विराटनगर—विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रिया गर्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनामा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित विज्ञ टोलीले प्रारम्भिक छानबिनका क्रममा उपचारमा संलग्न चिकित्सकबाट ‘त्रुटि’ भएको निष्कर्ष निकालेको छ ।
समितिका एक सदस्यले दिएको जानकारीअनुसार अनुसन्धानको क्रममा प्राविधिक पक्ष केलाउँदा शल्यक्रियामा त्रुटि देखिएको छ ।
नाम नखुलाउने शर्तमा ती सदस्यले भने, ‘हामीले अनुसन्धान करिब सकेर प्रतिवेदन बुझाएका छौं । बिरामीको हिस्ट्री र शल्यक्रियाको प्रक्रिया हेर्दा त्रुटि भएको देखिएको छ । यो कुरा हामीले प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गर्नेछौं ।’
के हो घटना र छानबिन प्रक्रिया ?
सुनसरीको इटहरी–१ का ७ वर्षीय बालक जेनिस पाठकको नाकमा मासु पलाएपछि अभिभावकले ४ मंसिरमा नोबेल अस्पतालमा भर्ना गरेका थिए । ५ मंसिरमा डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बाँस्तोलाको टोलीले बालकको शल्यक्रिया गरेको थियो ।
अस्पतालले शल्यक्रियाको भोलिपल्टै हतारमा डिस्चार्ज गरेपछि घर पुगेका बालकले आँखा नदेख्ने बताएका थिए । तत्कालै विराटनगर आँखा अस्पताल लगेर जाँच गराउँदा नोबेलका चिकित्सकले नाकको शल्यक्रिया गर्ने क्रममा भित्री हड्डी निकालेर आँखाको नसा (अप्टिक नर्भ) नै ‘ड्यामेज’ गरिदिएको पुष्टि भएको थियो ।
आँखा अस्पतालले ज्योति फर्कने सम्भावना नरहेको बताएपछि घटना बाहिर आएको हो । घटनापछि पीडित पक्षको उजुरी र जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहमा स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका नाक, कान, घाँटी रोग (ईएनटी) विभागीय प्रमुख डा. अनिता जिसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा कोशी अस्पतालका विशेषज्ञ डा. वरुन देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइटेल सदस्य छन् ।
गत शुक्रबारदेखि विराटनगर आएर काम थालेको यो टोलीले अस्पताल पुगेर बिरामीको ‘केस हिस्ट्री’, शल्यक्रियामा संलग्न चिकित्सकको विवरण र अन्य कागजात नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धान गरेको थियो । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार समितिले बुझाउने प्रतिवेदनका आधारमा दोषी देखिएका चिकित्सकलाई कारबाही प्रक्रिया अघि बढाइनेछ । समितिले लापरबाही ठहर गरेमा नेपाल मेडिकल काउन्सिलमार्फत चिकित्सकको लाइसेन्स खारेजीसम्मको कारबाही सिफारिस हुन सक्नेछ ।
सांसद डा. सुनिल शर्माको स्वामित्वमा रहेको नोबेल अस्पतालमा यसअघि पनि उपचारमा लापरबाही भएको गुनासाहरू आउने गरेका थिए । यसपटक चिकित्सकले आफ्नो गल्ती ढाकछोप गर्न खोजेको र बिरामीका आफन्तलाई गुमराहमा राखेको आरोप समेत लागेको छ ।