२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टडा. लोहनीको सरूवाले सत्ता गठबन्धनमा परकम्पन, सरूवा रोकिनुको भित्रीकथा

डा. लोहनीको सरूवाले सत्ता गठबन्धनमा परकम्पन, सरूवा रोकिनुको भित्रीकथा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले झण्डै एक दर्जन स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरे । मंगलबार जिम्मेवारी हेरफेर गरिने उच्च अधिकारीहरुमध्ये १२ औं तहका प्रमुख विशेषज्ञदेखि लिएर १० औं तहका अधिकारीसमेत थिए ।

एकैपटक यत्रो संख्यामा जिम्मेवारी हेरफेरले स्वास्थ्य क्षेत्र तरंगित नहुने कुरै भएन । मंगलबारको जिम्मेवारी परिवर्तन मन्त्रायलयको नियमित आन्तरिक प्रक्रिया नै हो । तर, त्यसमध्ये १२ औं तहका डा. गुणराज लोहनीलाई वीर अस्पतालको नयाँ संगठन संरचनाअनुसार प्रमुख बनाएर पठाउँदा सत्ता गठबन्धनमै हलचल हुन पुग्यो ।

एउटा सरकारी अधिकारीको सरुवामा त्यस्तो के थियो, जसले सत्ता गठबन्धनमै परकम्पन सुरु भयो ? स्वास्थ्य मन्त्रालय निकटस्रोतकाअनुसार सत्ता गठबन्धनको स्वास्थ्य सम्हालेको नेकपा एसले माओवादी केन्द्र निकट मानिएका डा. लोहनीलाई वीरको प्रमुख बनाएर पठाउने निर्णयले प्रधानमन्त्रीको पार्टी कांग्रेस निकट मानिएका डा. भुपेन्द्र बस्नेतको पद धरापमा परेको थियो ।

लगतै, डा. बस्नेतले आफूनिकट चिकित्सक र कर्मचारीहरुमार्फत प्रधानमन्त्री शेरबहादुर देउवामाथि तीब्र दबाब बनाउनुका साथै डा. लोहनीलाई वीरमा हाजिर गर्न नदिन गेटमै आन्दोलन गर्न लगाए । यो दृश्य स्वभाविक पनि थियो, किनभने वीरमा प्रमुखबाट डा. बस्नेत हटाइएका थिए । तर, अस्वभाविक र पर्दाबाहिर नदेखिएको अर्को रोचक दृश्य भने सिंहदरबार र बाटुवाटारमा चलिरहेको थियो ।

त्यो के भने वीर जस्तो ठूलो र प्रमुख अस्पतालको जिम्मेवारी पाएका डा. लोहनी निकट पार्टीका प्रभावशाली नेताहरु नै डा. लोहनीलाई रोक्न प्रधानमन्त्रीमाथि दबाब बनाउन थाले । अझ रमाइलो कुरा माओवादी केन्द्रकी प्रभावशाली नेतृसमेत रहेकी उर्जामन्त्री पम्फा भुसाल र माओवादी केन्द्रको स्वास्थ्य विभाग प्रमुख कल्पना धमला बालुवाटार नै पुगेर प्रधानमन्त्रीलाई भेटी डा. लोहनीको सरुवा रोक्न हारगुहार गर्न पुगे ।

‘डा. लोहनी एकजनालाई एउटा अस्पतालमा लगेर संरचना सुध्रिदैन्,’ प्रधानमन्त्रीसँगको भेटबारे हेल्थआवाजले राखेको जिज्ञाशामा धमलाले भनिन्, ‘उहाँलाई मन्त्रालयमा विशेष निर्णय गरेर सबै अस्पताल सुधार्ने नीतिगत जिम्मेवारी दिनुपर्छ भनेर हामीले उहाँको सरुवा रोक्न प्रधानमन्त्रीलाई भनेका हौं ।’ धमलाले जे भनेपछि डा. लोहनीको सरुवाले स्वास्थ्य मन्त्रालयभित्रको पडक गुम्ने भयले माओवादी नेताहरु प्रधानमन्त्री कहाँ पुगेका थिए । सत्ता सहयात्री दुई प्रमुख दलहरुभित्रैबाट डा. लोहनीको सरुवा रोक्न दबाब आएपछि स्वास्थ्य मन्त्री खतिवडा पछि हट्न बाध्य भएका हुन् ।

के डा. लोहनी साँच्चै वीर जान चाहेका थिए ?

वीर अस्पतालमा बुधबार डा. लोहनीलाई प्रवेश गर्न नदिने भनेर केही कर्मचारी गेटमा प्लेकार्ड बोकेर उभिरहँदा हेल्थआवाजले उनलाई तपाईं वीर अस्पतालमा जाने कि नजाने भनेर सोधेको थियो । डा. लोहनीले छोटकरीमा जवाफ दिएका थिए, ‘अहिले नै म वीर जाने तयारीमा छु । आजै गएर हाजिर गर्छु ।’

उनले त्यसो भन्दा मन्त्रालयबाट रमाना लिइसकेको मन्त्रालय स्रोत बताउँछन् । तर, वीर जान रमाना समेत लिइसकेका डा. लोहनी ब्याक हुनुको कारण थियो, वीरका निमित्त प्रशासकीय प्रमुख डा. भुपेन्द्र बस्नेतले राजनीतिक दबाब दिन सुरु गर्नु । त्यसो त डा. लोहनी मनैदेखि त्यो जिम्मेवारी लिएर वीर जान चाहेका थिएनन् । तर, हक्की स्वभावका उनी सरकारले पठाएको ठाउँमा जानुपर्छ भनेर पछि हट्न पनि सकिरहेका थिएनन् ।

डा. लोहनी मनैदेखि वीर जान नचाहनुको कारण कोभिड—१९ सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश निस्क्रिय हुनु हो । उक्त अध्यादेशअनुसार वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको थियो, जसको नेतृत्व पावरफूल प्रमुख प्रशासकीय अधिकारीले गर्थे । तर, उक्त अध्यादेश निस्क्रिय भएसँगै नयाँ नेतृत्व भएर जाने भनेको वीर अस्पतालको नयाँ संगठन संरचनाअनुसार वीरको प्रमुखका रुपमा मात्रै हो । जसको नेतृत्व चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिले गर्छन् ।

उपकुलपतिको तल बसेर सिमित आर्थिक र प्रशासनिक अधिकारसहित वीरको कमाण्ड गर्न डा. लोहनी इच्छुक नभएको उनी निकट स्रोत बताउँछ । यसअघिका प्रमुख प्रशासकीय अधिकारीका रुपमा गएका डा. जागेश्वर गौतम र निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतको जति अधिकार दिइएको थिएन । किनभने, उनीहरु दुवै अध्यादेशअनुसार नै नियुक्त भएका थिए ।

खतिवडा किन डा. भुपेन्द्रलाई हटाउन चाहन्थे ?

मुलुककै प्रमुख अस्पताल वीरको दुर्गतिलाई लिएर बारम्बार प्रश्नहरु उब्जने गर्छन् । खतिवडा मन्त्री नियुक्त भएपछि वीर अस्पतालको त्यो अवस्थालाई सुधार गर्न चाहन्थे । किनभने, वीर सुधारको प्रत्यक्ष जस स्वास्थ्य मन्त्रीका लागि निकै ठूलो जस लिने माध्यम पनि हुन्थ्यो ।

जसका कारण स्वास्थ्य मन्त्री खतिवडाले वीर अस्पतालको नि. प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतलाई आफूले स्वास्थ्य मन्त्रालयको कमाण्ड सम्हाले लगतै परिवर्तन गर्न खोजेका थिए । त्यो कुरा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी दिइसकेको मन्त्रीनिकट स्रोत बताउँछ । प्रधामन्त्री देउवाले पनि डा. बस्नेत आफ्नो गुट संरचनाभित्र नभएको तर पार्टीको महाधिवेसन अगाडि चलाउँदा असर गर्ने भन्दैं त्यतिन्जेल पर्खन भनेका थिए ।

कांग्रेस महाधिवेसन चलिरहेकै बेला अघिल्लो सरकारले पास गरेको वीर अस्पतालको नयाँ संगठन संरचना किताबखानाबाट फाइनल भएर आयो । सो संरचनामा वीरमा १२ औं तह प्रमुख विशेषज्ञ प्रमुख हुने व्यवस्था छ । अर्को संयोग त्यही बीचमा स्वास्थ्यमा थप तीन जना १२ औं तहका अधिकारीहरु पनि नियुक्त भए । नियुक्त भएकामध्ये निर्णय क्षमतामा अब्बल मानिएका डा. लोहनीलाई मन्त्रीले वीर अस्पतालको प्रमुख भएर पठाउन चाहे । मन्त्रीनिकट स्रोतकाअनुसार डा. लोहनीले अध्यादेशलाई पुनः सक्रिय बनाएर पठाए आफू जान तयार रहेको र त्यसमा सत्तासाझेदारमध्ये तीन वटै पार्टीका नेतालाई मनाउनुपर्ने शर्त राखे ।

कांग्रेस महाधिवेसन सकिएपछि मन्त्री खतिवडाले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई डा. लोहनीलाई वीर अस्पताल पठाउन चाहेको जानकारी गराए । यहीबेला डा. बस्नेत रद्ध भएको विज्ञापनबाट बढुवा सिफारिस विवाद पनि सत्तहमा आयो । सत्ता गठबन्धनका दुई नेताबाट ‘ग्रीन सिग्नल’ पाएका मन्त्रीले डा. बस्नेतको बढुवा विवाद चलिरहेकै बेला प्रधानमन्त्रीलाई भने सोधेनन् । ‘कांग्रेस महाधिवेसन पछि गरौला भनेर उहाँले पहिले नै वचन दिएको हुँदा फेरि सोधिरहन आवश्यक थिएन्,’ मन्त्री निकट स्रोतले भन्यो, ‘तर, यसले त सत्तागठबन्धनमै तरंग ल्याइदियो । त्यसैले ब्याक हट्नुप¥यो ।’


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #कल्पना धमला, #डा. गुणराज लोहनी, #डा. भुपेन्द्र बस्नेत, #पम्फा भुसाल, #पुष्पकमल दाहाल ‘प्रचण्ड’, #माधव नेपाल, #विरोध खतिवडा, #शेरबहादुर देउवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ