिंहले थपे, ‘डेंगी देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ ।’ जिल्लामा डेंगी र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ । केही दिनयता अस्पतालमा मलेरिया र डेंगीका बिरामी देखिन थालेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ