२०८२ भदौ २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो

३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो

स्वास्थ्यकर्मी र कर्मचारीहरुले जोगाए कोशीको स्वास्थ्य आपूर्ति केन्द्र


विराटनगर – २४ भदौं । विराटनगरको आकाशमा धुवाँको कालो मुस्लो मडारिइरहेको थियो । जेन—जी आन्दोलनको आडमा सडकमा उत्रिएको अराजक समूहको निशानामा सरकारी र ऐतिहासिक संरचनाहरू परेका थिए । कोशी प्रदेशसभा भवन, स्वास्थ्य मन्त्रालय, ऐतिहासिक उच्च अदालत र जिल्ला अदालतका भवनहरूबाट आगोको ज्वाला दन्किरहेको थियो ।

कानुन र व्यवस्थाका प्रतीक मानिने यी संरचनाहरू क्षणभरमै खरानीको थुप्रोमा परिणत हुँदै थिए । यही विध्वंस र कोलाहलको बीचमा देवकोटा चोकमा एउटा भवन शान्त तर तनावग्रस्त अवस्थामा उभिएको थियो— प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र ।

यो भवन मात्र ढुंगा र माटोको संरचना थिएन्, १४ जिल्लाका लाखौं नागरिकको स्वास्थ्यसँग जोडिएको आशाको केन्द्र थियो । यहाँ बालबालिकालाई लगाइने जीवनरक्षक खोपहरू थिए, सर्पले डसेका वा कुकुरले टोकेका बिरामीका लागि अत्यावश्यक एन्टी–रेबिज भ्याक्सिन थियो र जिल्ला–जिल्लाका अस्पतालमा पठाइने करोडौंका औषधि र उपकरणहरूको भण्डार थियो । बाहिर आगोको राप थियो, भित्र जीवनको आश ।

डा. सुरेश मेहता

केन्द्रका निर्देशक डा. सुरेश मेहता र उनका सहकर्मीहरू कार्यालय समय सुरु भएलगत्तै आइपुगेका थिए । तर, बाहिरको अवस्था सामान्य थिएन । प्रदेशसभा भवनमा आगो लागेको खबर पाउनासाथ उनीहरूले महसुस गरे, खतरा उनीहरूको ढोकामा पनि आइपुग्न बेर लाग्दैन । ‘हामी कार्यालयभित्र बस्न सकेनौं,’ डा. मेहता त्यो दिन सम्झिन्छन्, ‘स्थिति यति तनावपूर्ण थियो कि हामी सबैजना मूल गेटमा आएर बस्यौं । हाम्रो वरिपरीका भवनहरू जलिरहेको दृश्य कहालीलाग्दो थियो ।’

उनीहरूको आशंका सही सावित भयो । केहीबेरमै आन्दोलनकारीहरूको पहिलो समूह गेटमा आइपुग्यो । उनीहरूको आँखामा आक्रोश र विध्वंसको भोक प्रस्ट देखिन्थ्यो । ‘यो पनि सरकारी कार्यालय हो, यसलाई पनि जलाउनुपर्छ,’ भीडबाट आवाज आयो ।

त्यो क्षण डा. मेहता र उनका कर्मचारीहरूका जोगाण्न प्रयास थाले । त्यो भवनभित्र रहेको करोडौंको स्वास्थ्य सामग्री र त्यससँग जोडिएको नागरिकको जीवनलाई हेरेर उनीहरु गेटमा उभिएर आगजनीबाट रोक्ने प्रयास थाले ।

‘हामीले हात जोड्यौं, उहाँहरूलाई सम्झायौं,’ डा. मेहता भन्छन्, ‘हामीले भन्यौं—यो भवन जलाएर तपाईंहरूलाई के मिल्छ ? यहाँभित्र राजनीति छैन, यहाँ जीवन छ । यहाँ साना बालबालिकालाई लगाउने खोप छ, जुन विदेशबाट महिनौं लगाएर ल्याइन्छ । यो जल्यो भने हाम्रा नानीबाबुहरूले खोप लगाउन पाउँदैनन्, उनीहरूको भविष्य अन्धकार हुन्छ ।’

पहिलो समूहलाई सम्झाउन सहज थिएन । तर, कर्मचारीहरूको अनुनय र तर्कले काम ग¥यो । उनीहरूले भवनभित्रको संवेदनशीलताबारे बुझाएपछि त्यो समूह फर्कियो । तर, यो त सुरुवात मात्रै थियो । दिनभरमा यस्ता ७ देखि ९ वटा समूह आए । हरेक पटक उही चुनौती, उही तनाव र उही संवादको पुनरावृत्ति भयो ।

‘हरेक समूहलाई सम्झाउनु पथ्र्यो । हामीले तुरुन्तै एउटा सूचना तयार पारेर गेटमा टाँस्यौं, अत्यावश्यक औषधि, खोप तथा स्वास्थ्य सामग्री भण्डारण गरिएको कार्यालय । कृपया क्षति नपु¥याइदिनुहोला,’ मेहताले सुनाए । उनीहरूले जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्डहरू पनि बनाएर गेटमा राखे । उनीहरूको यो कदमले केही हदसम्म काम ग¥यो तर खतरा टरेको थिएन ।

दिन ढल्किँदै जाँदा एउटा समूह झनै आक्रामक रूपमा प्रस्तुत भयो । उनीहरूले अड्डी कसे, ‘भवन नजलाए पनि भित्र भएका गाडीहरू चाहिँ जलाएरै छाड्छौं । गाडीहरू बाहिर निकालिदिनुहोस् ।’

आपूर्ति केन्द्र परिसरमा रहेका चार वटा गाडी नै दुर्गम जिल्लाहरूमा औषधि र खोप पु¥याउने एक मात्र माध्यम थिए । ती गाडीहरू जल्नु भनेको आपूर्ति प्रणाली नै ध्वस्त हुनु थियो । डा. मेहता र उनको टोलीले फेरि एकपटक धैर्यको परीक्षा दियो । ‘हामीले उहाँहरूलाई फेरि सम्झायौं,’ उनी भन्छन्, ‘यी गाडीहरू मन्त्री वा हाकिम चढ्ने होइनन् । यी गाडीले १४ जिल्लाका दूरदराजमा औषधि बोक्छन् । तपाईंहरूकै गाउँ ठाउँका मानिस बिरामी पर्दा चाहिने सिटामोल र जीवनजल बोक्ने गाडी हुन् । यिनलाई जलाएपछि हामी कसरी सेवा पु¥याउन सक्छौं ?’

यो संवाद चलिरहँदा छेवैमा रहेको उच्च अदालतको भवन आगोको लप्काले ध्वस्त भइरहेको थियो । त्यसको रापले आपूर्ति केन्द्रको पर्खाल तातेको थियो । अदालतसँगै टाँसिएर रहेको केन्द्रको जेनेरेटर अर्को निशाना बन्न सक्थ्यो । त्यो जेनेरेटरले खोपहरूलाई चाहिने निश्चित तापक्रम कायम राख्न चौबीसै घण्टा चिस्यान दिने ‘कोल्ड चेन’ प्रणालीलाई जीवित राखेको थियो । जेनेरेटर बन्द हुनु वा जल्नु भनेको करोडौंको खोप काम नलाग्ने हुनु थियो । कर्मचारीहरूले त्यो खतरा पनि भीडलाई बुझाए ।

रात पर्दासम्म कर्मचारीहरू भोक, प्यास र डरलाई जितेर गेटमै डटिरहे । उनीहरूको दृढता, साहस र संवादको शैलीले अन्ततः भिडको विवेकलाई जगायो । उनीहरूले आफ्नो अगाडि सरकारी कर्मचारी होइन, स्वास्थ्यकर्मीको टिम देखें ।

जब अन्तिम समूह पनि फर्कियो र रातको अन्धकारमा जलेका भवनहरूबाट निस्केको धुवाँ मात्र बाँकी रह्यो । डा. मेहता र उनका सहकर्मीहरूले लामो श्वास फेरे । उनीहरूले भवन मात्र जोगाएनन्, २५ देखि ३० करोड रुपैयाँ बराबरको औषधि, खोप र उपकरण जोगाए ।

अहिले जलेका विराटनगरका जलेका सरकारी भवनहरू पुनर्निर्माणको पर्खाइमा छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवनमा क्षति पुगेको छैन । संकटको घडीमा कर्मचारीको कर्तव्यनिष्ठ, साहस र बुद्धिमत्ताले यो भवन जोगिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ